गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको नेपाल महोत्सव ‘मेलवर्न संस्करण यही डिसेम्बर १५, शनिबार मेलवर्नको पर्यटकीयस्थल फेडेरेसन स्क्वायरमा आयोजना हुने भएको छ।
एनआरएनए अस्ट्रेलियाले नेपालीको बाक्लो बस्ती रहेको महत्वपूर्ण राज्यहरुमा सन् २००६ देखि हरेक दुई–दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको छ।
एनआरएनए अस्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिका अनुसार नेपाल फेस्टिवलको सांस्कृतिक परेडमा यसपटक नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी हुने भएका छन्।
आयोजक संस्थाका अनुसार अस्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा सहभागी हुन सोमबार मेलबर्न आइपुग्ने लामिछाने सांस्कृतिक परेडमा सहभागी हुनेछन्।
परेडमा करिब एक हजार नेपालीलाई सहभागी गराउने लक्ष्य लिएको एनआरएनका उपाध्यक्ष तथा भिक्टोरिया संयोजक केशव कँडेलले जानकारी दिए।
नेपाली खाना, गीत, संगीत र कला संस्कृतीको जर्गेनाका साथै मुलुकको परिचय स्थापीत गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निभाउँदै आएको संयोजक कडेँलले जानकारी दिए।
परेडका लागि मेलवर्नको सिटीस्थित स्टेट लाइब्रेरीमा भेला भइ शहरको परिक्रमा गर्दै आयोजनास्थलमा पुगेर समापन हुनेछ भने त्यसपछि महोत्सवको प्रारम्भ हुनेछ।
महोत्सवले मेलवर्नबासी दक्षिण एशियाली समुदायलाई एकै ठाउँमा ल्याएर अस्ट्रेलियामा रहेको बहुसांस्कृतिक अस्तित्व सुधार्न सहयोग गर्ने र नेपालको पर्यटन प्रर्वधन गर्ने उद्धेश्य बोकेको संयोजक कडेँलले सुनाए।
महोत्सवको अस्ट्रेलियाका आदिवासी हुन् अथवा यही जन्मेका अस्ट्रेलियालीबीच सह-अस्तित्वको भावनालाई अभिप्रेरित गरेर नयाँ युगमा हाम्रा भावी पुस्तालाई यसको महत्वका बारेमा बताउन र सिकाउन यस फेस्टिभलले मद्दत गर्ने कुरा आयोजक समितिका उपसंयोजक तारा गैरेले बताए।
नेपाल नेपाल फेस्टिवल मेलबर्न आयोजनाका लागि केशव कँडेलको संयोजकत्वमा तारा गैरे उपसंयोजक, निरू त्रिपाठी सचिव र प्रेरणा मल्ल सहसचिव रहेको एक समिति गठन गरिएको थियो।
कार्यक्रमको तयारी पुरा भैसकेको र नेपाली झाँकीहरुको साथ सांस्कृतिक परेड र फेडरेशन स्क्वायरमा यसपटक ‘नेपाल भिलेज’ स्थापना गरी नेपालको संस्कृति, परम्परा, रहनसहनको प्रवर्धन गर्ने तयारी भइरहेको सचिव निरू त्रिपाठीले बताइन्।