अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित खेलकुद क्लबका रुपमा चिनिएको वेस्ट युनाइटेड क्लबले आफ्नो वार्षिक कार्यक्रमको आयोजना गर्दै खेलाडीलाई सम्मान र प्रायोजकलाई बधाइ ज्ञापन गरेको छ।
सन् २००७ मा स्थापना भइ एक दशक लामो यात्रा पार गरेको वेस्ट युनाइटेड क्लबले अस्ट्रेलियाको नेपाली समुदायबीच हुने बिभिन्न प्रतियोगितामा आधा दर्जन उपाधिसहित आपसी भाइचारा र नेपाली समुदायबीच एकता गास्ने काम गर्दै आएको छ।
आइतबार वेस्ट युनाइटेडले आफ्ना क्लबमा नयाँ भित्रिएका खेलाडीलाई स्वागत, क्लबलाई सहयोग गर्ने प्रायोजकलाई सम्मान र पुराना खेलाडीहरुलाई अभिनन्दन गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ।
कार्यक्रमका क्लबका अध्यक्ष अम्वेशराज भण्डारी, उपाध्यक्ष कुमार अर्याल र सचिव सुमन बोहराले प्रयोजकहरू सिडनी सिटी कलेज, गुडवे एजुकेशन र एडब्लुएल एकाउन्टीङलाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा क्लबका अध्यक्ष अम्वेशराजले प्रारम्भका दिनमा फुटबल खेल्दा टिमसमेत नपुग्ने इतिहास सुनाउँदै अहिले सबैको सहयोग र खेलाडीहरुको माया ममताले क्लबले बिभिन्न चरणमा सफलता हात पारेको बताए।
कार्यक्रममा उपाध्यक्ष कुमार अर्यालले क्लबको महत्वपूर्ण पक्ष भनेको खेलाडी र प्रायोजक भएकोले क्लबलाई माया गर्ने सबै वेष्ट युनाइटेड परिवारप्रति आभार व्यक्त गरेका थिए।
क्लबका सचिव सुमन बोहराले क्लबको निम्ता मानेर आउने सबैलाई धन्यबाद ज्ञापन गर्दै क्लबको अबिरल यात्रा र सफलतामा यसका सबै खेलाडी पदाधिकारी र परिबारको सहयोग र सदभाव रहेको बताए।
कार्यक्रममा प्रायोजकको तर्फवाट सिडनी सीटी कलेजकी निर्देशक रन्जु थापाले खेल क्षेत्रको महत्व र यसको प्रभावको विषयमा स्पष्ट पारेकी थिइन्।
कार्यक्रममा एनआरएन आइसीसीका खेलकुद संयोजक राजु मानन्धर, नेपाल अष्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजु ग्रानभिल समाजका अध्यक्ष रमेश थापा,क्यानबेरा नेप्लीज फुटबल क्लबका पूर्वअध्यक्ष चुडामणि सापकोटा लगायतले क्लबको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।