गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) ले आगामी नोभेम्बर २४ तारिखमा सिड्नीमा आयोजना गर्ने नेपाल महोत्सवको अवसर पारेर केही साता अगाडिदेखिनै यहाँका प्रमुख पर्यटकीय नगरी डार्लिङ हार्वर वरपर नेपालको झन्डा फहराएको छ।
एनआरएनएको न्यु साउथवेल्स राज्य समितिको संयोजनमा हुन लागेको महोत्सवको अवसर पारेर सिड्नी सीटी काउन्सिलको अनुमतिमा नेपाली राष्ट्रिय झन्डासहित नेपालका पर्यटकीय स्थानको तस्बिर अंकित झन्डाले सिड्नीको ब्यस्त बजारको लिभरपुल स्ट्रीट र बार्थस्ट स्ट्रीट सजिएको छ।
अस्ट्रेलियाको आर्थिक राजधानी मानिने सिड्नी शहरको ब्यस्त बजारमा नेपालको प्रर्वधनका लागि महोत्सवको अवसर पारेर झन्डालगायत भगवान बुद्ध, स्वयम्भु, कुमारी अंकीत झन्डाहरु राखिएको एनआरएन अस्ट्रेलियका प्रवक्ता डिला खरेलले बताए।
प्रवक्ता खरेलले नेपाल महोत्सवको मुख्य लक्ष्य भनेकै नेपाल पर्वधन भएकोले महोत्सवको करिब दुई साता अघिदेखि सिडनीका पर्यटकीय क्षेत्रहरुमा नेपालको राष्ट्रिय झन्डा र अन्य मुलुक चिनाउने माध्यमको प्रचार सुरु गरिएको बताए।
उनले यसका लागि एनएसडब्लुका पर्यटनदूत बद्री अर्याल र एनआरएनले काउन्सिलका लागि लाग्ने खर्च समेत ब्यहोरेको सुनाए ।
नेपाल फेस्टिवल २०१८मा नेपालका कलाकारहरु राजेश पायल राई, पशुपति शर्मा , तृष्णा गुरुङ , आँचल शर्मा , विश्व नेपाली लगायतका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।
‘एक देश, धेरै कथाहरू’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा नेपाल चिनाउने नेपाल हाउस, नेपाली खाना र कला संस्कृतिको बेजोड प्रस्तुती हुने संयोजक नन्द गुरुङले बताए।
नेपालको पूर्ण झल्को एक साथ पुरा हुने यस कार्यक्रममा सम्पूर्ण सिड्नीबासी नेपालीहरु उपस्थिति भई कार्यक्रम सफल पारीदिन आयोजक एनआरएनले अनुरोध समेत गरेको छ ।
कार्यक्रम २४ नोभेम्बरमा तुम्बालोंग पार्क, डार्लिंग हार्बर, सिड्नीमा आयोजना हुनेछ।