मदर टेरेसाले भनेकी छिन् ‘सानै काम गर, तर अगाध प्रेमले’। सेवाभावको कुनै नाप तौल अनि आकार हुँदैन न यसमा कुनै स्वार्थनै लुकेको हुन्छ। जन्मिएका ठाउँ र हुर्केको गाउँ त्यसमाथि पनि सबैको प्यारो हुन्छ।
यतिखेर दोलखाको बिगु गाउँपालिका निकै हर्षित छ। यस गाउँपालिकाको खोपाचागुँ गाउँबासीनै रमाएका छन्। यस खुसीमा हाँसो छरेका छन्- सीड्नीबासी दिपक खड्काले।
अस्ट्रेलियाको सीड्नीलाई कर्मथलो बनाएर ब्यापार ब्यवसायसँगै समाजसेवामा लागिपरेका खड्काले दोलखामा यतिखेर सहयोगको नयाँ पाटो बुनिदिएका छन्।
उनले आफू जन्मिएको गाउँ र हुर्केको ठाउँलाई आफ्नो माया मात्र पोखेका छैनन्। पछिल्लो बिनासकारी भूकम्पमा गाउँनै सोत्तर हुँदा प्रतिघर नगद तीन हजारको दरले सहयोग प्रदान गरेका थिए। उनले यसपटक भने सहयोगको नयाँ युक्ती निकाले।
माथिल्लो तामाकोशी दोलखाको विकासको नयाँ आयाम कोर्ने परियोजना बनेको बेला उनले भने आफ्ना गाउँका सबै सात सय चालिस घर धुरीलाई पाँच हजारको दरले शेयर धितो किनिदिएका छन्।
‘भबिष्यका लागि समेत महत्वपूर्ण मुनाफा हुने यो परियोजनामा अहिले पाँच हजारको शेयर दश वर्षपछि दश लाख पनि बन्न सक्छ। मैलें गाउँले दाजुभाइको भबिष्य सोचेर सहयोग स्वरुप यो निर्णय गरेको हुँ,’ अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यका महावाणिज्यदूतसमेत रहेका खड्काले सेतोपाटीसँग भने।
भूकम्पपीडितको लाभग्राही सूचीमा परेका यी ७ सय ४० घरलेनै उक्त परियोजनाको शेयर पाउने पक्का पक्की छ।
समय र परिस्थिति हेरेर मुठी फुकाउने मनकारी बानीलाई सबैले मनैदेखि सम्मान गरेका छन्। यसअघि अस्ट्रेलियाबाट नेपालमा १ सय ६६ वटा ह्वीलचेयर नेपाल पठाउँदा खड्काले करिब आठ लाख व्यहोरेका थिए।
‘सबैभन्दा ठूलो कुरो सहयोगलाई दिगो रहोस् भन्ने मेरो सोच हो, एक पटक अलिकति दिएर कसैलाई पनि जीवनभर पुग्दैन तर, त्यही सहयोगलाई उत्पादनमुलक काममा लगाउने हो भने त्यसको प्रतिफल दिगो पनि बन्न सक्छ,’ धनसँगै मनका पनि धनी खड्काले सुनाए।
फिलिपिन्समा इन्जिनियरिङ सकेर नेपाल फर्किएका दोलखाका खड्काले केही समय सडक बिभागको इन्जिनियरका रुपमा पनि काम गरे। त्यसपछि इन्जिनियरिङकै सिलसिलामा हङकङ पुगेका खड्काको इन्जिनियरिङसँगै ब्यवसाय पनि खुबै जम्यो।
कामसँगै हङकङमा उनले ठेकेदारी पनि सुरू गरे। चेप्लाकोट विमानस्थल बन्दै थियो, मिहेनत र परिश्रमले फल दिन थाल्यो। ब्यवसाय जमेपछि धन पनि कमाए र मन पनि फराकिलो पार्दै गए।
उनले पढाइ र कमाइसँगै पिरती पनि उतै लगाए। हङकङमै जन्मे हुर्केकी लिसासँग दिपकको विवाह भयो। तर, उनको विवाहको रमाइलो कहानी छ, उनले लिसालाई बिवाहअघि नेपाल देखाउन ल्याए र घुमाइको क्रममै बिवाह गरेर लिसा खड्का बनाए।
बिवाहको बिषयमा रोचक प्रसंग सुनाउँदै दिपक भन्छन्,‘हाम्रो बिवाह पाँचथरको फिदीममा भएको हो। जिल्ला प्रशासनको कार्यलयमा विवाह दर्ता नम्बर आठ हो जस्तो लाग्छ,’ सम्झनालाई ताजा बनाउँदै दीपकले सुनाए।
हङकङबाट छोरा छोरीको उच्च शिक्षाका लागि सन् २००३ मा दिपक स-परिवार अस्ट्रेलिया आइपुगे। ब्यापार ब्यवसायमा स्थापित खड्काकी जेठी छोरी समिक्षा खड्का कानुन ब्यवसायमा संलग्न छिन् भने छोरा सम्राट खड्का मक्वारी विश्वबिद्यालयमा ब्याचलरमा अध्यनरत छन्।
‘छोरा छोरीको अध्यनको लागि अस्ट्रेलिया आइयो र यतै स्थापित भइयो’, उनले भने।
हाल शैक्षिक र आइटी ब्यवशायमा संलग्न खड्काले सामाजिक सहयोगको नयाँ बाटो भने देखाइदिएका छन्। ‘सहयोग गर तर मनैदेखि’, जुन भबिष्यमा पनि काम लागोस्।