नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको उपस्थितिमा आइतबार मेलवर्नमा क्रिकेट फेस्टिबल सम्पन्न भएको छ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको आयोजनामा फ्लेमिङटन भिक्टोरियाको डाब्नीज् पार्कमा सम्पन्न क्रिकेट महोत्सवमा स्थानीय सयौं बालबालिकालगायत क्रिकेट प्रेमी तथा खेलाडीको सहभागिता थियो।
स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सुरू भएको कार्यक्रममा परिचयात्मक कार्यक्रमका साथै साना भाइ बहिनीलाई क्रिकेट सम्बन्धी आधारभूत तालिम दिइएको थियो।
त्यसपछि इच्छुक महिला क्रिकेटरलाई पनि बिशेष प्रशीक्षणको ब्यवस्थापन गरिएको टोलीका सदस्य सुवास प्रधानले सेतोपाटीलाई बताए।
दिनको अन्तिम सेसनका रूपमा पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका साथै केही टिप्सहरु दिइएको थियो। नेपालबाट आएका क्रिकेटर तथा नेपाली टोलीका कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी र सुवास प्रधानले मेलबर्नको महोत्सवमा विशेष प्रशिक्षण दिएका थिए।
उनीहरूलाई अष्ट्रेलियामा रहेका पूर्वराष्ट्रिय खेलाडी यशवन्त सुबेदी र सुमन गौतमले साथ दिएका थिए।
कार्यक्रममा क्रिकेट अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेर विशेष प्रशिक्षकको पनि सहभागिता थियो।
कार्यक्रमको ब्यवस्थापन भिक्टोरियन नेप्लिज क्रिकेट एसोसियसनले गरेको थियो भने यसलाई नेप्लिज क्रिकेट क्लव भिक्टोरिया र नेप्लिज एसोसियसन अफ भिक्टोरियाको साथ दिएका थिए।
एक्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसका निर्देशक सञ्जिव शर्माले नेपाली क्रिकेटको प्रर्वधनका लागि सबै मिलेर बढौं भन्ने नाराका साथ पहिलो खुटकिलोको रुपमा अस्ट्रेलियाका बिभिन्न शहरहरुमा क्रिकेट महोत्सवको आयोजना गरिएको बताए।
यस कार्यक्रमपछि अष्ट्रेलियाबाट छानिएका दुई स्थानीय क्रिकेट खेलाडीलाई नेपालको एक्सपर्ट धनगढी ब्लुजबाट खेल्ने मौका दिइने निर्देशक शर्माले घोषणा समेत गरे।
कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशनले बिदेशमा बसेर पनि नेपाली क्रिकेटको विकासमा सहयोग गरिरहेको बताए।
यस्तो किसिमको महोत्सवले क्रिकेट कल्चर भएको देशमा नेपाली क्रिकेटलाई एक्सपोज गर्न सकिने उनको तर्क थियो।
पारसले नेपालमा क्रिकेटको संस्थापक विकास हुन नसकेको परिप्रेक्षमा नेपाली खेलाडीलाई एक्सपोजको खाँचो रहेको औलाए। ‘हामीसँग प्रतिभाको कमी छैन, खेलाडीलाई मौकाको खाँचो छ, मौका पाए अझै थुप्रै सन्दीप लामिछानेहरू अन्तर्राष्ट्रिय क्रिकेटमा आउन सक्छन्,’ खड्काले भने।
अर्का राष्ट्रिय खेलाडी दिपेन्द्रसिंह ऐरीले एक्सपर्टले नेपाली क्रिकेटको आधारभूत विकासमा गरेको सहयोग हेर्न र मनन गर्न लायक रहेको सुनाए।
नेपालबाट सहभागि अर्का क्रिकेटर सुवास प्रधानले एक्सपर्टले सन् २०१४ देखि नै नेपाली क्रिकेटको विकासमा सहयोगी भूमिका निभाइरहेको र एक्सपर्टकै सहयोगमा नेपालमा कलेज र स्कुल प्रिमियर लिग क्रिकेटहरु आयोजना भइरहेको बताए।
मेलवर्नपछि जनवरी ५ र ६ मा सिड्नी, जनवरी १० मा ब्रिसबेनमा तथा १२ मा एडिलेडमा कार्यक्रम तय भएको निर्देशक सन्जिव शर्माले जानकारी गराए।