गैर आवासिय नेपाली संघ, अस्ट्रेलियाको आयोजना तथा क्वीन्सल्यान्ड राज्य समितिको संयोजनमा यही आउँदो शनिबार ब्रिसबेनमा नेपाल प्रर्वधनको मुख्य उद्धेश्यका साथ नेपाल महोत्सवको आयोजना हुँदैछ।
यही नोभेम्बर १७ तारिखका दिन ब्रिसबेनको आकर्षक केन्द्रका रुपमा रहेको किङ जर्ज स्क्वायरमा हुने यस महोत्सवमा स्थानीय दश हजार नेपालीको सहभागिता रहने आशा गरिएको आयोजक एनआरएनले जनाएको छ।
नेपाली खाना, नेपालको ऐतिहासिक तथा परात्वातिक महत्व अनि हाम्रो गौरवगाथा झल्किने नेपाल हाउस, कला संस्कृतिको पहिचान अनि गीत संगीतको रौनकले शनिबार ब्रिसबेन नेपालमय हुने क्वीन्सल्यान्डमा संयोजक तथा एनआरएनका उपाध्यक्ष सन्तोष कुँवरले बताए। कुँवरले महोत्सवमा रौनक थप्न नेपालवाट राजेश पायल राई, सुगम पोखरेल,तृष्णा गुरूङ,बिश्व नेपाली र शिव हमालजस्ता गायक गायिकाले प्रस्तुती दिने बताए।
‘हाम्रो मुख्य उद्देश्य भनेको मुलुकको पहिचान र पर्यटन प्रर्वधन भएकोले सकेसम्म बिदेशीहरुलाई नेपालको बारेमा जानकारी दिनु र उनीहरूलाई हाम्रो पहिचान झल्काउनु हो,’ एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले सेतोपाटीसँग भने।
कोइरालाले हरेक दुई वर्षमा आयोजना हुने नेपाल महोत्सव बिदेशमा छरिएर रहेका नेपालीजनलाई एक आपसमा भेट्ने, रमाइलो गर्ने र भाइचारा साट्ने अवसर प्रदान गर्ने थलोका रुपमा रहेको सुनाए।
ब्रिसबेनमा रहेका बिश्लेषक डा भरतराज पौडेल हरेक दुई वर्षमा नेपालीमन जोड्ने मेलाका रुपमा नेपाल महोत्सव प्रचलित रहेको सुनाउँछन्।
एनआरएनए अस्ट्रेलियाले प्रत्येक २ वर्षमा आयोजना गर्दै आइरहेको नेपाल फेस्टिभल अस्ट्रेलियामा बस्ने नेपालीहरुको लागि कुम्भ मेला जस्तै हो।
‘आयोजना गर्न थालेको १ दशकभन्दा बढी समय बितीसकेको छ, अस्ट्रेलियामा नेपालीको संख्या पनि निक्कै बढीरहेको छ,’ पौडेलले भने, ‘नेपाल फेस्टिभलले आपसी भेटघाट हुनेभन्दा पनि हामीले बिदेशीहरुको सहभागीतामा जोड दिँदै अगाडि बढ्नसके सुनमा सुगन्ध हुने थियो।’