यात्रा मेलवर्नदेखि सिड्नीको हो। अझ छोट्याउँ भने, सिड्नी एयरपोर्टको डोमेस्टिक टर्मिनल २ देखि घर सम्मको हो। शुक्रबार साँझ भएकाले अरु बेलामा आधा घण्टा लाग्ने यात्रा यस पटक एक घण्टा लागेको हो। त्यही यात्रामा मलाई इस्लामावाद पुर्याएका हुन् फिरोज मियाले।
फिरोज मियाँ, अ गुड लुकिङ मुस्लिम म्यान विथ हाल्फ ट्रिम्ड बियर्ड!
एण्ड अफ कोर्स, विथ अ ब्युटिफुल स्माइल!
उबरमा यात्रा गर्नुको एउटा विशेषता यो पनि हो कि, ट्याक्सी नआउँदै ट्याक्सी चालकको नाम मोबाइलमा हेर्न मिल्छ। कुन कार आउँदै छ पनि थाहा हुन्छ। तर, उवरको ड्राइभरलाई प्यासेन्जरको नाम र पुग्नु पर्ने ठेगानाको बारेमा प्यासेन्जर चढ्नुअघि थाहा हुँदैन। मिटरवाला ट्याक्सीले जस्तो छोटो यात्रा गर्न खोज्ने प्यासेन्जरलाई उबर ड्राइभरले जाँदिन भन्न पाउँदैन। उबरमा यात्रा गर्दा अर्को पनि झमेला हुँदैनः सम्झिनुस् त, मिटर वाला ट्याक्सीमा चढ्दा तपाइँको ध्यान ट्याक्सीको मिटर बक्समा कति चोटी पुग्छ। जतिपटक हेरे पनि तिर्नु पर्ने पैसा त औसतमा उति नै चढेको हुन्छ। र पनि बीच बीचमा हेरेपछि पैसा नै कम तिर्नपर्छ कि झैँ गरी हामी बेला बेलामा हेरिरहन्छौँ। उबरमा त्यो मिटर बक्समा डलर छिन् छिन्मा उकालोतिर दगुरीरहेको हेर्नु पदैन। दूरी र यात्रा गर्दा लागेको समयको आधारमा सिस्टमले नै प्यासेन्जले तिर्नु पर्ने भाडाको हिसाब गर्छ। ट्याक्सीमै तिर्ने झन्झट पनि हुँदैन। यात्रा पश्चात उबरको एकाउन्ट खोल्दा दिइएको क्रेडिट कार्ड डिटेल्सको आधारमा सिस्टमले भाडाको रकम कार्डबाटै सिधै डिडक्ट गर्छ।
कालो रंगको माज्डा सि. एक्स. फाइभ को अगिल्लो सिटमा छिरेपछि थाहा भएको थियो फिरोज मियाँलाई मेरो नाम। ट्याक्सीमा संवाद गर्नै पर्ने मेरो बानीलाई साथ दिँदै थिए फिरोज मियाँ। फिरोज फ्रेन्ड्ली थिए। बेलाबेलामा मिलेर बसेका दाँत देखाएर हाँस्यो भने मैले बुझ्थेँ फिरोजलाई मेरो कुरा चित्त बुझ्यो। हिजो मात्र इम्रान खान ले चुनाव जितेको प्रसंग शुरुमै ल्याउन मन लागेन। लाग्यो, हाम्रा औसत नेपाली जस्तै राजनीतिबाट परै बस्न चाहने, सिड्नीको सहजताको पिँधमा थिग्रिएर बसेको युवक पनि हुन सक्छ फिरोज मियाँ। फिरोजले मधुरो बनाएर गीत बजाइरहेको थियो। मैले नसुनेको गीत थियो। पाकिस्तान भन्ने बित्तिकै म प्रिय गायिका रेश्मालाई सम्झिन्छु। आनन्द बक्सीका शब्दहरु “लम्बी जुधाई” सम्झिन्छु। मैले फिरोजसँगको कुराकानीलाई लय दिनका लागि पनि संगीतको सहायता लिएँ। भनेँ कि मेरा केही प्रिय गायक गायिकाहरू पाकिस्तान मा छन्। केही क्रिकेटरहरु तिम्रै देशमा छन्। फिरोजसँग मात्र होइन, पाकिस्तानी जो कोहीसँग पनि यसरी कुरा गर्ने प्रसंग मिल्यो भने, संवादहरूभित्र, म कहिले नुसहरत को “ए जो हल्का हल्का सुरुर हे” वा उनको लेगेसी लाई अगाडि बढाइरहेका राहत का मलाई मन पर्ने गीतहरूको को लय मिसाउन खोज्छु। यसो गर्दा उनीहरूसँग निकै सजिलै जोडिन सकिरहेको हुन्छु। हामी अर्को देशका मान्छेले उनीहरूसँग उनीहरूको गीत संगीत सुन्छौँ भन्दा, उनीहरूलाई गज्जब आनन्द मिल्दो हो है। अनुमान लगाउनुस् त, हामीलाई अरुदेशका मान्छेले वा यही फिरोज मियाँ ले मलाई तिम्रो देशको गायक फत्तेमानको “मर्न बरु गार्हो हुन्न” वा नारायण गोपालको “केही मीठो बात गर” मन पर्छ भनेर भने भनेँ, हामी ठहरै पर्दैनौँ त। म त पर्छु। मन भने कुँडिन्छ, अहिले सम्म ठहरै पर्न भने पाएको छैन। गीत संगीतको कुरा बाहिर निस्किएर मैले फिरोज लाई अलिकति हाँस्दै भनेँ, “नट वल्दी द म्युजिक, वी लभ पाकिस्तानी राइस”। मैले बढाइचढाइ गरेको थिइन। अल्ली अगाडि मात्र थाह भएको थियो, हाम्रो घरको नजिकै एउटा पाकिस्तिानीको होलसेल ग्रोसरी स्टोर छ। चामल, दाल र मसलाहरु चाहियो भने पहिलो जस्तो आधा घण्टा ड्राइभ गरेर कोग्रा पुग्नु पर्दैन।
‘ह्विच वन डु यु इट?’
“मिनार”, मैले ब्राण्ड पनि भनिसकेपछि, फिरोजको मन्द मुस्कानको आयातन झन् फराकिलो भयो। यसपटक उ भाउन्नियो। किनभने, उसको भान्छामा जाने चामल पनि मिनार नै रहेछ। अब फेरी सम्झीनुस् त, कसैले परदेशमा तपाइँलाई, मलाई तेरो देशका झिनुवा र जेठो बुढो चामल मन पर्छ भनिदियो भने, तपाइँको अनुहारमा नेपाली कृषकको अनुहारमा कोरीने खुशीका रेखाहरू दगुर्दै आउने थिए कि थिएनन् ? तर, यी सपना हुन्। अझ भनौँ, सपनाका पनि खेस्राहरू। जसरी मैले हेमजाको बौरको फाँटमा देखिने खेतको हरियो रंगलाई बिस्थापित गरेका घरहरू देखि पछि, अगिल्लो चोटि गाउँ गएको बेलामा, ती खेस्रा सपनाहरूलाई बिना इरेजर मेटिदिएको थिएँ। तर, कहिलेकाहीँ, नेपालबाट आएका गुन्द्रुक, जिम्बु, दाल र मसलाहरू नेपाली ग्रोसरी स्टोरमा देख्छु र किन्छु। लाग्छ, कतै न कतै, मैले अलिकति भए पनि किसानको अनुहारमा कोरिएको खुशीको खेस्रा नक्शा देखेँ। तर थाहा छ, किसान हुनु निकै अप्ठ्यारो छ।
मेरो अघिल्लो उपन्यास डार्लिङ हार्बर भित्रको एउटा पंक्ती जस्तै, “खोलाको छेऊमा खेत भएर बाँचिरहनु जस्तै अप्ठ्यारो¬”।
यो मन र मस्तिष्क पनि कता कता लम्किरहन्छ। अब फिरोज तिरै फकौँ है। उसैसँग कुरा गरौँ। फिरोज सिड्नी आएको दर्श बर्ष भइसकेछ। एक दशक लामो समय हो। छोटो जीवनको एक दशक। उ हरेक बर्ष पाकिस्तान जान्छ। देश र ऊ बीचको दूरी घटाइरहन्छ। उसको दाइले उसलाई औधी माया गर्छ। फिरोजले निकै डाह लाग्ने गरी भन्यो। उसका अब्बु जानलाई डाइबेटिज रहेछ। अगिल्लो बर्ष मात्र, कुर्कुच्चाको घाऊ निको नभएर, खुट्टाको घुँडा भन्दा मुनिको भाग काटिएको रहेछ। अहिले अब्बु जान, दाहिन खुट्टामा प्रोस्थेटिक लेग जोडेर बैशाखीका र फिरोजकी अम्मी र भाइजानको सहायतामा हिँड्डुल गर्छन्। उसको दाइको कुरियर कम्पनी छ।
मैले प्राय सबैलाई सोध्छु।
यतै बस्ने मन छ कि, आफ्नै देश तिर फर्किने ?
सन्तानलाई यतै हुर्काउने कि आफ्नै देश तिर ?
तिमी यहाँ खुशी छौ ?
शुरुमा देश छोड्दा, के कारणले छोड्यौ ?
कुरा लम्बिँदै गएपछि। एक अर्कासँग खुल्दै गएपछि सोधिने प्रश्नहरू हुन् यिनीहरू। मैले यस्ता प्रश्न अहिले सम्म हजारौँलाई सोधिसकेँ हुँला। एक किसिमले भनौँ भने, म यो बिषयको अनुसन्धाता हुँ।
फिरोजको कुरा सुन्दै जाँदा, म फेरि अर्को चोटि प्रस्ट भएँ, कि, देश र भूगोल फरक भएपनि मानिसका जीवनका उतार चढावहरुमा समानता हुन्छ। पीडाका कारणहरू फरक भएपनि पीडाका अनुभूतिहरू उस्तै हुन्छन्। फिरोजको दाइको कुरियर कम्पनीले त्यती राम्रो गर्न सकेको छैन। जिम्मेवारी ठूलो छ। फिरोजको परिवारको इस्लामावादमा एउटा घर किन्ने सपना छ। मलाई लागेको थियो, फिरोजको आफ्नै घर छ। घर हुनेहरुले बेघर हुनुको पीडा देखेका हुन्छन् तर त्यो पीडा लिएर बाँचेका हुँदैनन्। संयुक्त राष्ट्रसंघले सन २००५ मा गरेको सर्वेक्षण अनुसार यो संसारमा करिव सात अरवको संख्यामा रहेका मानिसहरू मध्ये एक अरब साठी करोड मान्छेसँग आफू र आफ्नो परिवारलाई राम्रो सँग ओत्ने घरवास छैन। तर कमसेकम, फिरोजको परिवार भाडामै भएपनि ओत मुनि बसेका छन्। यो सम्भव भने, फिरोज अष्ट्रेलिया आएदेखि नै भएको हो।
फिरोजको कथालाई उधिन्दै गर्दा मलाइ लाग्यो, घर र जग्गै नभएको मान्छेलाई कसरी सम्भव भयो अष्ट्रेलिया आउन? मैले मनमा लागेको कुरा मनमै रहन दिइन। फिरोजको बुवाको पनि जग्गा थियो। इस्लामावाद भन्दा अलि परको गाउँ तख्तावन्दमा। तर, दुर्भाग्यवश, गाऊँको किनार किनार बगेको छ स्वात नदी। किनाराकै छेऊमा थियो, फिरोजको खेत। फिरोजसँग खेतको, नदीको र यी सँग जोडिएको उनको बाल्यकालको सफा सम्झना छ। उनीलाई स्वात नदी निकै मन पर्थ्यो। त्यही सिकेका थिए उनीले पौडी खेल्न। खोलाको छेऊ खेत हुने परिवारको मान्छे म पनि हुँ। म फिरोज सँगै हेमजाको ढ्वाङ खोलाको छेऊमा भएको सिलिङ्घाटको खेतमा पुगेँ। असारको रोपाइँमा पुगेँ। पानी बग्ने कुलोलाई नछोइकन छोएँ। फिरोजले जब स्वात नदीले आफ्नो खेत बगाएको कुरा सुनाए मेरो मन बाँउडियो। फिरोज पनि भावुक रहेछन्। मैले सोध्दै नसोधिकन भने कि उनी त्यसपछि स्वात नदीमा कहिल्यै पौडिन गएनन्।
त्यसपछि फिरोजको परिवार इस्लामावाद सरे। बुवाले एउटा धान मिलमा काम गर्न थाले। फिरोज कलेज पढ्थे। फिरोजको दाइले कुरियर कम्पनी दर्ता गरे। शुरुमा राम्रो पनि भयो। पछि कुरियर सर्भिस धेरै खुले। यो सानो बिजनेसलाई बिस्तार गर्ने क्षमता फिरोजको परिवारमा थिएन। फिरोजका दाइले पैसा नकमाएपनि मान्छे कमाएका थिए। खोलाले बगाएको खेत धितो राखेर फिरोजको दाइले बैँकबाट फिरोजका लागि पेपर बनाइदिए। फिरोज अकाउन्टीङ पढ्न अष्ट्रेलिया आए। पढेर यहाँको पि आर पाए। तर पढे अनुसारको काम पाएनन्। फिरोजसँगको संवादसँग गुड्दै गर्दा, ट्याक्सी, पिकनिक पोइन्टमा आइसकेको थियो। घडीले रातीको दश बजिसक्यो ढिलो नगर् भनेर सम्झाइरहेको थियो। गाडी घर अगाडि अडिएपछि, इरा, इमा र जयन्ती ढोकामा उभिइसकेका थिए। मलाई भने फिरोजले अब के सोचेका छन् नजानिकन ओर्लिन मन लागेन। फिरोजले पनि झिजो नमानिकन म सँग कुरा गरिरहेका थिए।
इम्रान ले प्रधानमन्त्री निवास नबस्ने र निवासको भवनलाई शैक्षिक केन्द्र बनाउने भनेर गरेको उद्घोषको प्रभाव फिरोजमा पनि परेको थियो। उनी उत्साहित थिए, दुइ दशक संघर्ष गरेर पाकिस्तानी परम्परागत राननीतिको जालो पन्छाएर इम्रान पाकिस्तानको बाइसौँ प्रधानमन्त्री भएका छन्। फिरोजलाई लागेको छ, इम्रान लेजेन्ड हुन्। उनीसँग भ्रष्टाचार गर्नु पर्ने कुनै कारण छैन। फिरोजलाई एउटा मात्र डर छ, कि इम्रानलाई उनीसँग चिढिएका उग्रवादी र अरु लिडरहरूले उनको हत्या नगरुन्। इम्रानले जिते पछाडि, जित्नु अगाडिको तुलनामा, फिरोजको पाकिस्तान फर्किने हौशलाको आकार बदलिएको थियो। देशप्रतिको मायाले मात्रै जिन्दगी चल्दैन, यो फिरोजलाई राम्रो सँग थाहा छ। फिरोजले यतिखेर सकेसम्म पैसा जोगाइरहेका छन्। फिरोजको सपना म पनि फिरोज तिरै फर्किरहेको देखिरहेको छु। फिरोजलाई, आफ्नो कथा, म परको मान्छेलाई सुनाएकोमा मनभरीको धन्यवाद भन्दै म ट्याक्सीबाट निस्किएँ।
घर छिर्ने बित्तिकै जयन्तीले, किन ट्याक्सीभित्रै बस्नु भएको भनेर सोधिहालिन्।
“ट्याक्सी चालक राम्री र फरासिली रैछिन्, कुरा टुङ्ग्याउन मन लागेन”।
जयन्तीलाई फर्काएको यो जवाफले उनको अनुहारमा अलिकति मुस्कान ल्यादिएपनि, मन भने फिरोजकै कथाभित्र रुमलिइरहेको थियो।
इम्रान खानले पाकिस्तानको अनुहार फेरेको हेर्न वाँकि नै छ। अनुहार फेरिएला वा नफेरियाला। तर, फिरोज मियाँसँग एउटा बलियो आशा त छ, लोभ लाग्दो उत्साह त छ। एउटा नेताका कारण यसरी उत्साहित हुन पाउने अवसर नेपालीले कहिले पाउलान् ? पाकिस्तान र प्रिय फिरोज मियाँलाई धेरै धेरै बधाई।