गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने ‘नेपाल महोत्सव’ यस पटक नोभेम्बर २४ मा मनाउने भएको छ।
सोमबार स्थानीय इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनका उपाध्यक्ष तथा सिड्नी महोत्सव तयारी समितिका संयोजक नन्द गुरूङले महोत्सवको तयारी तिब्र भएको भन्दै भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए।
उनले यस पटक महोत्सव अगावै मुलुक चिनाउने अभियानमा सिड्नी शहरका सडकमा नेपाली झन्डा फहराउने ब्यवस्था गरिएको बताए।
यस पटक महोत्सवको कुल खर्च एक करोड २९ लाख रहेको र आम्दानी भने एक करोड ४३ लाख हुने बताउदै संयोजक नन्द गुरूङले यसका लागि सबैखाले तयारी पुरा भइसकेको जानकारी गराए।
उनले महोत्सवमा प्रमुख अतिथिका रुपमा अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री डेविड कोलम्यान हुनेछन्। यसै गरी सांसद जुल फीन र लेबरका नेता लुक फोयले पनि सहभागिता पक्का गरिसकेको गुरूङले जानकारी दिए।
कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, लेबरका नेता बिल सर्टन सांसद मिचेल रोलान्डलाई निमन्त्रण गरिएको बताउँदै गुरुङले भने यस पटक मुलुक चिनाउने महोत्सव साच्चीक्कै सोचेजस्तो हुने दाबी गरे।
उनले कार्यक्रममा अस्ट्रेलियन डान्स समूहको सहभागिता हुने साथै नेपालबाट राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरूङ, पुशपति शर्मा, आँचल शर्माको सहभागिता हुने पक्का भइसकेको बताए।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै गुरूङले कलाकार छनोटदेखि अन्य विषयमा सम्वन्धित समितिको राय सल्लाहमा काम गरेको बताउँदै यस्ता विषयमा सबैको फरक फरक राय हुनाले एकरूपता हुन निकै कठिन हुने बताए।
गुरुङले नेपाल महोत्सव मुलुकको पर्वधन गर्ने महोत्सव भएको हुँदा सबैले यसमा सहभागिता जनाएर अगाडि बढ्नुपर्ने बेला आएको बताए।
उनले महोत्सव एनआरएनको कार्यक्रम भए पनि समुदायको सामुहिक सहभागिता महत्वपूर्ण रहने बताए। कार्यक्रममा एनआरएनका प्रवक्ता डिला खरेलले प्रायोजक खोज्ने कार्य भइरहेको र अझसम्मको अवस्थामा महोत्सवलाई सफल बनाउन सबैको समान दायीत्व भएकोले सबैवाट सहयोगको अपेक्षा गरेको बताए।
उनले महोत्सवमा मुलुकको कला, संस्कृति र खाना लगायतको प्रर्वधनका लागि ब्यवस्थापन गरिएको र बिशेषगरी यस पटक बिदेशी दर्शकको सहभागितामा जोड दिइएको बताए।
खरेलले महोत्सववाट एनआरएनले करिब १५ हजार डलर बचत गर्ने योजना समेत बनाएको सुनाए।
कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष गोवा कटुवालले नेपाल महोत्सवले भब्य रुपमा लिदै गर्दा यसको महत्वका बिषयमा ध्यान दिनुपर्ने बताउँदै अहिलेको टिमले निकै मिहिनेतका साथ यसलाई अगाडि बढाएको बताए।
नेपाली समाजका अगुवा नारायण प्रधानले कुनै बेला नेपाल भन्यो भने इटालीको नेपल्स हो भन्ने सिड्नीमा अहिले नेपाल सबैको परिचित देश बनेको स्मरण गर्दै फैलिदै गएको नेपाली समाज र नेपाल महोत्सवले मुलुकलाई अस्ट्रेलियामा चिनाउने काम गरेको दाबी गरे।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्वउपाध्यक्ष दिनेश पोखरेलले महोत्सवलाई यहाँ रहेका सबै नेपाली संघ संगठनहरुको कार्यक्रमका रुपमा अगाडि बढाइए यसले भब्य रुप ग्रहण गर्ने हुनाले सबैलाई समेटेर अगाडि बढन आग्रह गरे।
पत्रकार सम्मेलनमा प्रयोजक मल्टी डाइनामीकका निर्देशक मेघराज पौडेलले नेपाली समाजबाट केही पाउँदै गर्दा समाजलाई पनि केही दिनुपर्छ भन्ने भावनाको कदर गर्दै एनआरएनसँग महोत्सवको मुख्य प्रायोजकका रुपमा आफूहरूले हातेमालो गरेको बताए।
‘हामीले केही पाएका छौ भने लगानी पनि गर्न सक्नुपर्छ र आयोजकले प्रायोजकको प्रर्वधन गर्न सके दुबैको हित हुन्छ,’ पौडेलले भने। कार्यक्रममा नेपालको चिनारी दिने नेपाल हाउसको बारेमा यसकी संयोजक सुधिरा शाहले देशसँगै हाम्रो पहिचानका विषयमा बिशेष प्रस्तुती रहने बताइन्।
कार्यक्रममा एनएसब्लुका पर्यटनदूत बद्री अर्यालले मुलुकको पहिचानसँग जोडिएको यस महोत्सवमा आफ्नो छबि बिग्रने काम नगर्न आग्रह गरे।
कार्यक्रममा एनआरएनका सदस्य सुरेश रेग्मीले स्वागत र एनएसडब्लुका उप संयोजक अर्जुन केसीले सहभागि तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए।