‘पहिलोपटक मेरो मनलाई शान्ति मिलेको छ। आज मैले मेरी छोरीको बलात्कारी तथा हत्यारालाई आफ्नै आँखाले फाँसीमा तड्पिरहेको देख्न पाएँ। आज मेरो छोरीले न्याय पाएको र उनको आत्मालाई शान्ति मिलेको महसुस गरेको छु,’ यी वाक्य पाकिस्तानका मोहम्मद अमिन अन्सारीले आफ्नी ६ वर्षीया छोरी जैनब अन्सारीको बलात्कारपछि हत्या गर्ने इमरान अलीलाई फाँसी दिएको आफ्नै आँखाले हेरेपछि मिडियासँग कुराकानीका क्रममा भनेको कुरा बिबिसीले उद्धृत गर्दै लेखेको थियो।
जैनब अन्सारी पाकिस्तानको पञ्जाब प्रान्तको कसुर क्षेत्रमा वसोवास गर्ने ६ वर्षकी सुन्दर बालिका थिइन्। उनलाई अन्तिम पटक ४ जनवरी २०१८ को दिन आफ्नै घरमा खेलिरहेको देखिएको थियो। त्यस बेला उनका बाबुआमा मक्कामा हजका लागि गएका थिए भने उनी परिवारका अन्य सदस्यहरूसँग वसोवास गरिरहेकी थिइन्।
त्यो कालो दिनको साँझसम्म उनी घर नफर्केपछि सबैजना मिलेर उनको सोधखोज गरे। कही कतै नभेटेपछि प्रहरीलाई गुहारियो। प्रहरीले पनि कही कतै उनलाई फेला पार्न सकेन। उनी हराएको पाँच दिनपछि आफ्नै घरदेखि केही मिटरको दुरीमा रहेको फोहोर फाल्ने ठाउँमा उनको लाश फेला परेको थियो।
उक्त लाशको पोष्टमोर्टमपश्चात् जैनबको निर्ममतापूर्वक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो।
यो घटनाले पूरै पाकिस्तानलाई हल्लाएको थियो जसरी नेपाललाई निर्मला बलात्कारपछि हत्या काण्डले हल्लाएको थियो। पाकिस्तानभर यस घटनाको विरोधमा र्याली, प्रदर्शन र सामाजिक सञ्जालमा अभियान नै चलेको थियो।
यस घटनाको निष्पक्ष छानविन गरी दोषिलाई तुरुन्त पक्राउ गर्नका लागि पाकिस्तानी प्रहरीलाई पनि निकै दबाब थियो। चौतर्फी विरोध भएपछि पाकिस्तानी उच्च अदालतले अपराधी पत्ता लगाउन ७२ घण्टाको म्याद समेत दिएको थियो।
आफ्ना सम्पूर्ण परम्परागत उपाय र तरिकाहरू अपनाउँदा पनि अपराधी पत्ता लगाउन नसकेपछि पाकिस्तानी प्रहरीले अपराधी पत्ता लगाउनका निमित्त कहिल्यै नगरिएको नौलो तरिका अपनाएको थियो। जसअनुसार जैनब अन्सारी बसोबास गर्ने क्षेत्रको साढे दुई किलोमिटरको रेडियसभित्र जति पनि १५ वर्षदेखि ५० वर्षसम्मका पुरुषहरू थिए, तिनीहरू सबैको डिएनएको नमूना लिएर जैनबको मृत शरीरमा प्राप्त डिएनएसँग तुलना गर्ने निर्णय गरियो।
यसरी डिएनए लिँदा जम्मा १ हजार १ सय ५० जनाको नमूना लिने लिष्ट तयार भयो र मिति र स्थान समेत तोकियो। डिएनए नमूना लिने दिन १ हजार १ सय ४९ जना उपस्थित भए तर एकजना उपस्थित भएनन्। प्रहरीले उक्त व्यक्तिलाई खोजेर डिएनए म्याच गरेपछि २४ वर्षीय इमरान अलीलाई पक्राउ गरेको थियो। ऊ जैनबकै घरनजिकै बस्ने र सामान्य चिनजानका व्यक्ति नै थियो।
प्रहरीका अनुसार कसुर क्षेत्रमा विगत दुई वर्षमा अन्य बलात्कार र हत्याका घटनाहरू पनि भएका थिए र डिएनए परीक्षण गरेपछि इमारान अलीको डिएनए अरू सातवटा बलात्कार र हत्या भएका बालबालिकासँग भेट्टाइएको डिएनएसँग समेत मेल खाएको थियो।
अनुसन्धानपछि इमरान अलीले सात जना बालिकालाई बलात्कार र हत्या गरेको स्वीकार गरेको थियो। जैनब हराएको करिब १ महिनापछि अर्थात् २३ फेब्रुअरी २०१८ का दिन पाकिस्तानी अदालतले इमरान अलीलाई डिएनए परीक्षणलाई प्रमुख आधार बनाएर दोषि साबित गर्दै फाँसीद्वारा मृत्युदण्डको सजाय सुनाएको थियो।
घटनाको ९ महिनापछि अर्थात् १७ अक्टोबर २०१८ का दिन इमरान अलीलाई फाँसी दिएर मृत्युदण्ड दिएको कुरा प्रहरीले जनाएको थियो।
जैनबको बलात्कार र हत्या प्रकरण पाकिस्तानको अपराध अनुसन्धानको इतिहासमा धेरै कुराले नौलो मानिएको थियो। अपराध घटेपछि देशभर तरङ्ग फैलनु, प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानु, प्रहरीले अपराधी समात्न ब्यापक स्तरमा प्रहरी र अनुसन्धानकर्मी परिचालन गर्नु, १ महिनाभित्र अपराधी पत्ता लगाएर अदालतद्वारा सजाय सुनाइनु, उच्च अदालतमा रिट तथा राष्ट्रपतिलाई माफीका लागि निवेदन दिए पनि माफी नदिनु र अपराधीलाई ९ महिनाभित्रै फाँसी दिइनु पाकिस्तानकै इतिहासमा नौलो उदाहरण समेत बनेको थियो।
यो प्रकरणले नेपालको कञ्चनपुरमा घटेको निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई पनि सम्झना गराउँछ। पाकिस्तानमा भएको यस घटनाको करिब ६ महिनापछि अर्थात् जुलाई २६ ,२०१८ का दिन निर्मला पन्तलाई अन्तिमपल्ट उनकै घरमा देखिएको थियो। त्यसदिन बिहीबार आफ्नी संगी रोशनी बमको घरमा जानका लागि भनेर निस्किएकी थिइन्।
उनको लाशलाई अर्को दिन अर्थात् शुक्रबार बिहान उनकै घरदेखि करिब १ किलोमिटर टाढा उखुबारीमा भेटिएको थियो। पोष्टमार्टमपश्चात् उनलाई बलात्कार गरेर हत्या गरिएको पुष्टि भएको थियो।
नेपालमा पनि पाकिस्तानमा जस्तै जनलहर उर्लेर अपराधी पत्ता लगाउनका निमित्त दबाब सिर्जना भएकै थियो। सडकमा प्रदर्शनका क्रममा ज्यान गएकै थियो। सामाजिक सञ्जालमा तथा देशैभरि व्यापक दनदबाव सिर्जना भएकै थियो। तर, अपराधी पत्ता लगाउनका निम्ति सरकारले जुन स्तरको चासो र अनुसन्धान गर्नुपर्दथ्यो कमसेकम शुरूका दिनमा त्यस्तो तदारूकता देखिएन।
पछि जति पनि अनुसन्धान गरिए, त्यसले अपराधी पत्ता लगाउन सकेन वा अनुसन्धानलाई जनदबाबका हिसाबले जति व्यापक रूपमा गर्नुपर्ने थियो, त्यस्तो व्यापकता दिएको कमसेकम जनताले आभाष पाउन सकेनन्।
प्रहरीले गरेको शुरुका अनुसन्धानले प्रमाणहरू नष्ट गर्न र हतारमा निर्दोषलाई कठघरामा पुर्याउने काम गर्यो जसले गर्दा जनमानसमा प्रहरीले आफ्नो साख झन् गुमाउँदै गयो। यसले गर्दा प्रहरीको अनुसन्धान गर्ने तालीम र प्रक्रियामैँ प्रश्न पनि उठेको थियो। यो घटना भएको करिब तीन महिना बित्न लाग्दा पनि अपराधी पत्ता लाग्न नसक्नु अत्यन्तै दुःखलाग्दो र न्यायप्रेमी जनताका लागि गतिलो झापड बनेको छ। आज आम मानिसले प्रश्न गर्दैछन् – आखिर किन अपराधी पत्ता लगाउन सकिएन? किन सरकारले गतिलो जवाफ दिन सकिरहेको छैन?” कानुनी राज्यको यति विघ्न उपहास भैरहँदा पनि सरकारले आफ्ना काम र कारवाहीलाई बचाउ गर्नुबाहेक अन्य काम गरेको जनताले महसुस गरेका छैनन्।
अझ दुःखलाग्दो कुरा त जुन रूपमा निर्मलाको निम्ति आवाज पहिले चारैतिरबाट आएको थियो, अहिले त्यो आवाज मन्द हुँदै गएको छ। सरकारले अनुसन्धानमा संलग्न केही प्रहरीलाई कारवाहीको सिफारिस गरेर रगतले पोतिएको अनुहार सफा पार्ने चेष्टा गर्न त लागेको होइन भन्ने प्रश्न उठेको छ।
सरकार बहिरोजस्तै बनेर जनताको आवाज सुनेको नसुने झैँ गरिरहेको छ। यो न्यायको लडाइँ निर्मलाको आत्माको शान्तिको लागि मात्र होइन, प्रहरी र सरकारले आफ्नो झुकेको शिर र साख जोगाउनको लागि मात्र पनि होइन, सम्पूर्ण न्यायप्रेमी जनतालाई शान्ति कानुन र न्यायको राज्यको प्रत्याभूति गराउनको निम्ति अत्यावश्यक भइसकेको छ।
बहिरो सरकारको बन्द भएको कानलाई उघार्न हरेक क्षेत्रबाट उठेको दबाबलाई कायम गर्नुपर्छ, जबसम्म सरकारले निर्मलालाई न्याय दिँदैन।