संसारभर छरिएर रहेका नेपाली गुरू पुरोहितहरुको संस्था ‘गुरु मन्जरी’ को प्रयासमा जीवनको महत्वपूर्ण विषयका रूपमा रहेको सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वस्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि ‘मेरो स्वयम्बर’ नामक संस्था निर्माण गरेका छन्।
संसारभर छरिएका नेपाली समाज र हिन्दुत्वको परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन अष्ट्रेलियामा ‘गुरू मन्जरी’ स्थापना भएको संयोजक पण्डित प्रकाश ढोडारीले सेतोपाटीलाई बताए।
विशेषगरी बिदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए।
‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो। यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ। यसैले पनि उपयुक्त वर बधुलाई ‘मेरो स्वयम्बर’ मार्फत मिलन गराउने प्रयास हामीले थालनी गरेका हौ’, संयोजक ढोडारीले सेतोपाटीसँग भने,‘विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दुको स्थापना गरेका हौ।’
अष्ट्रेलियासँगै नेपाल, अमेरिका, बेलायत, क्यानडा र जापानमा अहिले संस्थाको बिधिवत कार्यालयहरु रहनेछन्। यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रकृयाभित्र रहेर मेरो स्वंयम्बरलाई अगाडि बढाउनेछन्।
यो संस्थाको उद्देस्यबारे प्रष्ट पार्दै ढोडारीले अगाडि भने, ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लाउने पटक्कै होइन, मेरो स्वयंम्बरले बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो।’
संस्थाको बिशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेबारी सुम्पिएको उनले बताए।
बिवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम रहेका छ भने ज्योतिषी परामर्शका लागि पण्डित राज भेटवाल र वास्तुसम्वन्धी बिषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरु रहने छन्।
जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटनमा पण्डित राजेन्द्र खनाल, टेक्सासबाट पण्डित भवानीशंकर शास्त्री छन्।
यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतवाट पण्डित दुर्गाप्रसाद पोखरेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री र जापानवाट पण्डित भगिरथ सापकोटा क्रियाशिल रहनेछन्।
मेरो स्वयम्बरको सिड्नीमा नेपाल महोत्सवको क्रममा भब्य रुपमा शुभारम्भ भए पनि यसले भने २०१९ को जनवरी एकदेखि आफ्नो काम प्रारम्भ गर्नेछ।