अष्ट्रेलिया भ्रमणमा रहेका पूर्वअर्थमन्त्री एवम् नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले नेपालीहरू भावनाकै आधारमा नेपाल फर्किने सम्भावना न्यून हुने भन्दै उनीहरुले नेपालमा लगानी गर्नुपर्ने सुझाव दिएका छन्।
‘यहाँ हुने कमाईभन्दा बढी नेपालमा कमाउन सक्ने वातावरण भएमा मात्र यहाँका नेपाली फर्किनेछन्। यो वास्तविकता हामीलाई थाहा छ,’ उनले भने।
महिनाको २५ हजार तलबमा खाडी मुलुकमा काम गर्न गएकालाई देशले रोक्न सक्नुपर्ने भन्दै उनले देशमै २५ हजारभन्दा बढी तलब दिनसक्ने वातावरण सिर्जना हुने वित्तिकै त्यो जनशक्तिले नेपालमै काम गर्ने दाबी गरे।
सरकार दुई तिहाईको भए पनि अन्य अव्यवस्था कायमै रहेकामा सरकारले कुनै जादू गर्न नसक्ने उनले सुनाए।
पूर्वमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य पाण्डेले संघीयता नेपालमा चल्दैन कि भन्ने आशंका नगर्न पनि आग्रह गरे।
सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले नेता पाण्डे र वरिष्ठ अधिवक्ता सूर्य ढुंगेलसँग आयोजना गरेको अन्तरक्रियामा उनले अष्ट्रेलियाजस्तो देशमा रहेका नेपालीलाई नेपाल भित्रै रोजागारी र व्यसाय गर्न दिने वातावरण मिलाउने पर्ने तर्क राखे।
कार्यक्रममा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेलले वर्तमान सरकारले गफ बढी काम कम गरेको प्रतिक्रिया दिए।
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका रमेश पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव सन्तोष रावल, जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा, संघीय समाजका एनआरएन आईसीसी सदस्य दिनेश जोशी, एनआरएन ओसेनीया संयोजक धर्म अधिकारी लगायतले बोलेका थिए।
नेता पाण्डे व्यक्तिगत कामको सिलसिलामा अष्ट्रेलिया आएका हुन्।
उनीसँग चितवन समाज अष्ट्रेलियाले समेत सिड्नीमा अन्तरक्रिया र स्वागत कार्यक्रम गरेको थियो।
यसैबीच, मेलबर्नका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले मेलबर्नस्थित आफ्नै कार्यालयमा नेता पाण्डेलाई स्वागत गरे।
उक्त क्रममा नेता पाण्डेले अष्ट्रेलियामा रहेका नेपालीहरुले यहाँ हासिल गरेको प्रगतिबाट आफू सन्तुष्ट भएको विचार राखेका थिए।