उनको पुरा नाम विश्वेश्वर प्रसाद कोइराला हो। गोरखा सउरपानीमा जन्मिएका बिपी कोइराला भर्खरै २५ वर्षका भए।
झट्ट सुन्दा उनको नामले एक पटक जो कोहीलाई पनि झस्काउँछ। नेपाली राजनीतिको एउटा प्रखर ब्यक्तीत्वको नाम उनीसँग मेल खादै जाँदाको रहस्य भने निकै चाखलाग्दो छ। नेपाली कांग्रेसका मात्र नभइ नेपाली राजनीतिका महामानव बिपी कोइराला र मेलवर्नका यी गोर्खाली ठिटो बिपी बिचको मेल अनौठो मात्र होइन कसिलो पनि छ।
बीपी कोइरालाले कक्षा नौ सम्म छात्रवृत्तिमा बागमतीमै अध्ययन गरे। अनि त्यसपछि घरपायक हुने शुभकामना बोर्डिङबाट एसएलसी सकेर बसुन्धराको साउथवेस्टबाट १०+ २ सकेर स्नातक अध्ययनका लागि मेलवर्न आए।
गोर्खाको सउरपानी (हाल सुलिकोट गाउपालिका) मा आजभन्दा २१ वर्षअघि एउटा दुःखद् घटना घट्न पुगेको थियो। त्यतिबेला जनयुद्वका नाममा चलेको आन्दोलनको चरम शिकार बन्न पुगेका थिए गोर्खाका शिक्षक नन्दलाल कोइराला।
घटना थियो-२०५४ साल चैत तीन गते गोर्खा सउरपानी गाविसको। त्यतिबेला शिक्षक संघकै सदस्य भएको कारण तत्कालीन नेकपा माओवादीका छापामारले परीक्षा चलिरहेको बेला हिमालन निमाविका शिक्षक नन्दलाललाई चरम यातना दिएर हत्या गरेका थिए।
माओवादीको निर्देशन विपरित परीक्षा सञ्चालन गरेको र फरक मत राखेकै कारण बाबु गुमाउँदा बीपी मात्र चार वर्षका थिए। उनलाई बाबु गुमाउनुको पीडा बाहेक अरू केही धुमिल सम्झना मात्र छ।
फेन्सी स्टोर चलाउने आमा लक्ष्मी कोइरालाले हार गुहार गरेर हेलिकप्टर मगाए पनि बुबाको ज्यान बच्न नसकेको पछि मात्र थाहा पाए। चार वर्षको उमेरमा बाबु गुमाउँदा यतिखेर कहिले काही पीडाबोध हुन्छ।
चार वर्षको उमेरमा बाबु नन्दलाल गुमाउनुपरेपछि उनलाई तत्कालीन गोरखाका सांसद चिनकाजी श्रेष्ठले काठमाडौंमा पढाउनका लागि पहल गरे। यो खबर त्यसेबला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासम्म पुगिसकेको थियो। आफ्नो पार्टीको विचार बोक्ने एउटा शिक्षक मारिँदाको घटना दुःखदायी भएको भन्दै उनैले बाग्मती बोडिङका प्रिन्सीपल सुरेन्द्र सिटौलाको सहयोगमा २०५५ सालमा उनलाई छात्रवृत्तिमा पढने ब्यवस्था गरे।
स्वयम् गिरिजाप्रसाद कोइरालाले उनलाई स्कुलमा नाम राखिदिए विश्वेश्वर प्रसाद कोइराला अर्थात बिपी। ‘बोलाउने नाम सुजन भए पनि मेरो नागरिकता र सर्टिफिकेटमा बीपी कोइराला कै नाम छ। मलाई सबैले बीपी नै भन्छन् र यसै नामले चिन्छन्,’ उनले भने।
मेलवर्नमा सेतोपाटीसँग कुरा गर्दै बिपीले आफ्नो नाम बिपी भएपछि नेता विश्वेश्वर प्रसाद कोइरालाको जेल जर्नेल र सुन्दरीजल जस्ता पुस्तक पढेर बिपीलाई नियाल्ने प्रयास गरेको बताए।
गिरिजाबाबुले बिपी नाम राखेको थाहा पाएर केही पढ्दै गएपछि यो नामले केही झस्काउने र सम्झाउने काम गरेको छ।
‘नेपाली कांग्रेसका नेता बिपी कोइरालाको नाम मैले पाएपछि खुसी मात्र होइन गौरवान्वित पनि भएको छु,’ उनले भने, यहाँ पनि प्रजातन्त्रमा विश्वास राख्ने जमातले हरेक कार्यक्रममा बिपी भाइ खोइ भन्छन्, फरक पहिचान पाउँदा फरक अनुभूती हुँदोरहेछ।’
नन्दलालको हत्यापछि निकै दुःखित यो परिवार सम्हाल्ने आमा लक्ष्मी कोइराला यतिखेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेकी छिन्। यसपटक गोरखाको आफ्नै गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचन लडे पनि पराजित भइन्।
आमाले राजनीति गदै गर्दा बीपीको भने आफ्नै चिन्तन छ। प्रजातन्त्रमा फरक विचार र अलग सोचलाई सम्मान गर्न सके मात्र यसको फलिफाफ हुन्छ।’
अस्ट्रेलिया आएर केही वर्ष अध्ययन गरिसकेका बिपी राजनीतिलाई सम्मानित पेशा बनाउन आग्रह गर्छन्। ‘नैतिकताको धरातलमा गरिने राजनीति र बिपक्षीको सम्मानमा चल्ने सरकारनै लोकतन्त्रको सच्चा पहेरदार हुन्,’ उनले सुनाए ।