अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स(एइसीए)को आयोजनामा यही आउँदो २४ र २५ अगष्ट नेपालमा दोस्रो एका शैक्षिक मेलाको आयोजना हुने भएको छ।
होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा कलेज तथा दुइ दर्जन शैक्षिक परामर्शदाताहरूको प्रत्यक्ष सहभागिता रहने एकाका अध्यक्ष निरज श्रेष्ठले बताए।
उच्च अध्ययनका लागि अष्ट्रेलिया आउने विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गर्न लागेको यस शैक्षिक मेलामा किङ्सफोर्ड इन्टरनेशनल,एचआइबीटी कलेज, भाइब कलेज,किङ्स वन,एआइए कलेज, क्युआइबिए कलेज,एसएसबिटीको प्रत्यक्ष सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए।
२२ वटा शैक्षिक परामर्शदाताहरूको स्टल रहने शैक्षिक मेलामा कूल २९ स्टलको सहभागिता रहनेछ।
दुई दिनसम्म चल्ने शैक्षिक मेलामा यहाँको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय अनि कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी गराइने अध्यक्ष श्रेष्ठले बताए।
अष्ट्रेलियामा दश जोड दुई सकेर कलिला विद्यार्थीहरूको सहभागिता बढ्दै जाँदा अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेकोले यस पटक यो महोत्सवमा विद्यार्थीसँगै अभिभावक भन्ने नारा एकाले राजेको अध्यक्ष श्रेष्ठले सुनाए।
‘अर्काको छोरा विदेश गयो, छिमेकीको पनि हाम्रो किन नपठाउने भन्ने होडबाजीमा विदेश पढ्न पठाउने हाम्रो समाजले बुझेर मात्र छोराछोरी अष्ट्रेलिया पठाउन् भन्ने हाम्रो मेलाको उद्देश्य हो’, अध्यक्ष श्रेष्ठले भने, ‘किनभने यहाँ पढाउन कति लाग्छ, काम पाउन कति गाह्रो छ, कुन विषय पढ्दा के हुन्छ र कति समयसम्म पढाइको जिम्मेवारी अभिभावकले लिन सक्नुपर्छ भन्ने विषयको ज्ञान नहुँदा यतिखेर विदेशमा केही विद्यार्थीहरूले दु:ख पाएको सुनिन्छ।’
यस पटक मेलाको मुख्य पार्टनरका रूपमा हाम्रो इन्स्टिच्युट अफ विजनेश टेक्नोलोजी (हाम्रो कलेज) रहेको छ भने किङ्गसफोर्ड इन्टरनेशनल कलेजले मेलामा सहयोगीको भूमिका खेलेको कुरा एकाका उपाध्यक्ष भुपाल सिटौलाले बताए ।
एलाइन्सका कोषाध्यक्ष सुभांशु शाहले संभावना र स्तरीय पठनपाठन अहिलेको महत्वपूर्ण विषय भएकोले यहाँका कलेज र अध्ययन प्रतिष्ठानको जानकारी र कलेजहरूसँग प्रत्यक्ष भेटघाट हुने मेलामा सहभागी हुन आह्वान गरेका छन्।