प्रवासमा आफ्नो भाषा, कला, र संस्कृतिलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हेतुले आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा मौलिक गाईजात्रा तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकी प्रदर्शन गरिएको थियो।
बिहान रक्षाबन्धनबाट सुरू भएको उक्त कार्यक्रम दिउँसो गाईजात्रा परेडमा परिवर्तन भएको थियो। नेपाली समुदायको बाक्लै सहभागिता रहेको उक्त परेड पश्चात् गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षता तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको आतिथ्यमा छोटो औपचारिक कार्यक्रम गरिएको थियो।
कार्यक्रममा स्वागत आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेशी भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोस्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए।
कला,धर्म, संस्कृति नेपालीको शान- डाँफे, बुद्ध, सगरमाथा हाम्रो पहिचान भन्ने मूल नारामा आधारित यस कार्यक्रममा प्रवासमा रहेर पनि नेपालको कला तथा संस्कृतिलाई माया गर्ने सिड्नीवासी नेपालीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिड्नीस्थित विभिन्न संघसस्थाहरूको सहभागितामा साँस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथै गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षकका रूपमा मेरी बास्सैका हाँस्यकलाकार राजु मास्टर तथा बल्छी धुर्बेको विशेष प्रस्तुति रहेको सचिव शिव बन्जाराले बताए।
जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा ऋषि तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो ।