नेपाल एम्बेसी कप फुटबलको उपाधि अल्बरीको थ्रीस्टार क्लबले जितेको छ।
क्यानबेरा नेप्लीज फुटबल क्लबको आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न राइट एन्ड एशोसियट्स सीएनएफसी नेपाल एम्बेसी कप फुटबलको उपाधि थ्रीस्टारले जितेको हो।
सिड्नीको नेपाली मुलका भुटानीको बाक्लो बस्ती रहेको बेनी फुटबल क्लबलाई सडन डेथमा हराउँदै युवाहरूले भरिएको थ्री स्टारले उपाधि रक्षा गर्यो।
फाइनलमा निर्धारित समय र थप समयमा पनि दुबै टीमले गोल गर्न नसकेपछि खेलको निर्णय सडेन डेथबाट गरिएको थियो।
साविक विजेता थ्रीस्टारले यसअघिको संसकरणमा पनि नेपाल एम्बेसी कप उचालेको थियो।
क्वार्टर फाइनलमा मेलवर्नको यती एफसीलाई पराजित गरेको थ्रीस्टारले टिम वर्कको कुशल प्रर्दशन जारी राख्दा उपाधि हात पारेको थियो।
नेपाली राष्ट्रिय टोलीमासमेत देखिसकेका शुलभ मास्के र अनिल ओझा सम्मिलित यती झीनो अन्तरले क्वार्टरफाइनलवाटै बाहिरिएको थियो।
लगातार खेलेर फाइनलमा पुगेका दुबै टोलीका खेलाडी उपाधि भिडन्तमा भने निकै थकित देखिन्थे। खेल अवधिभर गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न नसक्दा बेनी उपाधिबाट बाहिरियो।
केहि प्रशंसक सहित क्यानबेरा पुगेको बेनी एफसीको खेल आक्रमक देखिए पनि तालमेलको अभाव देखिन्थ्यो।
यता सबै एकै उमेर र उस्तै उचाइका अल्बरीको युवा टीममा भने टीम स्पीरीटको बेजोड प्रस्तुतिका कारण जित हात पारेको थियो।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा , समाजिक अभियन्ता कृष्ण हमाल, एनआरएनका उपाध्यक्ष राजन बस्नेत तथा राइट एन्ड एशोसियट्सका निर्देशक परशुराम अधिकारीले पदक ,ट्रफी तथा प्रमाणपत्र प्रदान गरे।
राजदूत शेर्पाले खेलकुद स्वास्थका लागि मात्र नभए राष्ट्रको पहिचानका लागि पनि महत्वपूर्ण माध्यम बनेको बताउदै विजयी टोलीलाई बधाइ तथा पराजित टोलीलाई आगामी दिनको लागि शुभकामना दिइन्।
कार्यक्रममा क्लबका अध्यक्ष नबिन दाहालले प्रायोजक तथा सहयोगीलाई धन्यबाद दिए।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टोलीले चार हजार डलर र ट्रफी तथा दोस्रो स्थान हात पार्नेले दुई हजार डलर र उपविजेताको सिल्ड प्राप्त गरेको क्लबका सल्लाहकार चुडामणि सापकोटाले बताए।