दाह्री ग्याङ,अष्ट्रेलियाले पहिलोपटक अष्ट्रेलियामा रहेका युवाहरूको उपस्थितिमा सामाजिक सहकार्यका लागि अन्तरक्रियात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ।
ग्याङका अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा टेम्पे पार्कमा आयोजित कार्यक्रममा सचिव सरोज भण्डारीले स्वागत मन्तव्यसहित दाह्री ग्याङ, अष्ट्रेलियाको स्थापनाको सन्दर्भका विषयमा संक्षिप्त जानकारी गराए।
अध्यक्ष पौडेलले दाह्री ग्याङ अष्ट्रेलियाको स्थापना, कार्यक्रमको उद्देश्य, आगामी योजनाहरू लगायतका विषयमा प्रष्ट पारे।
‘टुगेदर वि क्यान’ भन्ने मूल नाराका साथ गरिएको कार्यक्रममा दाह्री ग्याङको पहिचान गराउने गीत दाह्री ग्याङ अष्ट्रेलिया, एन्थमको सार्वजनिकीकरण ग्याङका सदस्य आशिष चाम्लिङ राईले गरे।
साथै, आगामी कार्यक्रमहरूमा रक्तदान, फोटो प्रतियोगिता, सहयोग संकलन लगायतका कार्यक्रमहरूको घोषणासहित सामाजिक सहकार्यका लागि सहभागिता र एक आपसमा परेका समस्याप्रति उत्तरदायी हुँदै सामूहिक रूपमा समाधानका लागि लागिपर्न अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायहरूलाई ग्याङमार्फत् एकजुट हुन आह्वान गरिएको थियो।