केही दिनअघि म कामबाट घरतर्फ फर्कंदै थिएँ। यो यात्रा गाडीमा करिब एक घण्टाको हुँदो हो।
यात्रा शुरु भएको करिब १५/२० मिनेटपछि सिड्नीको सदरल्याण्डस्थित पोर्ट ह्याकिङ रोडबाट प्रिन्सेस हाइवेमा मिसिँदा मेरो बायाँपट्टिको लेनमा एउटा फ्युनरल होमको नाम लेखिएको गाडी गुडिरहेको थियो जस्मा एउटा ठूलो बाक्सा पनि राखिएको थियो।
पारदर्शी सिसाबाट भित्र प्रष्टसँग देख्न सकिने उक्त बाक्साको वरिपरि फूलैफूलले छोपिएको थियो। त्यसबखत मैले सहजै अनुमान गरें – ‘आज कसैको मृत्युको यात्रा रहेछ।’ केहीबेर सँगसँगै गुडेपछि र उक्त गाडीको पछाडिपट्टिका ४/५ वटा गाडीहरूमा बसेका चालक तथा अरू मानिसको हाउभाउ र गतिविधि हेर्दा पक्कै ती शवयात्राका मलामी हुनुपर्ने अनुमान गरेँ।
कहिले ट्राफिकको चापले त कहिले ट्राफिकबत्तीले रोक्दै जाँदा त्यस यात्रामा थाहै नपाइकन म पनि मलामी बनेको थिएँ। सिड्नीको क्रोनलाबाट मेरो घर आउँदा त्यही बाटोमा संसारकै छैटौं ठूलो सिमेट्री– ‘रूकउड नेक्रोपोलिस’ पर्छ जहाँ अस्ट्रेलियहरूले मृत आफन्तलाई आआफ्ना परम्पराअनुसार अन्त्येष्टि गर्दछन्। मनमनै लाग्यो— आजको यिनीहरूको यात्रा त्यही गन्तव्यका लागि हुनुपर्दछ।
‘संसारको सबैभन्दा ठूलो आश्चर्य के हो ?’ भन्ने यक्ष प्रश्नको उत्तरमा युधिष्ठिर भन्छन् – ‘मैले जताततै मृत्यु देखिरहेछु। मृत्यु निश्चित छ तै पनि मान्छेले आफू पनि एकदिन मर्छु भन्ने कहिल्यै सोंच्दैन। योभन्दा ठूलो आश्चर्य के हुन सक्छ।’
साँच्ची त्यो अपरिचित मान्छेको शवयात्राको मलामी बन्दा म पनि त एक दिन मर्नुपर्छ भन्ने सोंचेकै थिइनँ। काम र घरको सफर तय गर्दा त्यो रुकउड सिमेट्रीको बाटो बारम्बार छिचोलेको पनि छु। तर त्यस विशाल कब्रिस्तानलाई भेट्दा कहिल्यै आफ्नो मृत्युको बारेमा सोंच वा अलिकति आभाष समेत मैले कहिल्यै गरेको थिइनँ। त्यस दिनको यात्राअनुभवले मेरो मानसपटलमा अनेक नौला अनुभूतिहरू छाडेको थियो।
लियोनार्दो दा भिन्चीको एउटा उक्ति छ – ‘म कसरी बाँच्ने भनेर सोंचिरहँदा थाहै नपाई म त कसरी मर्ने भन्ने पो सोंचेको रहेछु।’
संसारका अधिकांश वा बहुसंख्यक मान्छे आफ्नै लागि बाँच्छन् र मर्दा पनि आफू मात्रै मरेर जान्छन्। ती बढीमा आफ्ना केही सीमित आफन्तको हृदयमा मात्र रहन सक्लान्। तर केही मानिसहरू यस्ता हुन्छन् जो धेरैका लागि बाँच्छन् र मर्दा धेरैलाई टुहुरासरी बनाएर जान्छन्। ती मान्छे मृत्युपश्चात् पनि धेरैको हृदयको कुनामा बस्न सफल हुन्छन्।
जीवन जिउने बाटो रोज्ने विकल्प त सबैसँग हुन्छ तर अरूका लागि बाँच्ने उत्प्रेरणा वा साहस धेरै कम मानिसमा हुन्छ किनकि यो बाटो त्यति सहज र सरल हुँदैन। ती यस लोकको मार्गनिर्देशक समेत बनेर जान्छन्।
भनिन्छ, भारतको तामिलनाडु राज्यका पूर्व मुख्यमन्त्री सि.एन. अन्नादुराईको शवयात्रामा तामिलनाडुका डेढ करोड जनता सहभागी थिए।
कतिपयले यसलाई सबैभन्दा ठूलो शवयात्राका रूपमा समेत उल्लेख गरेका छन्। व्याख्या जसरी गरे पनि एउटा सत्य के थियो भने उनी आफ्ना राज्यका जनतासित अत्यन्तै लोकप्रिय नेता, वक्ता र लेखकका रूपमा चिनिन्थे। अझ तामिलनाडु राज्यमा हिन्दीलाई हटाएर तामिल भाषालाई सरकारी कामकाजको भाषा बनाएपछि उनको लोकप्रियता अझै चुलिएको मानिन्छ।
एउटा सत्य यो पनि हो कि मलामी वा श्रद्धाञ्जली दिने व्यक्तिको संख्याले कुनै पनि मान्छेलाई उसको कर्मको महानताको कसीमा राखिनु पूर्ण रूपमा सही नहुन पनि सक्ला।
यसमा आफ्ना आफ्ना संस्कृति, रीतिरिवाज, परम्पराले पनि केही हदसम्म भूमिका खेल्न सक्लान्। तर, सामान्यतया मान्छे जब सर्वप्रिय हुन्छ उसलाई सम्झने र उसको पदचापलाई पछ्याउनेहरू धेरै बन्छन्।
मान्छेलाई जीवन प्रिय हुन्छ। जीवन यति प्रिय हुन्छ कि वाक्क लाग्ने गरी बाँचेका मान्छेलाई पनि अझ केही वर्ष, महिना वा दिन बाँचेर बल्ल मर्न पाए हुन्थ्यो जस्तो लाग्छ रे। तर मृत्युले कसैलाई पनि छाड्दैन।
सबैलाई लान्छ चाहे त्यो यस लोकको सबभन्दा गरीब मान्छे होस् वा संसारकै सबैभन्दा धनी। चाहे त्यो सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर आलिशान महलमा राज गरेर बसेको तानाशाह होस् वा सबैभन्दा निम्छरो जनता।
0चाहे त्यो संसारकै सबैभन्दा सुन्दर भनेर कहिलएको मान्छे होस् वा कुनै कुरुप मान्छे। चाहे त्यो समाजको सर्वोत्कृष्ट सेवक होस् वा समाजले धिक्कार गरेको मान्छे नै किन होस्। एकदिन सबै जान्छन्। म पनि जानेछु। तर यही जीवन र मृत्युको बीचको समयमा हुने अनेक लिला वा रमिताले मान्छेलाई अनेक पात्रका रूपमा चित्रित बनाउँदै जान्छ।
मान्छेले यही जीवन र मृत्युको बीचको सानो धर्सोमा आफ्नो उद्देश्यअनुरूप नै जिउँछ र मर्छ। एक आत्मीय भेटमा सिड्नीमा करिब दुई दशकभन्दा बढी समय बिताएर यतैतिर जमेका एक अग्रज दाइलाई मैले सोधेको थिएँ – “दाइ, तपाइँको जीवनको लक्ष्य के हो ?” केहीबेर गमेर उनले भने – “हेर भाइ ! मान्छेको जीवनको लक्ष्य पनि यो समयजस्तै चलायमान रहेछ।
शुरुका दिनमा आर्थिक सम्पन्नता नै जीवनको लक्ष्य ठानियो। केही हदसम्म त्यो प्राप्त पनि गरियो। तर अब जीवनको उतरार्धतिर आउँदा जीवनलाई फरक कोणबाट हेर्ने र बुझ्ने प्रयत्न गर्छु। जब मान्छेलाई मृत्युबोध हुन्छ तब उसले परहीतको उत्थान र प्रगतिका लागि पनि काम गर्दछ। अहिले मेरो पनि लक्ष्य त्यही साधारण सत्यबाट निर्देशित छ।”
अनेक विचार र तर्कनाहरू खेलाउँदै यो लेख लेख्दै थिएँ। त्यही क्षण मेरो मोबाइलको घण्टी बज्यो। यसो हेरेँ– नयाँ नम्बरबाट फोन आएको रहेछ। एक मनले के उठाउनु जस्तो लाग्यो। फेरि मनले मानेनँ र उठाउँदै भने– “Hello”
उताबाट सुमधुर आवाज आयो – “Hi! is this Kom?”
म – “Yes.”
फेरि उताबाट आवाज आयो – “Hi sir. How is your day going?”
मनमनै पक्कै कुनै मार्केटिङ कम्पनीको फोन रहेछ भन्ने ठम्याएँ र छोटो उत्तर दिएँ – “Good.”
उता – “Sir, do you have your funeral insurance?”
म – “No.”
उता – “Sir, we provide the best funeral insurance so that your relatives can have peace of mind even after your death.”
मनमनै अनुभूति गरेँ— यो त त्यस्तो पनि त देश हो जहाँ मृत्युको पनि त व्यापार हुन्छ। त्यस दिन, त्यो बाक्साभित्र रहेको मृत शरीरले पनि त यस्तै फ्युनेरेल इन्स्योरेन्स गरेको थियो होला।
शायद पूँजीवादी व्यवस्थाको एक झल्को यो पनि त हो कि? अनि केही बेरको मौनतालाई भङ्ग गर्दै उत्तर दिएँ – “I don't belong here. I want to die in the land where I belong. So, I am going to my motherland soon. I am sorry. I am unable to take your funeral insurance. Thanks.”
यो मेरो तर्क थिएन, भावना थियो। त्यसपछि मैले फोन राखिदिएँ।