आगामी आइतबार सिड्नीमा हुने एक दिने क्रिकेट महोत्सवका मुख्य आकर्षण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, यु १९ टोलीका पूर्व कप्तान दीपन्द्र सिंह ऐरी र सुबास प्रधान हुनेछन्।
महोत्सवबारे बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटको विकासमा हातेमालो गर्दै जाने उद्धेस्य अनुरुप अस्ट्रेलियाका बिभिन्न शहरहरुमा क्रिकेट महोत्सवको आयोजना गरिएको आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेजले जनाएको छ।
कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलुकदको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले बिदेशमा रहेको एउटा शैक्षिक संस्थाले नेपाली क्रिकेटको विकासमा देखाएको तत्परता लोभलाग्दो रहेको बताए।
पारसले आइतबार सिड्नीमा यहाँका स्थानिय क्लबहरु र बिभिन्न राज्यका नेपाली टोलीबिचको प्रतिस्पर्धा हुने र त्यसमा आफूहरू पनि समावेश हुने जानकारी दिए।
‘यहाँ रहेका प्रतिभाशाली खेलाडीहरू र नया पीडिलाई नेपाली क्रिकेटसँग जोड्ने यो एउटा महत्वपूर्ण कडी पनि हो। यहाँका राम्रा क्रिकेटरलाई नेपालको एक्सपर्ट धनगढी ब्लुजमा खेल्ने मौका दिनेछ, जुन हामी बिचको आपसी सम्वन्ध प्रगाढ हुनु हो’, उनले भने।
पारसले यस्ता कार्यक्रमबाट नेपाली खेलाडीहरुलाई बिदेशमा एक्सपोज हुने मौका पाएको र भबिष्यमा अन्य खेलाडीका लागि पनि अवसरका रूपमा रहने सुनाए ।
कार्यक्रममा धनगढी ब्लुजका ब्यवस्थापक तथा खेलाडी सुवास प्रधानले नेपालको क्रिकेटको ग्रासरूट विकासमा स्कुले क्रिकेट प्रतियोगिताको महत्वपूर्ण भुमिका निर्वाह गरेर एक्सपर्टले गुन लगाएको बताउँदै यस्ता महोत्सवले नेपाली क्रिकेटरको मनोबल उचो पार्ने कार्य गरेको बताए।
कार्यक्रममा एक्सपर्ट एजुकेशनका निर्देशक बद्री अर्यालले बिदेशमा बसेर पनि मुलुकका लागि केही गर्ने चाह राखेर नेपाली क्रिकेटको विकासमा केही इट्टा थप्ने प्रयास गरेको बताए।
अर्यालले सम्भावना बोकेको खेलका रुपमा क्रिकेटले नेपाललाई विश्वमाझ परिचित गराएको र यसमा निजी क्षेत्रले सहयोग आवश्यक रहेको प्रष्टाए।
कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका दिपेन्द्र सिंह ऐरीले अस्ट्रेलिया आएर टेस्ट क्रिकेट हेर्न र यहाँको पूर्वाधार हेर्ने अवसर पाएकोमा खुसी लागेको बताए।
पत्रकार सम्मेलनमा बोल्दै एक्सपर्टका कार्यकारी प्रमुख सन्जिव शर्माले आफूहरूले नेपाली क्रिकेटको प्रवर्धनका लागि क्रिकेट महोत्सवको आयोजना गरेको बताए।
शर्माले दुई देश बिचको क्रिकेटको सम्वन्ध जोडने र यहाँका नेपाली पुस्तालाई नेपाली क्रिकेटसँग साइनो गास्ने काममा यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
शर्माले अगाडि भने, ‘अहिले तीन जना नेपाली खेलाडीले अस्ट्रेलिया आएर यहाँको क्रिकेट र यथास्थितिबारे बुझ्ने मौका पाएका छन् भने महोत्सवपछि केही अस्ट्रेलियाका नेपाली खेलाडीले एक्सपर्ट धनगढी ब्लुजबाट खेलेर नेपाल जाने मौका पाउनेछन्।’
कार्यक्रममा नेप्लीज क्रिकेट एशोसिएसन अस्ट्रेलियाका अध्यक्ष रूपक चुडाल र एक्सपर्ट क्रिकेट क्लबका अध्यक्ष शन्तोष शर्माको उपस्थिति थियो।