नेपाली हाँस्यब्यङ्ग बिधाका पुराणपात्र हरिवंश आचार्यले सिड्नीका दर्शकलाई ब्यंगात्मक कविता र देशको परिस्थितिसँग जोडेर पेचिलो प्रहशन सुनाउँदै मन्त्रमुग्ध पारेका छन्।
पारिवारिक भ्रमणमा सपरिवार अस्ट्रेलिया आइपुगेका हरिवंश आचार्यले सुन्दर मुलुकको खराब ब्यवस्थापनले नेपालबाट युवा पुस्ता बिदेशिरहेको तितो सत्यलाई ब्यगात्मक शैलीमा प्रस्तुत गरेका थिए।
बाबा एजुकेशनको प्रस्तुति तथा कोजी एशियाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सिड्नीका गायकहरु समिर आचार्य र सन्जिव पराजुलीले पनि आ-आफ्नो प्रस्तुती दिएका थिए।
मानव सेवा आश्रमको सहयोगार्थ गरिएको कार्यक्रममा सिड्नीका एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका थिए।
सिडनीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित कार्यक्रमका मुख्य आकर्षक हरिवंश आचार्यले अस्ट्रेलियामा आएपछि यहाँको राष्ट्रिय जनावर कंगारूको जस्तो दिनचर्या गरे प्रगति पथमा हिँड्न सकिने बताए।
कंगारूले बच्चा बोकेर जसरी उफ्री उफ्री हिड्छ, ज्ञानलाई सिरानी बनाएर दक्षता अभिबृद्धिमा उफ्री उफ्री हिड्ने हो भने यहाँ पनि प्रसस्त सम्भावना रहेको आचार्यले सुनाए।
उनले क्वालाजस्तो भएर अल्छी हुने हो भने संसारको कुनै कुनामा गएर पनि प्रगति गर्न नसक्ने नजिर सुनाए।
कार्यक्रममा हरिवंशले अस्ट्रेलिया सुन्दर राष्ट्र भएको चर्चा गर्दै नेपाल पनि कम सुन्दर नरहेको तर्क गरे। उनले सुन्दरताको कसीलाई ब्यवस्थापन र बेथितिले बिगारेका कारण नेपाल सुन्दर हुँदा हुँदा पनि कुरूप देखिदै गएको सुनाए।
नेपाल की नेतापाल भन्दै राजनीतिक विकृतिमा झटारो हान्दै हरिवंशले भने ‘देश नेपाल भए पनि नेताहरुलाई पाल्ने देश बनेको छ अनि भारतमा लगेर फाल्नु पर्नेलाई देशमा पाल्नु परेको छ,’ उनले कुटिल ब्यङ्ग सुनाए।
नेपालका बिभिन्न चलचित्र विद्यालयमा पढ्दा पढ्दै एसएलसी तीन पटकमा पास गरेको सुनाएका आचार्यले भने, ‘यो क्षेत्रमा लागेपछि आफ्नो मर्जी अनुसारको जे पनि बन्न सकिँदो रहेछ। कहिले डाक्टर, केहिले इन्जियिर, कहिले प्राध्यापक सबैको कबच लगाएर कलाकारिता गर्न पाइयो।’
कार्यक्रमका आयोजक बाबा एजुकेशनका रबिन्द्र कुमार शर्माले हरिवंश आचार्यजस्ता मुर्धन्य कलाकारलाई स्टेजमा उतार्न पाउँदा निकै गर्व लागेको बताए।
उनले यस कार्यक्रमबाट नाफा भएको रकम मानव सेवा आश्रमलाई प्रदान गरिने समेत सुनाए ।