अस्ट्रेलिया र अमेरिका जस्ता नेपाली समाजको नयाँ गन्तब्यमा चलचित्र र कलाकारहरुको प्रस्तुती मनग्य देखिए पनि साहित्य बिधाले खासै प्राथमिकता पाएको थिएन।
तर, पछिल्लो परिवेशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गठन र यसको चहलपहल बढ्दै गर्दा प्रवासमा नेपाली भाषा र साहित्यको पनि रुची बढ्दै गएको देखिन्छ।
प्रवासमा नेपाली समाज बाक्लिँदै गर्दा मुलुकको कला साहित्यको दायरा पनि फराकिलो बन्दै गएको पछिल्लो उदाहरण हो कवी पत्रकार डा. नवराज लम्सालको सीड्नीमा एकल प्रस्तुती।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथवेल्स च्याप्टरको आयोजनमा सीडनीमा आयोजित कार्यक्रममा शुसील चालिसेको मुक्तक संग्रह गुँरासहरू पलाँसहरुको लोकापर्ण समेत गरिएको थियो ।
अस्ट्रेलियाका पर्थ, ब्रिसबेन र क्यानबेरामा प्रस्तुती सकेर सिड्नी आएका कवी, पत्रकार नवराज लम्सालले शनिबार राति गद्य र पद्य गरी करिब तीन दर्जन कबिता सुनाए। नेपाली समाजका अगुवा, अभिभावक र साहित्यप्रेमीको बाक्लै जमघट भएको कार्यक्रममा कवी लम्सालले केही प्रेमील त केही मार्मीक कविताले दर्शकको वाहावाही लुटे।
रेडियो नेपालमा लामो समय साहित्यीक कार्यक्रम मार्फत दर्शक श्रोतासँग जोडिएका लम्सालले अमेरिकामा बस भन्ने केही साथीहरुको आग्रहलाई अस्वीकार गर्दै कोरेका राष्ट्रियताले ओतप्रेत कबिता र फीलीपीन्समा भेटिएकी युवतीको संझनामा कोरिएका प्रेमिल कबिता श्रोताको रोजाइमा परेका थिए।
आफूले आफूलाई माया गर्नु ठूलो कुरा हो त्यसपछि परिवार देश अनि संसारलाई माया गर्न सकिन्छ भन्दै कविता सुनाउँदै कवी लम्सालले निराशालाई आशामा बदल्ने आफ्नो प्रयास निरन्तरत जारी रहने बताए।
कविता सुन्न आएका सीड्नीका युवा ब्यवसायी किरण थापाले भाषा र साहित्य मुलुकसँग जोडने सबैभन्दा महत्वपूर्ण विषय भएकोले यसको विकास र विस्तार हुनु महत्वपूर्ण विषय भएको बताए।
कवितासँग रमाउँदै गरेका थापाले भने, ‘बिदेशमा बस्ने हाम्रा लागि भाषा साहित्यनै मुलुकसँग जोड्ने महत्वपूर्ण माध्यम हो, यसलाई संसारमा छरिएर रहेका नेपालीबिच पुर्याउनु अहिलेको आवश्यकता पनि हो।
अष्ट्रेलिया भ्रमणका दौरान ब्रिसबेनमा डा. केशव शर्मा पर्थमा निरज क्षेत्री, क्यान्बेरामा विनायक अधिकारी र सिड्नीमा महेश्वर शर्माले डा.लम्सालको अभिनन्दन गरेका थिए।
लम्सालको उपस्थितिले अष्ट्रेलियाको नेपाली साहित्यमा नयाँ तरङ्ग आएको र अब उच्चस्तर साहित्यको लागि नयाँ बाटो खुलेको अनेसास सिड्नीका अध्यक्ष महेश्वर शर्माले बताए।
अगष्ट ८ अष्ट्रेलिया आएका लम्साल यही बुधबार स्वदेश फर्कंदैछन्।