सिड्नीमा ‘इन्टु मिन्टु लन्डनमा’ नामक सिनेमा देखाइने भएको छ।
एजुकेशन एन्ड माइग्रेशन सेन्टर सिड्नीको आयोजना तथा हार्बर कलेजको मुख्य प्रायोजनमा यही आउँदो अक्टोबर १२ तारिखमा सिनेमा देखाइने भएको हो।
सिड्नीका बर्उडस्थित इभेन्ट सिनेमामा चलचित्रकी नायिका साम्राज्ञीसहित चलचित्रको प्रदर्शन गर्न लागिएको एजुकेशन एन्ड माइग्रेशन सेन्टरका निर्देशक सुनिल उप्रेतीले बताए।
आइकोर फिल्मसको ब्यानरमा प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्देशित फिल्ममा धिरज मगर, सारुक ताम्राकार, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईं, मेनिशा गुरुङलगायतले अभिनय गरेका छन्।
वसन्त सापकोटा, संजिल कर्माचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनसमेतको संगीतकार रहेको फिल्म शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् भने कृष्ण भण्डारीको सम्पादन रहेको छ। निर्देशक रेनेशा वान्तवा राई रहेका छन ।
काठमाडौंमा निकै राम्रो व्यापार गरेको यो चलिचित्र नायिका साम्राज्ञी ब्रान्ड एम्बेस्डर रहेको माइग्रेशन एन्ड एजुशेकन सेन्टरले प्रमोशनका लागि अष्ट्रेलिया ल्याउन लागेको हो।
‘नेपालमा निकै रुचाइएको यो चलचित्रलाई अष्ट्रेलियाका नेपाली दर्शकले पनि मन पराउनु हुनेछ भन्ने बिश्वास लिएको छु’, निर्देशक सुनिलले भने ।
चलचित्र सिड्नी लगायत अष्ट्रेलियाका अन्य सहरमा समेत प्रदर्शनको व्यवस्था मिलाइएको सुनिलले बताए ।