अष्ट्रेलिया आएको पनि चार वर्ष पुग्न लाग्यो। छात्रवृत्ति नपाएको भए मास्टर्स गर्न अष्ट्रेलिया शायदै आउँदिन थिएँ होला।
अहिले जिन्दगी ठिकै चल्दै छ, खान लाउन पुग्ने बाटो चाँही एउटा कम्पनीमा ईन्जिनियर जागिरले धानिरहेको छ। यो चार वर्षको समय बितेको पत्तो नै भएन।
अहिले त यहाँको नेपाली समाज र दाजु-भाइ नै आफ्ना लाग्न थालेको छ। दैनिकजसो काममै धेरै ब्यस्त रहने यहाँको समाजको म पनि एउटा प्रतिनिधि पात्र हो। जति ब्यस्त भए पनि नेपाल र नेपालीसँग सम्बधित विषयमा आँखा गइहाल्छ।
यो चार वर्षको समयमा मैले जिन्दगीको धेरै पाटाहरु प्रत्यक्ष-अप्रत्यक्ष बुझ्ने कोशिस गरिरहेको छु। जिन्दगी जिउन र आफ्नो पृष्टभूमीबाट माथि बढ्न कठिन् यात्रा तय गर्नुपर्ने रहेछ।
पछिल्लो समया अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। आफ्नो उज्ज्वल भविस्यको लागि विश्वकै उत्कृष्ट कलेजमा पढ्नु र सिप हाशिल गर्नु राम्रो पक्ष भए पनि आजभोलि अधिकांश नेपाली विद्यार्थीका विषयमा नराम्रा खबरहरू आइरहेका छन्।
बिरानो देशमा नेपाली विद्यार्थीले दु:ख पाएको खबर सुन्दा मन खिन्न हुन्छ। साथै मेरो चार वर्षे अष्ट्रेलिया बसाइका क्रममा धेरै सकारात्मक घटना देखेको छु। यस्ता घटनाले जो सुकैलाई पनि केही गर्न सक्ने प्रेरणा र आत्मविश्वाश बढाउँछ।
यद्यपी अष्ट्रेलियामा घटेका केही नकारात्मक घटनालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने हामी सबैले सोच्ने बेला आइसकेको छ।
घटना१
पश्चिम नेपालकी एक २० वर्षिय बहिनी एउटा नर्सिङ कलेजमा पढ्न भनेर अष्ट्रेलिया आएकी थिइन्।
एक्लै अष्ट्रेलिया आएकी उनलाई अष्ट्रेलियामा भनेजस्तो काम पाउन गाह्रो भयो।
पाएको काम पनि शारीरिक बल धेरै लाग्ने भएकाले उनले गर्न सकिनन्।
सामान्य मध्यम बर्गीय परिवारबाट अष्ट्रेलिया आएकी उनलाई बा आमाले २० लाख ऋण गरेर पठाएका थिए।
भनेजस्तो काम नपाएपछि उनलाई कलेज फी तिर्न समस्या पर्यो। त्यती मात्र होइन अष्ट्रेलियामा खान बस्नसमेत समस्या पर्यो। त्यसमाथि घरबाट पनि पैसा कमाएर छोरीले पठाउली र ऋण तिरौंला भन्ने बाबु आमाको आशलाई पुरा गर्न सकिनन्। यी समस्याले उनको कलिलो मस्तिस्कले धान्न सकेन र आत्माहत्याको बाटो रोजिन्।
घटना२
भर्खर नेपालमा +२ सकाएर अष्ट्रेलिया आएको १९ वर्ष भाइ एकाउन्टिङ पढ्न थालेको थियो।
उसको घरको आर्थिक अवस्था सबल थियो। उसलाई कमाएको पैसा घर पठाउनुपर्ने बाध्यता थिएन। उनका बाबु आमाको इच्छा पनि छोराले उत्कृष्ट शिक्षा हाँशिल गरोस् भन्ने थियो।
शारीरिक काम पनि राम्ररी गर्न सक्ने भएकाले उसलाई काम पाउन खासै समस्या पनि थिएन।
घरको कुनै दबाब नभएको र राम्रै आम्दानी भएकाले उसलाई खर्च चलाउन कुनै समस्या थिएन। तर, बिस्तारै जुवा तास र ड्रग्सको कुलतमा फस्यो।
उता बुवा आमालाई आफ्नो पढाई राम्रो भएको जानकारी गराए पनि कुलतमा दिन दिनै फस्न थाल्यो। पछी उसकै साथीले परिवारमा खबर गरेपछि छोरालाई नेपाल लगेर सुधार केन्द्रमा भर्ना गर्नुपर्यो।
घटना३
पूर्वी नेपालकी एक बहिनीले मेरो साथीलाई २ वर्ष पहिल्यै +२ सकेपछि अष्ट्रेलिया आउने भनेकी थिइन् रे।
‘यति सानो उमेरको एक्लो मान्छेलाई अष्ट्रेलियामा सबै कुरा मिलाउन गाह्रो हुन्छ, तिमी अहिले नेपालमै पढ्दै गर’, भन्ने सुझाव दिएको रहेछ।
तर त्यसको एक महिना पछि उनले अष्ट्रेलिया आउनकै लागि घर परिवारको सहमति बिना बिहे गरिछन्।
अष्ट्रेलिया आउनकै लागि उनले एउटा ब्यक्तीसँग पैसा सहयोग गर्ने सर्तमा नक्कली बिहे गरेकी रहिछन्। अष्ट्रेलिया आएपछि विद्यार्थी भएकाले उनलाई धेरै काम गर्न नपाउने नियमले बाध्यो।
उनीसँग पैसा सहयोग गरेर आएको केटाले अष्ट्रेलिया आएपछि आफ्नो र उनको बाटो अलग भनेर सम्झौता अनुसार टाढा भएछ। त्यो एक्लो कलिलो ज्यानले यताको सबै तनाव धान्न गाह्रो पर्यो। अनी आफूभन्दा निकै पाका करिब ४० वर्षे अफ्रिकी मुलका नागरिकसँग लिविङ टुगेदरमा बस्नुपर्यो।
घरमा बुवा आमालाई पढाई साह्रै राम्रो भएको भ्रम दिएर आफू अफ्रिकी मुलको अधबैशेसँग बसेकैले उनी अहिले नेपाली मुलका व्यक्तिसँग सम्बन्ध तोढेर बसेकी छन्।
घटना४
दुई जना २४ अनी २६ वर्षका युवा र युवतिले नेपालमा मागी बिहे गरेर अष्ट्रेलिया पढ्न आउने निर्णय गरेछन्।
पहिले केटाको भिसा लगाउने अनी केटीको भिसा लगाउने पारिवारिक छलफल बमोजिम बिहे भएछ।
त्यही अनुरूप केटा आएर काम अनी कलेज मिलाउन थालेछ। ६ महिना पछि केटी पनि भिसा लाग्यो। उनी पनि अष्ट्रेलिया आउने भईन्।
अष्ट्रेलिया आएर श्रीमान-श्रीमतीसँगै बस्ने सपना बुनेको केटा, छाँगाबाट खसेजस्तै भयो। उसको श्रीमतीले त आफ्नो प्रेमी पहिल्यै अष्ट्रेलियामा भएको तर घरकाले उसँग बिहे गर्न नदिएपछि आफूसँग बिहे गरेर आउनुपरेको भन्दै फेसबुक म्यासेजबाटै ब्लक गरिन् र प्रेमीसँगै गइन्।
यो पीडाले उसलाई केही दिनसम्म घरमा पनि भन्न सकेन। यही घटनाले उसलाई कुलतमा फसायो।
घटना५
अष्ट्रेलियामा नर्सिङ पढ्न आएका दुई जना श्रीमान श्रीमतीमध्ये श्रीमान कमाउने र श्रीमती कलेज पढ्न जाने थिए। दुबै जना दु:ख गरेर काम गर्थे। केही पैसा घर पनि पठाउँथे, अनी मिलेर फी तिर्ने गरेका थिए।
सबै कुरा राम्रो थियो। तर, जब श्रीमती ग्र्याजुएट भएर नर्स भईन् अनी समस्या आउन थाल्यो। श्रीमती नर्स भएपछि त्यही अनुरूपको साथी-संगत हुन थाल्यो।
उसको साथीको श्रीमानको कमाइ राम्रो थियो। तर उसको श्रीमानको भने जस्तो थिएन। यो कुराले श्रीमतीमा लज्जा बोध हुनथाल्यो।
उता श्रीमान पनि श्रीमतीले धेरै कमाउने भएपछि उसको साथीका अगाडि उसलाई हिनताबोध हुन थाल्यो। साथी-भाइले खिसी गर्नथाले।
उसलाई श्रीमतीको जे कुरामा पनि आफू तल परेको महसुस हुन थाल्यो। अन्ततः यो जोडीले सम्बन्ध बिच्छेदको बाटो रोज्यो।
माथिका यी केही प्रतिनिधि घटनाहरू मैले मेरो चार वर्षे अष्ट्रेलिया बसाइमा सुनेको, पढेको र देखेको घटना हुन्।
यी समस्याको निरारणका लागि अब कसरी अगाडिस बढ्ने भन्ने बेला आएको छ।
समाधान के हो?
परामर्शदाता
कुनै पनि नेपाली युवालाई अष्ट्रेलिया पठाउन परामर्स कम्पनी खोलेर बसेका परामर्शदाता कमाउ धन्दामा लाग्नुभन्दा सत्य तथ्य जानकारी दिने गरेको यी समस्या केही हदसम्म निराकरण हुन्छन्।
अष्ट्रेलियामा सजिलै काम पाईन्छ र घण्टाको २५ डलरले ४० घण्टासम्म काम गर्दा यति पैसा हुन्छ भन्ने किसिमको गलत र भ्रामक जानकारी नदिएर वास्तविक परामर्स दिए यस्ता घटनामा कमि ल्याउन सकिन्छ। काम गरेको आफ्नो मेहेनतको पैसा त लिनुहोस् तर भ्रामक जानकारी दिदा कतिको ज्यान नै जोखिममा पर्नसक्छ भन्ने पनि सोच्नुहोस्।
विद्यार्थी
विद्यार्थी स्वयम् यसबारे चनाखो हुनपर्छ। परामर्शदाताको कुरा आँखा चिम्लेर विश्वास नगर्नुहोस्। यसका लागि अष्ट्रेलिया सरकारको वेवसाईट, युनिभर्सिटीका वेबसाईटहरूमा धेरैजसो जानकारी हुन्छन्। त्यस्ता जानकारी आफू स्वयम्ले अध्ययन गर्ने बानी बसाल्नुहोस्।
वेवसाइटमा भएका सबै कुरा नबुझिन सक्छ। तर, नबुझेका कुरालाई ईमेल गरेर सोध्यौं भने उनीहरू स्षप्ट पारिदिन्छन्।
यदि तपाईँ अष्ट्रेलियामा आइसक्नुभएको छ भने आफ्ना समस्यालाई नजिकको साथी, नेपाली दाजुभाइसँग सेयर गर्नुहोस्। उनीहरूबाट केही समस्याको समाधान अवस्य आउँछ। आफ्नो युनिभर्सिटीको पनि परामर्श केन्द्र हुन्छ। उनीहरूले निःशुल्क समस्याको समाधान दिन्छन्।
नेपाली दूतावास, एनआरएन तथा विभिन्न नेपाली संघ संस्थाहरू पनि समस्यामा परेका नेपालीलाई धेरै नै सहयोग गर्छन्।
अभिभावक
यहाँ सबैभन्दा ठूलो कमजोरी अभिभावकको देखिन्छ। अष्ट्रेलियामा उच्च शिक्षा लिन जाने कुरालाई पेशाको रूपमा लिन थालियो।
समाजमा मेरा छोरा-छोरी अष्ट्रेलियामा छन् भनेर घमन्ड गर्दै हांड्ने, तर कुन हालतमा छन् के गर्दै छन् केही मतलब नगर्ने परीपाटीले समस्या थपिएको छ।
के आफ्ना १९ वर्षे छोरा/छोरी एक्लैले बिरानो मुलुकमा वार्षिक ३५ हजार डलर फी तिरेर पढ्न सक्छन्?, के हजुरको छोरा छोरा शरीरिक र मानसिक रूपमा तयार छन? यी प्रश्नको उत्तर आफैंलाई सोधेर मात्र पढ्न पठाउनुहोला।
समाजमा अष्ट्रेलियामा भएकोलाई भगवान मानेर छोरा/छोरीको बिहे गर्दिने तथा छोरा छोरीको अवस्था नबुझी लाखौं ऋण काढेर पठाउने सोचनै बदल्न जरूरि छ।
हजुर-हरुको छोरा छोरीको क्षमता हजुरलाई जस्तो अरु कसैलाई पनि थाहा हुन्न। त्यसैंले आफूले नै त्यो कुरा बुझौ र आफ्ना इस्टमित्रसँग बुझ्ने कोशिस गरौं।
बेला बेलामा छोरा छोरीसँग अष्ट्रेलियाको दु:ख, कामको बारेमा कुरा गर्ने गरौं। यहाँ सबैभन्दा धेरै सन्तवना र साथको आवश्यकता पर्छ।
अष्ट्रेलिया आएर पैसा टन्न कमाएर घर पठाउने सोच परिवर्तन गर्नैपर्छ। पढ्न आएका छोरा/छोरीलाई कमाएर घर पठाउने कुरामा धेरै दबाब नदिनुहोस्।
साथी
अष्ट्रेलियाको एक्लो जीवनमा आफ्नो दाजुभाइ आमाबुवा जे भने पनि साथीभाइ नै हुन्।
यदि आफ्नो नजिकको साथीलाई आर्थिकदेखि मानसिक तनाब केही परेको जस्तो महसूस भयो भने कुरा गर्ने र सक्दो सहयोग गर्ने गरौं।
आफ्नो साथीको संगत कस्तो छ?, कुलतमा पो फसेको छ कि, जस्ता कुराको जानकारी राख्ने गरौं।
यदि सँगैं बस्ने साथी हो भने उसको घरमा बुवा आमासँग पनि कुरा गर्ने बानी बसालौं। उसको यताको अवस्था बारेमा घर परिवारलाई जानकारी गराउने गरौं।
नेपालीराजदूतावास तथागैरआवासीयनेपालीकोसंस्था
पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या बढे पनि दूतावास र गैर आवासीय नेपाली संघ संस्थाका काम कारबाही प्रभावकारी हुन सकेका छैनन्।
यसका लागि दूतावाससहित नेपाली संघ संस्थाले एउटा छुट्टै परामर्श केन्द्र खोल्न जरूरि छ। ताकि, कुनै नेपाली विद्यार्थीलाई केही समस्या परेमा तुरून्त सम्पर्क गर्नसक्ने वातावरण होस्।
दूतावाससहित एनआरएनलगायताका नेपाली विद्यार्थी र नेपाली समाजका लागि काम गर्ने भनेर खोलेका बग्रेल्ती संस्थाले विद्यार्थी केन्द्रीत कार्यक्रम त्यती प्रभावकारी रूपमा चलाउन सकेका छैनन्।
यसका लागि नेपाल सरकारले पनि नेपालमै आफ्नो परामर्श केन्द्र खोलेर अष्ट्रेलिया आउने विद्यार्थीका समस्याको समाधान गर्न सके राम्रो हुन्।
माथिका केही समाधानका उपायहरू केही हदसम्म हामीले पालना गरेमा अष्ट्रेलियामा हुनसक्ने कुनै पनि अप्रिय घटनालाई केही हदसम्म न्यूनिकरण हुनेछ।
यसका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट जे जति गर्न सकिन्छ त्यो गरौं।
अष्ट्रेलियामा अध्ययन गर्न आउने जो सुकै नेपाली विद्यार्थीले आफ्नो पारिवारिक स्थिति, आर्थिक अवस्था, आफ्नो शारीरिक र मानसिक क्षमताबारे राम्ररी सोचेर आउनुहोला।
धन्यवाद।