दाइ नेपालबाट आएको चार महिना भन्दा बढी भयो, काम पाएको छैन, कलेजको फि तिर्ने बेला भो, बुवाले ‘घर राखेर लिएको ऋणको ब्याज पठा’ भन्नु हुन्छ, के गर्ने होला, मलाई त संकट पर्यो।
हेर्नुस न सर, भिसा अप्लाइ गर्ने बेला कन्सल्ट्यान्सीले, एउटा केटा छ, लिएर जाउ, पहिलो किस्ता कलेज फि तिरिदिन्छ, त्यहाँ गएपछि आधा फि पढाइ नसकेसम्म तिरिदिन्छ भन्यो, र बिहे गरी लिएर आएँ, यहाँ आएपछि आफ्नै ‘गर्ल फ्रेन्ड’सँग गयो, एक पैसा पनि दिएन, डिभोर्स गरौं भन्दा पनि मान्दैन, के गर्ने होला ? मेरो आफ्नो ‘ब्वाइ फ्रेन्ड’ कसरी ल्याउने होला?
मेरो त डाक्टर बन्ने रहर थियो, राम्रो प्रतिशतमा १२ पास गरेको थिएँ । मेडिकल कलेजमा सजिलै भर्ना हुन सक्थे, तर मेरा साथीहरूले अस्ट्रेलिया जाउ भने, ड्याडीममीले पनि मिल्ने साथीभाइ गएपछि तिमी पनि जाउ भने, कन्सल्ट्यान्सीले तुरुन्तै काम पाउँछौ, राम्रो युनिभर्सिटी हो भन्यो, यहाँ आको बागबजारको टाइपिङ इन्स्टिच्युट जस्तो सानो कलेज रहेछ।
पढाइ पनि राम्रो छैन, अर्को युनिभर्सिटीमा जान्छु भनेको, सर्टिफिकेट फोर र डिप्लोमा सकेर ब्याचलरको कोर्स छ महिना नपढी छोड्न नमिल्ने रहेछ, म त बर्बाद भएँ, राति चार घण्टा को ‘क्लिनिङ’ काम पाको छु, चार हप्ता भयो, अहिलेसम्म पैसा दिएको छैन, बेकारमा आएछु।
यी माथि उल्लेखित संवादका अंशहरू हुन्, जो वास्तविक नै हुन्, आजकल मेरो फर्ममा दैनिक रूपमा हुने गर्छ। यसको मतलब, विदेशमा पढ्न जाने राम्रो हैन भन्न खोजेको हैन, तर, गुगलको जमानामा राम्रोसँग सोध खोज नगरी, कहिले विदेशको युनिभर्सिटी नपढेका वा विदेशमा गएर फर्किएका वा विना पढाइ-लेखाइ अरु कुनै तिकडम लगाएर स्थायी बसोबास गर्ने अनुमति पाएकाहरूले कलेजबाट पाउने कमिसनको लागि वा नक्कली विवाह गराएर प्राप्त हुने रकमका लागि कुनै कुनै कन्सल्ट्यान्सीहरूले अवोध विद्यार्थीहरूको भविष्यमाथि खेलिरहेका छन्।
अझ, बावुआमाहरूले पनि राम्रोसँग नबुझी फलानाको छोराले यति कमायो, ढिस्कनाको छोरीले यति पढी, भनेर लहलहैमा लागि भर्खर १८ वर्ष लागेका छोराछोरीहरूलाई विदेश पढ्न पठाएको देख्दा अचम्म लाग्छ।
यसको मतलब, विदेश जानु खराब हो, वा विदेशमा भविष्य बन्दैन भन्ने हैन, मात्र भन्न खोजेको के हो भने, ‘विदेश मात्रै सबै कुरा हो भन्ने मान्यता चाहिँ गलत हो।’
भर्खरका विद्यार्थीहरूले गरेको आत्महत्या, मानसिक सन्तुलन गुमाएको अवस्था, विभिन्न किसिमको कुलतमा लागेर आफैंलाई बर्बाद बनाइरहेको वास्तविकता, मनन गर्दा लाग्छ, सूचनाको कमी पक्कै भएको हो। हुन त, विदेश बसेकाले नेपालमा रहेका आफन्तलाई वास्तविक कुरा भन्दा कि त विश्वास नै गर्दैनन्, कि त ‘आफू गएर डलर छापेको छ, हामीलाई किन सहयोग गर्थ्यो?’ भन्ने किसिमको धारणा राखेको पाइन्छ ।
हो, भनौं अष्ट्रेलियामा, धेरै मौका नभएको होइन , गर्न सक्नेलाई धेरै ठाउँ छ, र धेरै नेपालीहरूले प्रगति पनि गरेका छन्। जसले आफ्नो लागि मात्र नभइ सबै नेपालीलाई गर्व गर्ने वातावरण पनि बनाएका छन् । तर, प्राय: यहाँ सफल भएकाहरू, अलि वयस्क, कम्तीमा स्नातक गरेपछि आएका वा कुनै व्यवसायिक शिक्षा लिएर आएकाहरू नै छन् ।
प्राय: जसो भर्खर १८ वर्ष लागेका विद्यार्थीहरूलाई आफ्नो भविष्यको भन्दा पनि अरुको लहलहैमा लागेर वा सामाजिक सञ्जालमा देखेका राम्रा दृश्यहरूले आकर्षित गरेको महशुस हुन्छ।
केही विद्यार्थी बाहेक विदेशमा पढ्न आउन कति खर्च चाहिन्छ भन्ने कुरामा अनभिज्ञ देखिन्छन्, स्नातक पढ्न राम्रो विश्वविद्यालयमा जाने हो भने कम्तीमा ८० देखि ९० लाख रुपैयाँ लाग्छ। दुइ हप्तामा ४० घण्टा काम गरेर, भनौं महिनामा २ हजार डलर, मानौं २ लाख रुपैयाँ कमाए भने पनि त्यो खान, बस्न र यातायातमा नै खर्च हुन्छ।
तसर्थ, कलेजको फि घरबाट तिर्न सक्नेबाहेक अरु विद्यार्थीले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जानु उनीहरूको करिअरको लागि सोचे जति उचित हुँदैन किनकि उनीहरूमा त्यो प्रेसर खप्न सक्ने क्षमताको विकास भैसकेको हुँदैन। तर, जसरी पनि विदेश जाने हो, पैसा कमाउने हो, जे पाए पनि काम गर्ने हो, भन्नेहरूको लागि भने विदेश जानु उचित हुन्छ, किनकि घरमा आमाले पकाएको खाएर, कलेज जाने नाममा विभिन्न राजनीतिक पार्टीहरूको संघ संगठनमा लागेर, जुलुसमा हिँड्ने, टायर बाल्ने जस्ता काम गरेर देशमा बस्नु भन्दा विदेशमा गएर काम गर्नु राम्रो हुन्छ।
अब लागौं, कसरी राम्रो कलेज छान्ने, वा राम्रो शैक्षिक परामर्शदाता छान्ने, भन्नेतिर।
सर्वप्रथम, विद्यार्थीको बुवा आमा वा अभिभावकले राम्रोसँग छलफल गर्ने, र आफ्नो छोराछोरी लिएर आफैं कन्सल्ट्यान्सी गएर कुरा गर्ने, गुगलमा सर्च गरेर आफूले पाएको सूचनाको जाँच गर्ने, परामर्शदाताको शैक्षिक योग्यता, अनुभव र आधिकारिकताको जाँच गर्ने।
अहिले धेरै राम्रा, व्यावसायिक, नैतिक रूपमा काम गर्ने परामर्शदाताहरू पनि धेरै नै छन्, उनीहरूले उचित सर-सल्लाह दिने मात्रै नभइ परेको बेलामा आफूले पठाएको विद्यार्थीहरूलाई सहयोग पनि गर्छन्।
साथसाथै, नामका मात्र परामर्शदाता, जसले जे कुरा पनि गर्न सक्छु, डिपेण्डेण्ट मिलाइदिन्छु, काम खोजी दिन्छु भनेर काम न काजका अनलाइन जाँच दिए जस्तो गरेर केके न ठूलो योग्यता लिए जस्तो गरी, फलानो ढिस्कानो ए बि सी आफ्नो नामको अघि-पछि राखेर झुक्याइरहेका छन्।
खासगरी, त्यस्ता नाम मात्रका परामर्शदाताहरूले, जे पनि गर्न सक्छु भन्छन्, पैसा दिनुस् मात्रै, मैले कामको अनुभव भएको प्रमाण पत्र बनाइ दिन्छु,डिपेण्डेण्ट खोजी दिन्छु, विदेशमा कामको चिन्ता लिनु पर्दैन, सिधै पीआर बनाइदिन सक्छु, जस्ता मात्रै कुरा गर्नेसँग सावधान रहनुपर्ने देखिन्छ।
समग्रमा विदेश जाने विषयमा केही कुरा स्पष्ट हुनु जरूरी छ । पैसा कमाउने या उच्च शिक्षा हासिल गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरूरी छ।
(लेखक अष्ट्रेलियाका कानून व्यवसायी हुन् )