अष्ट्रेलियाको सबैभन्दा ठूलो क्रिकेट लिग बिग ब्यास खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने भोलि बंगलादेश जाने भएका छन्।
बिग ब्यासमा ४ खेलबाट ८ विकेट लिँदै सनसनी मच्चाएका लामिछाने बंगालदेशमा शनिबारदेखि सुरू हुने बंगलादेश प्रिमियर लिग खेल्न भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
भोलि बिहानै आफू बंगलादेशतर्फ लाग्ने बताउँदै सन्दीपले सेतोपाटीसँग टोलीको अन्तिम लिग म्याच तिर पुनः अस्ट्रेलिया आइपुग्ने बताए। ‘चार खेलमा मैले सक्दो राम्रो खेल प्रर्दशन गरेँ। अब बंगलादेश लिगमा पनि सोही प्रर्दशन दोहोर्याउने छु,’ सन्दिपले भने।
जारी बिग ब्यासमा सन्दीपले चार खेलबाट आठ विकेट लिएका छन्।
यसैबीच बिगब्यास क्रिकेट हेर्न पुगेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पनि आजको खेलमा आकर्षण बनेका थिए।
पारसलाई प्रत्यक्ष प्रशारणसमेत गरेको च्यालन सेभेनले मैदानमै अन्तवार्ता लिएको थियो।
खेलको समाप्तीपछि पारसले मेलवर्नको मैदानमा हजारौ नेपाली दर्शक नेपालको झन्डासहित देख्दा गर्व लागेको बताए।
पारसले सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘नेपाली क्रिकेटको सुन्दरता भनेकै यही हो। नेपाल होस् चाहे बिदेशमा खेलाडीको हौसला बढाउन जहाँ पनि प्रंसशकको ओइरो लाग्ने गर्छ,’ उनले भने, ‘त्यसैको मायाको प्रतिफल पनि हो नेपाली टोलीले यतिखेर एक दिवसीय क्रिकेटको मान्यता पाएको।’
एक्सपर्ट एजुकेशनको निम्ता मान्न अस्ट्रेलिया आइपुगेका पारसले सन्दिप लामिछानेको प्रशंसा गर्दै भने, ‘उनको आत्मविश्वास गज्जबको छ, त्यसैले पनि उनले एकपछि अर्को सफलता हात पारिरहेका छन्।’
नेपालको क्रिकेट विकासमा पूर्वाधार निकै ठूलो बाधक बनेको बताउँदै पारसले भने, ‘खेल्ने ठाउँ नै नभएपछि खेलको विकास कता हुन्छ त?’
अस्ट्रेलियाका हरेक टोल, शहरदेखिनै मैदान र क्रिकेट ब्यवस्थापन यहाँको विकासको मुख्य आधार रहेको उनले बताए। ‘जबसम्म चुस्त ब्यबस्थापन र आवश्यक पूर्वाधार हुँदैन, सोचे अनुसार विकास हुन कठिन छ।’
यसअघि सन्दिप सम्मीलित मेलवर्न स्टार्सले आफ्नो लिगको चौथो खेलमा दोस्रो जित निकाल्दा सन्दीले १ विकेट हात पारे।
मेलवर्न रेनगड्सलाई सात विकेटले हराएको खेलमा लामिछानेले कप्तान टम कुपरलाई गुगलीमा बोल्ड आउट पारेका थिए। उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन्।
चौथो खेलमा केही मंहगो सावित भएका सन्दिपले कुल चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर एक विकेट लिएका थिए।
पहिलो ब्याटिङ गरेको रेनेगड्सले बिस ओभरमा नौ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो। प्रतिउत्तरमा मेलवर्न स्टार्सले १७.५ ओभरमा तीन खेलाडीको नोक्सानीमा १ सय ५१ रन जोड्दै सहज जित हात पारेको थियो। यो सँगै सन्दीपको टोली लिगको तेस्रो स्थानमा उक्लिएको छ।