सिड्नीको रकडेल क्षेत्रमा बसोबास गर्दै आएका रामचन्द्र खड्काको परिवार यतिखेर बिलखबन्धनमा परेको छ।
श्रीमान रामचन्द्र खड्का हराएको ४८ दिन बितिसक्दा पनि उनको अत्तोपत्तो नपाएपछि श्रीमती सोभा खड्का नेपाली समाजसम्म हारगुहार गर्दै हिँडिरहेकी छिन्।
हुन त एउटा नेपाली नागरिक बिदेशमा हराइरहँदा त्यसको प्रत्यक्ष निगरानी राख्ने र सोधखोज गर्ने नेपाली राजदूतावासको कर्तब्य पनि हो। यसमा दूतावास गम्भीर भएकै होला। तर, पनि श्रीमान हराएको पीडामा छटपटाएकी श्रीमती शोभा खड्का यतिखेर एनआरएन अस्ट्रेलियामा सहयोग माग्न आइपुगेकी छिन्।
आज ४८ दिन भयो, केही त पत्तो लाग्नुपर्ने केही खबर छैन। पेष्ट कन्ट्रोल र रेस्टुरेन्ट ब्यवसायमा संलग्न रामचन्द्र मिलनसार र मृदुभाषी रहेको उनलाई चिन्ने जो कोहीले पनि बताँउछन्। तर, अचानक नयाँ रेस्टुरेन्ट खोलेकै दिन सेप्टेम्बर दश तारिखमा रामचन्द्र बेपत्ता भए पछि आजसम्म पनि उनको बारेमा कुनै जानकारी आएको छैन।
प्रहरी अनुसन्धानको अन्तिम बिन्दुका रूपमा उनले बोकेको बिजनेश कार्डबाट बोन्डाइ बिच क्षेत्रमा सोही दिन केही पेय पदार्थ किनेको देखिन्छ। त्यसपछि रामचन्द्र कहाँ गए भन्ने बारे अझसम्म कुनै थप जानकारी आउन नसकेको श्रीमती शोभा खड्का बताउछिन्।
अस्ट्रेलिया जस्तो बिकसित देशमा मान्छे हराएको झन्डै दुई महिना बितिसक्दा पनि कुनै अत्तोपत्तो नहुनु आश्चर्यका रूपमा रहेको छ। ‘हाम्रो परिबारले नेपालबाटसमेत राजदूतावासमा छानबिन अगाडि बढाउन सहयोगका लागि पत्र पठाएका थियौं, एक पटक राजदूतावासवाट फोन आएको थियो, त्यसपछि आफैं भौतारिदै छुँ,’ शोभाले गहभरी आँशु पार्दै सेतोपाटीसँग भनिन्, ‘रकडेलमा रेस्टुरेन्ट ब्यवशाय सुरु गरेकै दिन अलि बिसन्चो भयो भनेर घर आउनु भएको थियो, घरमा पनि एक छिन बसेर बाहिर लागेको अहिलेसम्म फर्कनु भएन।’
तीन छोराका बाबु रामचन्द्र अचानक हराएपछि उनको बिजनेश र घर दुबै लथालिंग भएको छ। तिनै छोराहरु चिन्तित छन्। ‘छोराहरु समेत बाबुको खोजिमा बोन्डाइ क्षेत्रमा गए पनि कुनै नयाँ खबर पाउन सकेको छैन, अब यसको पहलका लागि नेपाली समाज र एनआरएनले सहयोग गरिदिनुपर्यो,’ शोभाले पीडाका भाव सुनाइन्।
यो घटनालाई नियालीरहेका प्रहरी अधिकृत र परिवारलाई सम्पर्क गरिरहेका भन्दै न्युसाउथवेल्सका महाबाणिज्यदूत दीपक खड्काले अझसम्म कुनै निर्णायक खबर आइसकेको बताए।
एनआरएनका उपाध्यक्ष नन्द गुरूङले पर्चा पम्पलेटसँगै खड्काको खोजी कार्यसमेत अगाडि बढाइने बताए। उनले राजदूतावास र महाबाणिज्यदूतलाई सक्रिय बनाएर यहाँको सरकारसँग पनि खोजिका लागि आब्हान गर्ने अभियान चलाइने बताए।
एनआरएनका पूर्व युवासंयोजक विजय पोखरेल, एनआरएन आइसीसी सदस्य जानकी पौडेल, एनआरएन सचिव देब गुरूङ, ग्रानभिलसमाजका अध्यक्ष रमेश थापा, चितवन समाजका अध्यक्ष छबी सापकोटा, समाजिक अगुवाहरु बुद्धी डल्लाकोटी, डिल्ली ढकालल, शिव श्रेष्ठलगायतले खोजि कार्य तिब्र पार्न दबाब सृजना गर्ने र एनआरएनको पहलमा राजदूतावास तथा महाबाणिज्यदूतावाससँग समन्वय गर्ने र स्थानीय राजनीतिक दलमा समेत सीघ्र खोजबिनको लागि आग्रह गरिने बताए।