नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी सिड्नी आउने भएका छन्।
नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी दिलाउन भन्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी दुई साताका लागि अस्ट्रेलिया आउन लागेका हुन्।
एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्बेसडर समेत रहेका पारससँगै ऐरी र खेलाडी तथा युवा ब्यवस्थापक सुवास प्रधान पनि अस्ट्रेलिया भ्रमणमा सामेल हुनेछन्।
शैक्षिक परामर्शको बजारमा बिशेष पहिचान बनाएको एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले भ्रमणको व्यवस्था मिलाएको हो।
‘सानैदेखि क्रिकेट भनेपछि भुतुक्कै हुने मेरो बानीले पनि क्रिकेटप्रतिको मोह टुट्न दिएन, त्यसैले होला नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा एम्सपोज गर्ने चाहना बमोजिम नेपाली टोलीका कप्तानसहितका खेलाडीलाई यहाँ ल्याएर क्रिकेट प्रर्वधन गर्न लागिएको हो’, एक्सपर्टका निर्देशक सन्जिव शर्माले भने।
क्रिकेटको प्रशंसक शर्मा अस्ट्रेलियन क्रिकेटको चहलपहलबाट प्रभावित भएरै उच्च अध्ययनको लागि अस्ट्रेलिया आएका थिए।
‘यतिखेर विद्यार्थीहुँदै शैक्षिक परामर्शमा काम गर्दैगर्दा क्रिकेटको माया बढ्ने नै भयो, हिजो गारो सारो थियो, अहिले केही गर्न सक्ने भएको छु, त्यसैले पनि नेपाली क्रिकेटको समृद्धीमा यसो सहयोगको हात फैलाउँदै छु’, उनले भने।
अस्ट्रेलिया आउने नेपाली खेलाडीलाई यहाँका प्रमुख शहरहरू मेलवर्न, ब्रिसबेन र सिड्नी तथा एडिलेडमा क्रिकेटप्रेमीसँगको भेटघाट र मैत्रिपूर्ण क्रिकेट म्याचमा सहभागी गराउनुका साथै यहाँको भौतिक पुर्वाधार तथा प्रविधीसँग परिचित गराउने कार्यक्रम रहेको एक्सपर्टले जनाएको छ।
कार्यक्रम अनुसार मेलवर्नमा डिसेम्बर ३०, जनवरी ५ र ६ मा सिड्नीमा, जनवरी १० मा ब्रिसबेनमा तथा १२मा एडिलेडमा कार्यक्रम तय भएको निर्देशक सन्जिव शर्माले जानकारी गराए।