गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न भएको छ।
सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा ‘भब्य काईट फेष्टिभल’ सम्पन्न भएको हो। महोत्सवमा चंगा उडानका साथै नेपालको मौलिक संस्कृति झल्कने लाखे नाच, इद्र जात्राको रथ, पुलुकिसी नाँच, कुमारी यात्रालगाएत खानाका र ब्यवसायिक स्टलहरु समेत रहेको आयोजक संस्था गुठी अष्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठले बताए।
कार्यक्रम मध्यान्न १२ बजेदेखि राति ९ बजे सम्म चलेको थियो। चङ्गा महोत्सवको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाली समाज पनि बहुसांस्कृतिक समाज भएकोले यस्ता कार्यक्रमहरुले अस्ट्रेलियामा नेपाली संस्कृति प्रवर्धन गर्न निकै महत्वपूर्ण हुने बताईन्।
कार्यक्रमका विशेष अतिथि रकडेल क्षेत्रका सांसद स्टिभ क्याम्परले नेपाली समुदाय निकै मिहेनती, सीपयुक्त र इमान्दार भएको बताउँदै समुदायको सहयोगका गर्न आफू सधै तत्पर रहेको बताए।
बेसाइड काउन्सिलका मेयर बिल सारभिनोस्कीले काउन्सिलमा नेपाली समुदायको संख्या उल्लेख्य रुपमा बृद्धि भएको बताए। प्रत्येक साता रकडेल र आसपा नेपाली समुदायको नयाँ ब्यवसाय खुल्ने गरेको मेयर बिलको भनाई थियो।
उनले चाँडैनै बे साइड काउन्सिल र नेपालको कुनै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नेबारे घोषणा हुने बताए। गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य प्रायोजक ओली एण्ड एसोसिएटका निर्देशक अन्जना ओलीले नेपाल प्रवर्धन गर्ने यस्तो कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरिन्।
कार्यक्रमको मुख्य आकर्षण गायक दिपक बज्राचार्य र उनको ब्याण्ड रिदमको प्रस्तुति थियो। यो कार्यक्रममा सहभागि हुन गायक बज्राचार्य चार जना ब्याण्ड मेम्बरसहित सिड्नी आएका थिए।
उनको पछिल्लो गीत मन मगन निकै चर्चामा छ। उक्त कार्यक्रममा नेपालीहरु मात्र नभई स्थानीय समुदायको पनि बाक्लो सहभागिता थियो।
तस्बिरहरूः गुठी अष्ट्रेलिया