सिड्नी सिटी कलेज पारामाटाले आफ्नो स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा भर्खरै अस्ट्रेलियाको गोल्डकोष्टमा आयोजित गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगिताको पुम्से विधामा स्वर्ण पदक विजेता अशोक खड्कालाई पचास हजार नगदसहित सम्मान गरेको छ।
सिड्नी सिटी कलेजले आफ्ना कलेजको आन्तरिक खेलकुद प्रतियोगिताका बिजेता खेलाडीलाई सम्मान गर्नुका साथै कलेज सञ्चालनमा सहयोग पुर्याउने बिभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरेको थियो।
कलेज सन्चालक रन्जु थापा तथा नरेश थापाले अनुभवी तेक्वान्दो खेलाडी अशोक खड्कालाई नगदसहित सम्मान गर्दै देशको नाम उँचो पार्ने खेलाडीहरुलाई सम्मान गर्नु आफ्नो कर्तब्य रहेको बताए।
कार्यक्रममा अशोकले बिदेशमा रहेर पनि नेपाल र नेपालीको शान र मान बढाउने प्रवासीहरुको सहयोग आफ्नो खेल बिकासको अभियानका लागि ठूलो उर्जा हुने बताए।
सिड्नी सिटी कलेजका सन्चालक रन्जु थापाले गुणस्तरीय शिक्षा र व्यवसायीक दक्षता कलेजको पहिलो प्राथमिकता रहेकोले यसमा सहयोग पुर्याउने सबै सहयोगी ब्यक्ति र एजेन्सी धन्यवादको पात्र रहेको बताए।
कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापा र अभिभावक श्रीभक्त अच्युत वाग्लेलगायतले कलेज सफलताको कामना गरेका थिए।
कार्यक्रममा कलेजका सञ्चालक रन्जु थापा तथा नरेश थापाले प्रशासन प्रमुख अर्जिना जोशी, प्रमुख प्रशिक्षक क्लाउडिया भिएरा, कलेजका ब्यवस्थापक सागर लोहनी, आइटी ट्रेनर कुलदीप प्रधानलाई ट्रफीद्धारा सम्मानित गरिएको थियो।
कार्यक्रममा सिड्नीका शैक्षिक परामर्शदाता, ब्यवसायी तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो।
यसैबीच ग्रानभिल नेपाली समाजले पनि शुक्रबार राति अशोकको सम्मानमा एक कार्यक्रमको आयोजना गर्दै बधाई ज्ञापन गरेको थियो। कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, ग्रानभिल समाजका अध्यक्ष रमेश थापा, उपाध्यक्ष भिम बस्नेत, कुमार श्रेष्ठ ,नविन गुरुङ ,कोषाध्यक्ष जिवन जोशी , सल्लाहकारहरु भरत पन्त, नरेश थापा, सुजाता बस्नेत, मुन शर्मा लगायतले गोल्डकोस्ट ओपनमा स्वर्ण पदक विजेता अशोकलाई खादा ओढाएर सम्मान गरेका थिए।