करिब एक दशक लामो समयदेखि नर्दन टेरीटोरी डार्विनको बहुसांस्कृतिक समुदायमा योगदान गरेबापत नेपाली युवा नितेश राज पन्त अष्ट्रेलियामा सम्मानित भएका छन्।
२२ अक्टोवर मंगलबार नर्दन टेरीटोरी पार्लियामेन्ट हाउसमा आयोजित विशेष समारोहमा राज्य सरकारको बहुसांस्कृतिक मामिला मन्त्री डेल वेकफिलडले पन्तलाई बहुसांस्कृतिक पुरस्कार प्रदान गरेकी हुन्।
बहुसांस्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीको आयोजनामा यो पुरस्कार बितरण समारोह भएको हो। डार्विनमा समावेसी र समतापूर्ण बहुसांस्कृतिक समुदाय निमार्ण गर्न पन्तले पुर्याएको योगदानलाई कदर गर्दै बहुसांस्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीले यो सम्मान गरेको हो।
सन् २००६ मा अस्ट्रेलिया आएका पन्त ३ वर्ष सिड्नी बसाइपछि डार्विन सरेका थिए।
उनले सन् २०१० देखि २०१४ सम्म बहुसांस्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीमा काम गरेका थिए। त्यो समयमा उनले बिभिन्न नव आप्रवासी समुदायलाई अस्ट्रेलियामा सहज बसोवास गर्न मद्दत गर्ने ‘पासपोर्ट टु ड्राइभ’ कार्यक्रम सञ्चालन गरेका थिए।
यस्तै पन्तले नै शुरु गरेको ‘माइग्रेन्ट फोर माइग्रेन्ट’ कार्यक्रमले मल्टिमिडिया प्लेटफम मार्फत बहुसांस्कृतिक समुदायलाई नजिक ल्याउन सघाएको थियो।
नवआप्रवासी समुदायलाई सवारी चालक अनुमति पत्र पाउन सहयोग गर्ने उद्देश्यले ड्राइभिङ थोरी प्रोगाम पनि उनले सञ्चामालन ल्याएका थिए।
उनी अहिले पनि ‘फ्यूजन लाइफस्टाइल शो’ परियोजनामा काम गर्दैछन्। यो कार्यक्रम अन्तर्गत उत्पादन भएको भिडियो कार्यक्रम अस्ट्रेलियाका बिभिन्न सामुदायिक टिभिहरुमा प्रसारण हुन्छ।
२५ वर्ष भन्दा माथि उमेर ब्यक्तिगत समूहमा पन्तले यो अवार्ड प्राप्त गरेका हुन्।