आगामी सेप्टेम्बर १५ मा गैर आवासीय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा प्रथम ओसेनिया बिज्ञ सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ।
एनआरएन ओसेनिया क्षेत्रले शुक्रबार राति पत्रकार सम्मेलनको आयोजना गर्दै यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनीहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुर्याउने भन्दै सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ।
अस्ट्रेलिया, न्यूजिल्यान्ड, फीजी र पपुवा न्युगीनीजस्ता राष्ट्रमा महत्वपूर्ण भूमिकामा रहेका नेपाली विज्ञलाई एकै थलोमा भेला पारेर यहाँ सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने सोचका साथ पहिलो पटक एनआरएनले यो सम्मेलनको आयोजना गर्न लागेको एनआरएन ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले बताए।
‘नेपालमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासीय नेपाली संघको विश्व बिज्ञ सम्मेलनमा सहयोग पुर्याउने र मुलुकको विकाससँग जोडिएका विविध विषयमा छलफल चलाएर त्यसलाई कार्यान्वयनको पाटोमा अगाडि बढाउने उद्धेश्यका साथ यो सम्मेलन अगाडि बढने छ,’ अधिकारीले सेतोपाटीसँग भने।
सिड्नीमा आयोजना हुने विज्ञ सम्मेलनमा कृषी तथा खाद्य सुरक्षा ,पुर्वाधार निमार्ण तथा रेलवे ,सुरूङ मार्ग ,स्वास्थ तथा शिक्षाजस्ता विषयमा सम्मेलन केन्द्रीत हुने संयोजक अधिकारीले जानकारी गराए ।
अस्ट्रेलया र न्युजिल्यान्डमा रहेका नेपाली विज्ञको बिज्ञतालाई हेरेर मुलुकको सम्भावनासँग जोडेर कार्यपत्र तयार पारीएको एनआरएन आइसीसी सदस्य दिनेशराज जोशीले बताए।
‘यहाँ रहेका विज्ञको विज्ञतालाई ध्यानमा राखेर उनिहरुसँग हातेमालो गर्दै मुलुकको विकाससँग जोड्ने कार्यमा एनआरएन लागि परेको छ,’ जोशीले भने।
पत्रकारसम्मेलनमा बिषयगत छनोट र सम्मेलनको महत्व बारे बोल्दै आइसीसी सदस्य होम पाण्डेले आइसीसीले दिएको गाइडलाइन र यहाँ रहेका बिज्ञहरुको बिषयगत महत्व हेरेर कार्यपत्रको लागि आग्रह गरिएको बताए।
कार्यक्रमको उद्धेस्यबारे प्रकाश पार्दै ओसेनिया क्षेत्रका युवा संयोजक ऋषी आचार्यले मुलुकका हितका खातिर बिज्ञलाई जम्मा पारेर उनीहरुको शिप र ज्ञानलाई दुई देश बिच जोडने कार्य आफैंमा महत्वपूर्ण भएकोले यसमा सबै क्षेत्र र बर्गको सहभागिता महत्वपूर्ण रहेको बताए।
ओसेनिया क्षेत्रका आइसीसी सदस्यहरु जानकी पौडेल, दिपक भट्टराई, बबिता श्रेष्ठ ,कान्छि आइसीसी सदस्य उषा बारिया पोखरेललगायतको उपस्थिति थियो।