अष्ट्रेलियाको बिएमडब्लू कप क्रिकेट उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ।
दुई महिनासम्म चलेको प्रतियोगिताको फाइनलमा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले हराउँदै सगरमाथाले उपाधि जितेको हो।
पहिले ब्याटिङ गर्दै सगरमाथाले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको रोयल राईनोजले निर्धारित २० ओभरमा १ सय २४ रन मात्र बनाउन सक्यो।
उपाधि विजेता टोली सगरमाथाले नगद २ हजार डलरसहित ट्रफी हात पार्यो।
प्रतियोगितामा मात्र १६ रन खर्चेर ४ विकेट लिन सफल रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी म्यान अफ द म्याच भए ।
प्रतियोगिताको वेष्ट व्याट्सम्यान एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन सुनम गौतम भए भने बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिर घोषित भए ।
कार्यक्रममा विजेता टोलीलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले पुरस्कार वितरण गरेका थिए।
उनले खेलको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यको लागि समेत लाभदायक हुने भएकोले यसतर्फ सबैलाई प्रोत्साहित गरिनुपर्ने धारणासमेत राखेका थिए।
यस्तै बिएमडब्लू मेलबर्नका निर्देशक विष्णु सापकोटाले क्रिकेट खेललाई पेशा बनाउँदै यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडी पुग्न सकुन् भन्ने शुभकामना दिए।