अस्ट्रेलियामा मैले एउटा कुरा पटक्कै बुझिनँ। पानी पर्यो भने ‘ह्वाट अ ब्युटिफूल रेनिङ डे’, भन्छन्, घाम लाग्यो भने ‘ह्वाट अ ब्युटिफूल सन्नी डे’ भन्छन्। जाडो भएमा ‘ह्वाट अ कूल वेदर’ भन्छन् अनि गर्मी भएमा ‘ब्यूटिफूल वार्म वेदर’ भन्छन्।
जाडोको ठिही होस् या गर्मीले आलस तालस या झरी होस् अर्थात हुरी बतास सबैलाई राम्रै भन्ने कुरो मैले साच्चीक्कै बुझेको छैन।
सबैखाले परिस्थितिमा सकारात्मक बन्न खोजेको हो भने पनि त्यसो होइन। अजिहरू जाडोभन्दा गर्मीलाई नै प्राथमिकता दिन्छन्। तर, सबैखाले समय परिस्थितिलाई सकारात्मक भावमा लिने यिनीहरूको स्वभावलाई मैले नमन नै गरेको छु।
हामी कहाँ झरी पर्यो, हामी कहिले सकारात्मक हुँदैनौं, गर्मीमा त छ्या भन्ने शब्द आइहाल्छ। तर, ह्वाट इज योर नेम भन्दा पनि माइकल ... ‘थ्याङ्क्स यू वेलकम’ भन्ने यिनीहरूको थेगोलाई मैले सलाम गरेकै छु।
‘काम र दाम अनि बिदामा आराम’ यी तीनै कुरामा मस्त छन् अजीहरू। प्राय ‘मन्डे टु फ्राइडे’ काम गर्ने र सार्वजनिक बिदामा मस्ती गर्ने यिनीको दिनचर्याले सबैलाई एक पटक ठूलो भ्रम भने पारेकै छ।
पाँच दिन काम अनि दुई दिनको आराम, प्रायः यिनीहरूको जिन्दगीको एउटा गतिलो कल्चर नै बनिसकेको छ। झगडा परोस्, लाग्छ दुई चार मानिस ढलिसके वा बबाल भैसक्यो तर यसो हेर्यो नाक मात्र जुधाइरहेका हुन्छन्, हात खल्तीमै हुन्छ।
अपराधिक प्रवृत्तिका एकाध घट्नाबाहेक अस्ट्रेलियन संस्कृतिमा हात हालेर झगडा गरेको कमै देखिन्छ। चिच्चाउँछन्, कराउँछन्, बुर्कुसी मार्छन्। तर, हात उठाइहाल्दैनन्। यहाँको कानुनमा गल्ती पहिलो हात चलाउनेको मानिन्छ, त्यसैले पनि यहाँ हात हाल्ने संस्कृतिको विकास भएको छैन, त्यता पनि सकारात्मक।
अष्ट्रेलियामा पनि मानिसहरू गरिब होलान् र भनि सोच्लान्। तर, यहाँ पनि प्रसस्तै गरिब, असहाय नभएका होइनन्। शहरका मध्यभागमा पनि घरबारबिहिनको ठूलै हुल देख्न पाइन्छ। तर, हात थापेर माग्ने कमै भेटिन्छन्।
आफूसँग भएको शिप र कला प्रस्तुत गरेर बटुको थापेको दृष्य भने बग्रेल्ती देख्न पाइन्छ शहरमा। तर, पनि देश विकास र बिस्तारको गतीमा यिनको पहिचान कतै भेटिन्न।
बिहानै हिड्यो, गुड मर्निङको आवाजले ठक्कर लागिहाल्छ अनि सुरू हुन्छ- वेलकम र थ्याङ्क्सका अबिरल बहाव।
अर्लामको घन्टीसँगै प्रारम्भ हुने दिन मसिनका गतिमा दौडिन्छन्। काममा गयो ,ब्यवस्थापकको पनि उत्तिकै भाव छ। मेरा लागि यती गर्देउ, धन्यबाद भनेर काम लाउन प्रारम्भ हुन्छ।
सजिलो होस या गारो कामले घन्टा काट्दै जाँदा स्वागत र धन्यवाद अनि मायाका शब्दभावले जेलिन्छ काम र मामको जोहो।
सकारात्मक सोचनै आधुनिक विश्वको बदलिदो परिवेशको उपज हो कि भन्ने सोच पनि आउँछ। तर, यहाँ पनि हामीका जत्तिकै पीडा र अभाव छ। अग्ला अग्ला गगनचुम्बी भवन र विकासका बिशाल ढाँचा बिच लुकेका अभावका थुप्रै पाटाहरु केलाउने हो भने समस्याका पाहाड लुकेको पाउँछौं।
दुई चार साता कमाउन सकेन या काम पाएन भने हाल बेहाल हुने यताको जीवनलाई नजिकबाट नियाल्दा कठिनाइको पहाड यँहा पनि उस्तै छ भन्ने कुरो प्रष्ट हुन्छ। तर पनि जिम्मेवार राज्यका जिम्मेवार नागरिक भएर यिनले कर्तब्य पुरा गरेको पाटो महत्वपूर्ण मान्नुपर्छ।
जीवनलाई जगतसँग दाज्ने कुरामा भने यीनीहरू केही कमजोर देखिन्छन्। काम, घर, घुमफीर अनि केही ब्यक्तिमै सिमित यीनीहरूको बानीको विकास पनि आधुनिकतासँगै भित्रिएको हुनसक्छ।
हामीलाई जहाँ गए पनि समाज, संस्था अनि आस्था र भुगोलले छपक्कै छोपीहाल्छ र द्रबीभूत भैहाल्छौ। हामीलाई परिवार र सामूहिकता अनि घर परिवार प्यारो लाग्छ। तर, यीनीहरू केही अलग देखिन्छन्। एउटा उमेर पुगेपछि एक्लै बस्ने र प्रेमिकाको घुम्टोमा घुसिहाल्ने संस्कृतीले गाँजेको छ।
यीनीहरूलाई घर, परिवार र समाजको महत्व थाहा नभएको हुनसक्छ। हामीले देख्दा बर्थ डे, क्रिसमस र जन्म अनि मृत्युमा मात्र जोडिन्छन् धेरैजसो आफन्तहरू। तर, पनि भेटघाट र अपनत्वमा भने शब्दको मायाजाल अपरम्पारनै हुन्छ। यो पनि सकारात्मक।
नाम र दामबीच यस्तै यस्तै सकरात्मक सोचमा अल्झिएका छन् थुप्रै नेपाली युवा जमात अस्ट्रेलियामा।
पीडा र अभावका बिच पनि बाच्न सक्ने अनि सजिलै मुसुक्क हाँस्न सक्ने र रित्तै पेट पनि नाच्न सक्ने हामी नेपालीले पनि केही सकरात्मक सोचको थालनी गर्ने की!