नेपालको नम्बरबाट लगातार तीन मिसकल आइरह्यो।
यहाँ रातिको एघार बजिसकेको थियो।
चिनेको नम्बर थिएन त्यसैले पनि कल उठाउ कि नउठाउ भयो।
फेरि यसो सोचेँ नेपालबाट फोन आएको छ, कोही चिनेको मान्छे पो हो कि? केही पर्यो कि? कल ब्याक गर्छु भनेँ।
घरमा अरू सदस्यहरु सुतिरहेका थिए। उनीहरूलाई डिस्टर्भ हुन्छ भनेर म घरबाहिर निस्के र कल ब्याक गरेँ।
हेलो’, अघि यो नम्बरबाट फोन आएको रहेछ। को बोल्नुभयो होला?
‘हेलो, निरू म्याडम बोल्नुभएको हो?’
हजुर, तपाईँ को बोल्नुभयो होला?
तपाईँले मलाई चिन्नुहुन्छ म्याडम्, म उही.... ढुङ्गेल क्या।
मलाई चिन्न गाह्रो भइरहेको थियो। मैले फेरि उहाँको नाम लिएर एकछिन सोचेँ।
‘म्याडम अस्तिनैको एउटा सरकारी टोलिमा म पनि मेल्वर्न आएका थिए नि। हाम्रो टोली कन्सुल चन्द्र दाइलाई भेट्न अफिसमा पनि आएका थियौं अनि हामीले तपाईँहरू र अनि मेल्वर्नको अन्य एनआरएनका पदाधिकारीसँग डिनर पनि गरेका थियौ नि। समझनुभयो? अनि मैले जानेबेलामा तपाईँको कार्ड पनि मागेको थिए नि, चिन्नुभयो।’
डिनर चाहीँ सम्झे तर मान्छे सम्झिरहेको थिएन। सरकारी टोलिहरू टन्न आइरहेका हुन्छन् यहाँ। सायद फोटो देखे भने चाहीँ चिन्थे होला। मलाई उहाँको स्वर र नामले अझै ठ्याक्कै चिन्न गाह्रो भइरहेको थियो, तर त्यसरी नै भनेपछि ए! ए! हजुर हजुर चिनेँ, अनि सन्चै हुनुहुन्छ भनेर भनिदिहालेँ?
‘हजुर सन्चै म्याडम। अनि त्यता सबै सकुशल?’
हजुर, हजुर.....। अनि के कारणले फोन गर्नुभयो होला। केही थियो हजुर?
‘खासमा के कुरा भने नि म्याडम, मेरो एउटा छिमेकी दाइ हुनुहुन्छ। म अहिले उहाँकोमा नै छु कि। उहाँको छोरा पनि अष्ट्रेलियामै छ स्टुडेन्ट भिसामा। दुई तीन महिना भयो रे यता आमाबुबालाई फोन नगरेको केटोले। फेसबुकमा अनलाईन हुन्छ, फोन गर्दा फोन उठ्दैन, म्यासेज हेर्छ रे तर रिप्लाई गर्दैन भन्नुहुन्थ्यो। मेरो पनि फोन उठाइरहेका छैन। अनि पहिला पहिला पनि एक महिनामा एकचोटि फोन गर्दो रहेछ त्यतिखेर फोनमा पनि राम्ररी नबोल्ने, ह्या कति फोन गरेको भनेर झर्केर बोल्दो रहेछ। विचरा दाइले आफ्नो गुनासो मलाई सुनाउनुभयो र बरू अष्ट्रेलियामा तपाइँले कोही चिनेको छ भने सम्पर्क गर्न लगाएर उसलाई सम्झाउन लगाउनु न भन्नुभएकोले तपाइँलाई फोन गरेको। मिल्छ भने म्याडम, उसलाई अफिस बोलाएर यसो सम्झाउनु होस् न है। बा आमालाई जसरी नी फोन गर्न लगाईदिनु पर्यो, लौ म्याडम यति काम गरिदिनुहोस् न है। हजुरलाई दुःख दिए, यसो सम्झाउनुपर्र्यो केटोलाई प्लीज।’
बाबुआमाको चिन्तालाई त सम्झेन मेरो सुझाव झन् कसरी रेला भन्ने सोचेर म के भनौं भनेर एकछिन अन्कनाए र सोधेँ ऊ अष्ट्रेलियाको कुन ठाउँमा हो?
‘यहाँबाट जाँदा सिड्नी गएको थियो अहिले त एक वर्षदेखि मेल्वर्नमा बस्छ।’
अनि कति भयो उ अष्ट्रेलिया आएको?
‘पर्खनुस् है म सोध्छु। दाइ, बाबु गएको त्यस्तै कति वर्ष भयो रे?’
‘गत महिना असारमा ठ्याक्क पाँच वर्ष पूरा भयो’, पछाडिबाट छोराको बुबाले छोरा यहाँ आएको वर्षको हिसाब दिइरहेको थियो।’
‘पाँच वर्ष भयो रे?’
ए, अनि नाम के हो रे बाबुको।
‘............ खनाल शर्मा’
उसको नम्बर मलाई दिइराख्नुन त। म भोलि मिलाएर फोन गर्छु नि। अहिले त राति भइसक्यो।
‘हुन्छ म्याडम म भाइबरमा अहिले नै नम्बर पठाइहाल्छु। अनि सरी ल यति राति डिस्टर्ब गरेकोमा।’
ठिकै छ। उसँग केही कुरा भयो भने म तपाइँलाई भोलि फोन गर्छु नि है? वाई।
भोलिपल्ट दिउँसो उसको नम्बरमा फोन गरेँ।
हेलो, ... शर्मा जी बोल्नुभएको हो।
हजुर निरू दिदी।
म एकछिन झसङ्ग भएँ। फोन गरेर हेलो मात्रै के भनेको थिएँ, सिधैँ नामले सम्बोधन पो गर्छ।
मलाई चिन्नुहुन्छ? मैले नपत्याएर सोधेँ।
‘म अस्तिनै तपाईँको अफिसमा पासपोर्ट हरायो भनेर पासपोर्टको फर्म भर्न आएको होइन त? तपाईँ आफैंले मेरो फर्म भरिदिनुभएको थियो नि , म त्यही ... शर्मा भाइ क्या। केही पर्यो भने फोन गर न भाइ भनेर नम्बर दिनुभएको थियो नि। अनि तपाईँको नम्बर सेभ थियो नि त।’
मैले पनि एकदमै चिनेजसरी ए ए हो नि त भाइ भनिहालेँ।
‘अनि दिदी मेरो पासपोर्ट आयो?’
एम्बेसीको वेवसाइटमा हेरन, आयो कि आएन थाहा हुन्छ। तर अहिले मैले अर्कै कुरालाई कल गरेको तिमीलाई।
‘के भयो र दिदी’
सुन न भाइ, कुरा अलि गहिरो छ। हुन त तिम्रो फेमिली म्याटर हो तर मलाई नेपालबाट फोन आएकोले तिमीलाई फोन गरेको मात्रै हो। केही पर्सनल नलेउ बरू अहिले कुरा गर्न मिल्छ? यदि काममा हुनुहुन्छ भने म पछि कुरा गर्छु नि है।
‘होइन दिदी म कोठामा नै छु। मूभि हेरिराथे। भन्नु न के हो त्यस्तो कुरा?’
कुरा के भनेँ। हिजो राति नेपालबाट मलाई फोन आएको थियो ... दुङ्गेलज्यूको। उहाँ तिम्रो घर जानुभएको रहेछ। तिम्रो बुबा आमाले छोराले फोन नै गर्दैन, म्यासेजको पनि रिप्लाई दिँदैन। उसलाई सम्पर्क गराइदिनु पर्यो बरु त्यहाँ कोही भएर बोलाएर सम्झाउनु पनि पर्यो भनेर भन्नुभएछ अनि दुङ्गेलज्यूले मलाई फोन गर्नुभएको थियो। अनि, किन हो त्यसरी घरमा फोननै नगरेको, सबै आत्तिनुभएको छ त भाइ?
‘ह्या दिदी। त्यस्तो केही होइन। हिजो दुङ्गेल अंकलको पनि फोन आएको थियो। म काममा थिए। काम सकेपछि कल गर्छु भनेको विर्सिएछु। त्यही पनि अंकल मसँग रिसाउनु भएको छ। अस्तिनै अंकल यहाँ आउँदा भेट्नुपर्छ है राजा भन्नुहुन्थयो फेरि त्यतिनैखेर म साथीहरुसँग घुम्न गोल्ड कोस्ट गएको थिएँ।
पछि घुमेर आएपछि काम, कलेजमा व्यस्त भए अनि त्यस्तै त्यस्तै कुराले अड्काएर अंकललाई भेट्न पनि पाइएन। तँ मलाई भेट्नुपर्छ भनेर बाहाना गरिस् भन्दै हुनुहुन्थ्यो। पछि नेपाल गएर खै अंकलले के के भनेर कुरा पनि लगाउनुभयो कि बुबाले अंकल आउँदा भेटिनस् गोरू भनेर गाली गर्नुभयो। आफ्नो व्यथा आफैंलाई थाहा छ दिदी। म सबैलाई खुसी बनाउन सक्दिनँ भनेर फोन काँटे।
अनि त्यसपछि त झन् ह्या सधै फोन गरेर, म बिग्रिएँ रे, मेरो सोमत हरायो रे, विदेश गएर बदलिएँ रे, खैरेनीको चक्करमा फसेँ रे, खै अरु के हो के के कुरामा किचकिच मात्रै सनाउने। त्यसैले ल त केही महिना फोन नै गर्दिनँ भनेर अलि महिना मात्रै हो फोन नभएको।’
तै पनि घरमा आत्तिन्छन् नि त? धेरै बेर नबेलेनी आफ्नो हाल खबर त दिनुनी कमसेकम दुई हप्तामा एकचोटि त फोन गर्नू।
‘क्या कुरा गर्नुहुन्छ दिदी पनि। तपाईँलाई पनि थाहा छ नि यहाँ समय कसरी दौडिन्छ भनेर।’
यो कुरामा म पनि सहमत थिएँ किनकि मलाई पनि अस्ति भर्खरै घरमा कुरा गरे जस्तो लाग्छ तर घरपरिवारले भने बाफरे वाफ दुई हप्ता भइसक्यो भन्छन्।
‘दिदी, उहाँहरु दिनदिनै फोन गरोस् भन्नुहुन्छ। आफ्नो यहाँ कामको, पढाईको टेन्सन छ। कति कुराहरु मिलाउनु पर्ने छ त्यही पनि मिलाएर त मैले फोन गरेकै छ नि। तर मेल्वर्न जो आए पनि छोराले फोन नै गरेन त्यसलाई सम्झाउन भनेर भन्नुहुन्छ। अब त कतै परेवाको खुट्टामा सन्देश बाँधेर यहाँ सम्म पठाउनु हुन्छ भन्ने पो डर लागिसक्यो।’
ऊ आफ्नो कुरामा आफै हाँस्छ तर म उसलाई कमसेकम फोन गरन एकचोटि भए पनि यसो गर्नु हुँदैन बाआमाले केही भने पनि भलै चिताएर यसो भनेका हुन्छन् भनेर सम्झाउन पनि छोड्दिनँ।
लामो श्वास फेरि ऊ भन्न थाल्छ, ‘दिदी अब तपाइँलाई के ठाँट्ने। यहाँको जीन्दगी थाहा नै छ। कति गाह्रो र कति व्यस्त हुन्छ। मेरो त यहाँ रगतको नाता भन्ने कोही पनि छैन। एक रात आफन्तमा गएर खाना खान्छु, सुत्न जान्छु भन्ने कोही छैन। चाडपर्व आयो, बनाएको ठूलाबडाको हातबाट टिका लगाउँछु, बनाएको दिदीबहिनीबाट भाइटिका लगाउँछु।
त्यतिखेर म पनि घरपरिवार आफन्त सबै सम्झन्छु र मलाई पनि अत्यास लाग्छ नि। तर फोन गरेपिछे बुबा दुनियाँको छोराछोरी चार वर्ष भइसक्यो अष्ट्रेलिया गएको, पैसा पठाएर उसको बुबाले घर जोडिसक्यो, उतै पनि पीआर घर सबै जोडिसक्यो, आमाबुबालाई घुमाएर पनि बोलाइसक्यो आफ्नो त खोई कहिले हो कहिले भन्नुहुन्छ। आफूलाई ट्यूसन फि तिर्न हम्मेहम्मे हुन्छ यहाँ। सिड्नीको कलेज महँगो, गाडी भाडा, खान बस्न पनि महँगै भएर मेल्वर्न आएको छु।
यो कुरा कस्ले बुझिदिने। आमा फेरि बाबु, ऋण तिर्नुपर्ने, ब्याज तिर्दा तिर्दै बाउलाई गाह्रो भइसक्यो। बरू साहु नसकेनी ब्याज चै पठाइदेउमा बाउलाई सजिलो हुन्थ्यो कि। आमाको आफ्नै व्यथा छ। यहाँ आफूले त साथीभाइहरुसँग खोजेर कलेजको फ्रि तिर्नु छ। एकदिन त आमालाई मलाई पढ्न पठाउनु भएको कि काम गर्न भनेर सोधिदिएँ।
आमा रोइदिनुभयो। झन् मलाई तनाव भयो। फोन गरेर उहाँहरु खुसी भएको देखेपो यहाँ पनि ऊर्जा आउँछ। उता टेन्सन देखेपछि मलाई पनि यहाँ तनाव हुन्छ।
बरु यस्तो कुराहरु आमाबुबालाई भन न। उहाँहरुलाई धेरै एक्पेक्टेसन नगर्नू भनेर सम्झाउँ। यहाँको वस्तुस्थिीतको बारेमा भने। बरु एकचोटि घुमाउन लिएर आउँ। उहाँहरुले त्यसपछि आफै बुझिहाल्नुहुन्छ नि।
‘हुन त हो। अस्ति भाइले एससीईमा ए प्लस ग्रेड ल्याएछ। आइफोन एक्स मोबाईल भन्दै थियो। म पनि भाइको सफलतामा खुसी भएँ। विचरा भाइले रहर गर्यो यहाँ ऋण खोजेर पनि आईफोन एक्स पठाइदिए। मेरो दुःख देखाएर विचराको रहर किन भत्काउने जस्तो पनि लाग्छ। मेरो पनि दाइ विदेशमा भएको भए यसरी नै माग्थेँ होला, पठाइदिदाँ यसरी नै खुसी हुन्थ्यो होला जस्तो लाग्यो।
फेरि मटरबाइक चढ्न मन लाग्यो भन्दै छ अलि महिना कुर कान्छा पछि किनिदिन्छु भनेँ। अब अत्ति भयो, केही पैसा त पठाउँछु भनेर ढुकुटी पनि खेल्न लाग्दैछु। यी कुराहरु बुझ्दैनन् दिदी।
उता छोरा बुझ्दैन भनिरहेको छ भने यता आमाबुबा बुझ्दैनन् भनी रहेको छ। अनि म फेरि सम्झाउँछु ‘यतीधेरै सोचेर र तनाव लिएर नबस बरु मिलाएर नेपाल जाउ एक दुई महिनाको लागि भए पनि। फेमिलीसँग समय विताउँ। यहाँको परिस्थितीको बारेमा भन। घरमा बस्दा तिमीलाई पनि आमाबुबालाई पनि रिलल्याक्स हुन्छ।’
‘मेरो भिसा अप्लाई गर्नुछ दिदी अब चाँडै। अहिले त जान मिल्दैन। पासपोर्ट आउँला र भिसा अप्लाई गरौं भनेको खै पासपोर्ट पनि कहिले आउने हो। नेपाल जान पनि त खर्चिलो नै छ नि दिदी। आफन्तहरूको डिमाण्ड नै बेग्लै छन्। ल्यापटप देखि पेन्सिलसम्मको डिमाण्ड छ। आफू अष्ट्रेलिया आउँदा कसैले एक रूपैँया पनि हातमा थामिदिएनन्। कसैले एउटा पाइन्ट, एउटा टिसर्ट, एउटा ज्याकेट दिएको भए पनि मेरो सपिङको पैसा बच्थ्यो होला नि त्यतिखेर। मलाई यहाँ आउँदा यो चाहिन्छ तिमीलाई भनेर पोको पारिदिने कोही भएन म चाँहि जाँदा सबैलाई पोको पारिदिनु पर्ने रे। यस्तो दुःखी आत्माहरु छन् मेरा आफन्त दिदी, त्यही भएर पनि डिमाण्ड गर्ने आफन्तहरुसँग पनि बोल्न मन लाग्दैन।’
कहाँ यसरी डिप्रेड भएको। यस्तो कुराहरु सोच्नुहुदैन। उनीहरुको पनि विदेशी सामान लगाउने र बोक्ने रहर होला नी। यो ब्यङ्यमा हामी दुवै हाँस्यौ।
‘गर्न खोजेको त त्यही हो दिदी। सबैको रहर पूरा गरौँ जस्तो लाग्छ। तर सकिदैन नि। पाँच वर्षमा डिप्लोमाको डिप्लोमा नै छु। भिसाको लागि कहिले आईटी, कहिले विजनेस र कहिले कुकरी पढ्दा पद्दैमा ठिक्क छ यहाँ। अनि खोई कसले हो अस्तिनै नेपालमा, मेरो यहाँ खैरेनी केटी छ रे उ त त्यहीसँग बस्छ भन्देछ। अब घरमा के चाँहियो। आमा म त्यही केटीसँग सती गएको झैँ गरी रुनुभएछ। आमा फोनमा नै त्यो केटी को हो, त्यसलाई निकालिहाल, नेपाली नै विवाह गर्नुपर्छ बरु नेपाल आइज राम्ररी केटी खोजेर विवाह गरिदिन्छु भनेर रुवावासि गर्नुभयो। म उनीसँग एउटा साथीको हिसावले बसेँ, हामी दुवैलाई केही सजिलो होला भनेर पनि यो निर्णय लिए होला। हामीले विवाह नै गर्ने मनस्थिती पनि बनाएको छैन तर आमालाई विवाह गर्न मन लागेर नै सँगै बसेछ भनेर सोच्नुभएछ। पछि बल्ल बल्ल नेपालीनै बुहारी ल्याउँछु आमा, अनि कुलकै, जातकै भनेर सम्झाएपछि बल्ल खुसी हुनुभयो।”
उताको कुरा भन्दा उसको कुरालो मलाई बढी मन छोयो। सायद उसको जस्तो जीन्दगीलाई मैले यहाँ राम्ररी निहालेको भएर होला। मैले उसलाई राम्ररी बुझेँ तर पनि अन्तिममा समस्या त पक्कै हुन्छ यहाँ तर पनि यसरी समस्या भयो भनेर घरपरिवारलाई वेवास्ता गर्नु हुदैन मिलाएर फोन गर भने।
उसले पनि ठिकै छ नि त दिदी। तपाइँ केही नभन्नु अहिले। म आफै फोन गर्छु नि भन्यो। पछि ढुङ्गेलज्यूसँग कुरा हुँदा फोन भएछ भन्नुहुन्थयो।
अब मैले यहाँ धेरै कुरा भन्नै पर्दैन। उसको जीन्दगी त धेरैमध्येको एउटा उदाहरण मात्र हो। यहाँ त्यस्ता घटनाहरु गल्लीगल्लीमा हरेक पलहरु घटिरहेको छ। लाग्छ, हरेक नेपालीले आफ्नो शिरमा एउटा गरुङ्गो ढुँगा बोकेर हिडिरहेको छ।