गोरखा समाज अष्ट्रेलियाले आइतबार अष्ट्रेलियामै पहिलो पटक परम्परागत गाईजात्रा तथा जनैपूर्णिमा महोत्सव गर्ने भएको छ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने भन्दै गोरखा समाजले यस पटक गाईजात्रासँगै जनैपूर्णिमा महोत्सव आयोजना गर्न लागेको समाजका अध्यक्ष त्रिलोचन पोखरेलले बताए।
संकलित सहयोग रकम परोपकारी अभियानमा खर्च गर्ने संस्थाले जनाएको छ। कार्यक्रममा आकर्षणका रूपमा हाँस्यब्यङ्ग शृंखला मेरी बास्सैका बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) र राजु मास्टर (राजु पौडेल) सिड्नी आइसकेका छन्।
उनीहरूले गाईजात्रामा हाँस्यव्यंग्य प्रस्तूत गर्ने आयोजकले जनाएका छन्। गोरखा समाज अष्ट्रेलियाका सचिव शिव बन्जाराले कार्यक्रममा सहभागि हुन सम्पूर्ण नेपाली समाजका सदस्यलाई आग्रह गरेका छन्।
सचिव बन्जाराले आफ्ना विदेशी साथीलाई पनि नेपालको गाईजात्रा देखाउन ल्याउन आग्रह गरे।
‘अगष्ट २६ आइतबार सिड्नीको ट्याम्पे पार्कमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म रक्षाबन्धन र गाईजात्रा गरिने भएको छ,’ सचिव बन्जाराले भने, ‘कार्यक्रममा गाईजात्राको झाँकी लगायतका स्थानीय कलाकारहरूको बिभिन्न प्रस्तूति र चर्चित लाखे नाँच पनि देखाइने छ।’
पण्डित प्रकाश ढोडारीले नेपाली धर्म संस्कृतिको रक्षाका लागि, अष्ट्रेलियामा रहेको नयाँ पुस्तालाई जानकारी गराउनका लागि पनि रक्षाबन्धन र गाईजात्रा कार्यक्रम राखिएको बताए।
कार्यक्रममा दाताहरुबाट प्राप्त सहयोग रकममध्ये खर्च कटाएर १० प्रतिशत गोरखा-समाज अष्ट्रेलियाको कोषमा राखिने र बाँकी सिड्नीमा बन्न लागेको हिन्दू मन्दिरमा सहयोग स्वरुप दिइने छ।
गोरखा समाज अष्ट्रेलियाको आयोजना साथमा हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा रक्षा बन्धन र गुठी अष्ट्रेलियाको बिशेष लाखे नाच प्रस्तुत हुने भएकोले पनि कार्यक्रम भब्य हुने आयोजकले बताएको छन्।