अस्ट्रेलियाको सबैभन्दा लोकप्रिय दौड प्रतियोगिताका रूपमा चिनिएको ‘सिटि टु सर्फ’ मा यस पटक नेपाल प्रवर्धन गरिएको छ।
गैर आवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समन्वय समितिको आयोजनासँगै सो दौडमा मुलुकको परिचयसहित सहभागिता जनाएर नेपाल प्रवर्धन गरिएको हो।
एनआरएनएले डिस्कभर नेपालको नारासहित दौडमा सहभागिता जनाएको थियो। दौडमा सयौं नेपालीले राष्ट्रिय झन्डासहित बिभिन्न पर्यटकीयस्थल अंकित टिसर्ट लगाएर दौडमा सहभागि भएका थिए।
‘हामीले दौडमा सहभागि हुनेका लागि डिस्कभर नेपाल उल्लेखित टिसर्ट उपलब्ध गराएका थियौ,’ गैर आवसीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूङले भने,‘टिसर्टहरुमा नेपालका विभिन्न पर्यटकीय स्थानको फोटो र उत्कृष्ट पर्यटकीय गन्तव्य चिनाउने पर्चा पम्पलेट प्रिन्ट गरेर प्रतियोगितामा सहभागिलाई बितरण गरेका थियौ।
हरेक वर्ष अगष्ट दोस्रो आइतबार सिड्नीमा आयोजना हुने ‘सिटि टु सर्फ’ मा विश्वभरका हजारौं दौडप्रेमीहरूको सहभागिता हुने गर्छ। यस पटक एनएसडब्लुका माहावाणीज्यदूत दीपक खड्कालगायत नेपाली समाजका अगुवाहरू दौडमा सहभागी भएका थिए।
सिड्नी सीटीको हाईड पार्कबाट सुरू भएर बोण्डाई बिचमा पुगेर सकिएको दौड विश्वकै लोकप्रिय दौड प्रतियोगिताका रूपमा चिनिने एनआरएन एनएसडब्लुका उप संयोजक अर्जुन केसीले बताए।