चार महिनाअघि अचानक टाउको दुख्ने रोगले थलिएपछि न्यूसाउथवेल्सको डब्बोमा बसोबास गर्दै आएका बिदुर कर्माचार्यको परिवारले अनाहकमा ठूलो बज्रपात सहनुपरेको छ।
लाउने खाने उमेरमा अस्ट्रेलियामा रहेका चापागाउँका बिदुरलाई चिकित्सकले अचानक ब्रेन क्यान्सर ठहर गरेपछि उनको परिवार यतिखेर बिलखबन्दनमा परेको छ।
दुई छोराका बाबु बिदुर यतिखेर ब्रेन क्यान्सको तेस्रो चरणवाट गुज्रिरहेको चिकित्सकको ठहर छ। सिड्नीबाट पाँच घन्टाको यात्रामा रहेको डब्बोमा कामकाजमा रहेको यो परिबार अचानक यस्तो समाचारपछि हाल सिड्नीमा आएर रोगसँग लडिरहेको छ। यस्तो विषम परिस्थितिमा क्रिस ओवराय लाइफ हाउसमा जिवनसँग लडदै गर्दा बिदुरका एक अस्ट्रेलियन साथी भने उनको ज्यान बचाउने दुई सय पचास किलोमिटरको साहसिक यात्रामा निक्लने घोषणा गरेका छन्।
सन् २००९ मा अस्ट्रेलिया आइपुगेका बिदुरलाई नजिकबाट माया गर्ने अस्ट्रेलियन साथी म्याट लोयड उनीहरूको उपचारमा सहयोग गर्न आर्थिक सहयोग जुटाउन न्यूसाउथवेल्सको न्यूक्यासलबाट सिड्नीसम्मको २ सय ५० किलोमिटर हिँडेर पार गर्ने योजनामा छन्।
एउटा नेपाली साथीको ज्यान बचाउन लोयडको यो प्रयास साच्चीकै प्रशंसनीय छ। उनले यो पैदलयात्राबाट करिब दश हजार डलर रकम उठाउने आशा राखेका छन्।
यही सेप्टेम्बर १३ तारिखका दिन सुरू हुने उनको यात्रा सेप्टेम्बर २३ तारिखमा आएर दश दिनमा टुंगिनेछ।
विदुरलाई नेपालमै भेटेको र अत्यन्तै मिल्ने साथी भएकाले पनि आफू सहयोग संकलनमा लागेको म्याटले बताए। ‘विदुरजस्तो मिल्ने नेपाली साथी पाउन एकदमै मूश्किल पर्छ,’ उनले सेतोपाटीसँग भने, ‘यसैका लागि पनि म उनलाई बचाउन र परिवारलाई सहयोग गर्न यो अभियानमा लागेको हुँ।’
यस दौड अभियानमा करिब १ सय जनाले न्यूनतम १० डलरदेखि ५ सय डलरसम्म सहयोग गरिसकेका छन्। सहयोग अभियान अझै २ साता बढी चल्ने भएकाले थप रकम जुट्ने विश्वासमा बिश्वस्त छन् म्याट।
एउटा नेपाली साथी बिरामी भएर थलिदाँ उनको सहयोगमा जुट्ने अस्ट्रेलियन साथीको अभियान साच्चीकै सम्मानजनक छ।
सेप्टेम्बर २३ मा पचास वर्ष पुग्ने म्याटले विदुरसँगै अस्पतालमा गएर आफ्नो जन्मदिन मनाउने योजनामा छन्।
‘मैले प्रिय नेपाली साथी जो बाँच्नका लागि संघर्षरत छ, उसकै जीवनको कामना गर्दै जन्मदिन मनाउने निर्णय गरेको छु,’ उनले भने।
विशेषज्ञ डाक्टरहरूबाट नियमित उपचार गराइरहनुपर्ने आर्थिक संकटबाट गुज्रिरहेको भए पनि कसैलाई सार्वजनिक रूपमा सहयोगको आग्रह नगरेको बिदुरकी श्रीमती बीनु कर्माचार्यले बताइन्।
म्याटको यो आर्थिक सहयोग अभियान साच्चीकै अभुतपूर्व रहेको भन्दै नउले भनिन्,‘हामी आफैंले बचाएको अलिकती रकम खर्च गरेर उपचारमा संघर्ष गरिहरँदा एउटा अस्ट्रेलियन साथीले हाम्रो परिवारमाथि देखाएको यो माया अतुलनीय छ।’
हाल बिदुरको क्यान्सरले पक्षघातसमेत भइसकेको बताउँदै बिनुले बायाँ भाग नचल्ने भएपछि थप समस्यामा परेका उनले बताइन्।
म्याटको अभियानमा सहयोग पुर्याउन र उनको पैदलयात्रा टुंगिने दिन सेप्टेम्बर २३ मा सिड्नीको सर्कुलर कि मा उपस्थित भइदिन बिनुले सबै नेपाली समाजका सदस्यहरुलाई आग्रह गरेकी छन्।