लाहुरी टेलिभिजनको आयोजना भिजन फर मोटिभेसनको ब्यवस्थापन र नेप्लीज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाको सहयोगमा आगामी बुधबार हर्षभिलको अलावा पार्कमा तीजको विशेष कार्यक्रम हुने भएको छ।
कार्यक्रमका लागि नेपालबाट नायीका प्रीयंका कार्की र मेलिना राई आउने भएका छन्।
पशुपति शिबलिंग ल्याएर बिधिपूर्वक ब्राम्हणद्धारा पूजापाठ गरि तीज कार्यक्रम फरक तरिकाले मनाउन लागिएको आयोजकले जानकारी दिएको छ।
‘तीज महोत्सव’ नाम दिएको कार्यक्रमबाट उठेको केही रकम सिड्नीमा बन्न लागेको हिन्दु मन्दिरको लागि सहयोग गरिने भएको छ।
‘बास्तवमै बिभिन्न मन्दिरमा गएर पचासौं डलर दान दिएर तीजको पूजा गर्नुभन्दा साच्चीकी नेपालबाट पूजेर ल्याएको शिवलिंग स्थापना गरि आमा दिदी बहिनीले हरितालिका तिज मनाउन् भन्ने हाम्रो चाहना हो’, भिजन फर मोटिभेसनका महेश प्रशाइले सेतोपाटीसँग भने।
बिदेशमा बसेर हाम्रो कला संस्कृतीको रक्षा गर्ने क्रममा सहज र सरल रुपमा तिजको पूजाआजा गर्न पाउनुहोस् भन्ने चाहना राखेर तीजको दिन कार्यक्रम तय गरेका महेशले बताए।
यसैबीच तीज आउन केही समय बाँकी रहे पनि अस्ट्रेलियामा यसअघिनै तिजको नाममा कम्तीमा दुई दर्जन बढी कार्यक्रम सम्पन्न भइसकेका छन्। तर तीजको दिन पारेर भने यो पहिलो पटक यस्तो फरक तिज महोत्सव आयोजना गरिन लागेको आयोजक लाहुरी टीभीका जीवन डीसीले बताए।
‘गीत संगीत तीजको एउटा महत्वपूर्ण पाटो पनि हो त्योसँगै निःशुल्क रुपमा प्रवेशको ब्यवस्था गरेर नेपाली पण्डितहरुको उपस्थितिमा शिवलिंग स्थपना गरेर तिजलाई बिशेष बनाउने हाम्रो लक्ष्य हो,’ जीवनले भने।
पछिल्लो समय सिड्नीमा नेपाली समाज बाक्लिँदै गए पनि आफ्नै हिन्दु मन्दिर अहिलेसम्म बन्न सकेको छैन। कतिपय भारतीय समाजको निजी मन्दिरमै गएर भए पनि नेपालीहरुले यो पर्व मनाउदै आएका छन्।
‘हाम्रो मुख्य लक्ष्य भनेको नेपालीको स्वामित्वमा रहने गरी सिड्नीमा हिन्दु मन्दिर स्थापना गर्नु हो,’ नेप्लीज अस्ट्रेलियन हिन्दु सोसाइटीका पण्डीत प्रकाश ढोडारीले सेतोपाटीसँग भने, ‘हाम्रो हिन्दुत्वको रक्षा हामीलेनै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो , त्यसैले पनि यस पटकको हरितालिका तीज पर्वलाई बिशेष रुपमा मनाउन फरक शैली अपनाएका हौ।’