नेपाली युवा स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यासमा लगातार दोस्रो हार व्यहोरेको छ।
तर ब्यक्तिगत रूपमा भने नेपाली बलर सन्दिपले दोस्रो खेलमा पनि पुरै ओभर बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिए।
सन्दिपले होर्वाटका ओपनर तथा कप्तान म्याथ्यू वेट, एलेक्स डुलन र बिस्फोटक ब्याट्समेन बेन म्याकडोरमटको विकेट लिएका थिए। सन्दिपले चार ओभरमा २४ रन खर्चेर किफायती बलिङ गर्दै टिमलाई अगाडि बढाएका थिए।
खेलमा सम्मानजनक स्कोर बनाउन नसकेको मेलवर्न स्टार्सले खेलको अन्त्यतिर दबाब सृजना गरे पनि दोस्रो खेलमा जित निकाल्न सकेन।
अन्तिम तिर मेलवर्नका अन्य बलरहरू महंगा साबित भए। ड्वाइने ब्राभोले तीन ओभरमा विना विकेट ३८ रन खाएका थिए भने स्कट बोल्यान्डले दुई ओभरमा २३ रन खर्चेका थिए।
यसअघि आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरूद्ध हार व्यहोरेको मेलबर्न स्टार्स जितको खोजीमा रहे पनि ब्याट्सम्यानहरू चल्न नसक्दा दोस्रो खेलमा पनि पराजयको सामना गर्नु परेको हो।
लगातार दुई खेलमा टिमले जित निकाल्न नसक्दा उत्कृष्ट बलिङ प्रर्दशन गरेका सन्दिपको चर्चा चुलिएको छ।
‘मेरो पुरै शक्ति भनेको टिमलाई जिताउनु हो, तर खेल हो हार जित भइहाल्छ। आगामी खेलमा हाम्रो टिमले विजयको ढोका खोल्न बिश्वास लिएको छु,’ सन्दिपले सेतोपाटीसँग भने।
‘धेरै अस्ट्रेलियन ब्याट्सम्यानले मेरो बल खेलेका छैनन्, यस कारण पनि मेरो बलिङ टिमको लागि महत्वपूर्ण बनिरहेको छ,’ लामिछानेले भने, ‘हामीले खेलको प्रारम्भमै केही विकेट निकाल्न सकेको भए आजको खेलमा जितको नजिक हुन्थ्यौ होला तर विकेट पतन नहुनु र फिल्डीङमा पन्ध्र, बीस रन रोक्न नसक्दा खेल हाम्रो पक्षमा रहेन।’
आफूले विश्वस्तरीय खेलाडीहरूसँग खेल्ने तरिका सिकिरहेको बताए।
‘कप्तान र प्रशिक्षकले म माथि जुन बिश्वास गरेका छन् दुबै खेलमा सोही अनुरुप परिणाम निस्किएको छ भन्ने मलाई लाग्छ, म उनीहरूको भरोसा तोड्दिनँ, तर धेरै कुरा अझै सिक्न बाँकी छ, विश्वस्तरीय खेलाडीहरूसँग सिकिरहेको छु।’
आगामी २७ तरिख सिड्नीमा सन्दीपको टोलीले सिड्नी सिक्सर्सविरुद्ध खेल खेल्दैछ।
उनले सिड्नी आफ्नो लागि महत्वपुर्ण हुने बताए। ‘अब सिड्नी हाम्रा लागि महत्वपूर्ण खेल हो, हाम्रो टिम त्यसको तयारीमा लागिसकेको छ,’ उनले भने, मेरो बलिङमा समेत केही किफायती हुन सक्थ्यो, यसतर्फ अब मेरो ध्यान केन्द्रित भएको छ। आगामी खेलमा परिस्कृत खेल पस्कने प्रयास गर्ने छु।’
पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
यसअघि आफ्नो डेब्यू खेलको डेब्यू ओभरमै दुई विकेट लिएका लेगस्पीनर सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए।
सन्दीपले पहिलो ओभरमा किफायती बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा तथा अन्तिम बलमा म्याकुलम फेर्गुसनलाई आउट गरेका थिए।