सानै उमेरमा फुटबलमार्फत स्कुल र समुदायको प्रतिष्ठा अभिबृद्धि गरेको भन्दै स्कुल कमिटिले नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे नापितलाई वर्षकै उत्कृष्ट खेलाडीमा मनोनयन गरेको छ। स्कुले फुटबलमा तहल्का मच्चाउँदै अस्ट्रेलियाको राज्यस्तरीय युथ १९ टोलीमासमेत छानिएका प्रतिकले तीन साताअघि मात्र न्यु साउथवेल्स प्रीमियर अर्वाड प्राप्त गरेका थिए।
१२ कक्षामा अध्यनरत प्रतिकलाई एनएसडब्लुका प्रिमीयर ग्लेडिज बेरेजिक्लेनले अवार्ड प्रदान गरेकी थिइन्। प्राय अस्ट्रेलियनको मात्र बसोबास भएको सो क्षेत्रवाट प्रतिनिधित्व गरेर सानै उमेरमा फुटबलमार्फत नाम कमाएका प्रतिकको यो वर्ष खेलाडी सम्मान सानै भए पनि स्कुलको भित्तामा भने आजिवन झुन्डीरहने छ।
नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डे नापितका कान्छा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए। सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको प्रतिकले स्कुल, क्षेत्र ,राज्यस्तरीय छनोट र प्रतियोगिताको आफ्नो कुशल प्रर्दशनपछि युथ १९ स्कुल राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।
अग्रपंक्तीमा खेल्ने प्रतिकको खुबी भनेको बललाई सटिक प्रहार र प्रतिद्धन्द्धीको पोष्टमा अचुक निशानानै महत्वपूर्ण रहेको उनको खेललाई नजिकबाट नियाल्नेहरु बताउछन्। सीड्नीको म्यानली युनाइटेडवाट नेशनल प्रीमियर डिभिजन वन खेलिरहेका प्रतिकले अब अस्ट्रेलियाको राष्ट्रिय पोशाक भिर्ने मौकासमेत पाएका छन्।
‘एउटा नेपालीको छोरोले गोराहरूको बाहुल्यता रहेको सिड्नीको चर्चित स्कुलमा वर्ष खेलाडी उपाधि हात पार्नु मेरो लागि मात्र होइन सम्पुर्ण समुदायको लागि पनि महत्वपूर्ण विषय हो,’ नेपाली समुदायका अगुवा तथा प्रतिकका बाबु श्री नापीतले सेतोपाटीसँग भने।
‘‘हामी जस्तो प्रवासीहरुको लागि यो सबैभन्दा खुसीको कुरा हो, एउटा नेपाली ठिटोले अस्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु सबैका लागि गर्वको बिषय पनि हो,’ प्रतिकका पीता तथा पुराना फुटबलर श्री नापीतले सेतोपाटीलाई बताए।
आमा प्रतिक्षा पाण्डे र बाबु श्री नापीतका कान्छा छोरा प्रतिकले सानै उमेरदेखि फुटबल खेल्ने गरेका थिए। स्कुले फुटबलमा प्रगती गर्दै गएपछि प्रतिक न्यु साउथवेल्स राज्यको अन्तरस्कुल युथ १९ टोलीमा परेपछि उनको चर्चा चुलिएको थियो।
प्रतिक सानैदेखि फुटबलमा रुचि राख्ने र यसमा दत्तचित्त भएर लागेको धेरै भैसकेको छ, उसको उद्धेश्य भनेकै ब्यवशायीक फुटबलर बन्ने हो, नापीतले सुनाए। आरसीटीबाट फुटबल खेलेका श्री नापीतलाई छोराको यो फड्कोले निकै ठूलो खुसी दिलाएको छ। ‘यो उसको इच्छा र परिवारको सहयोगबाट सम्भव भएको हो,’ नापीतले बताए।
अस्ट्रेलियामा फुटबलमा लागिपरेका पुराना फुटबलर राजु मानन्धर प्रतिकको सफलताले नेपाली समुदाय गौरवान्बीत भएको बताउँछन्।