सिड्नीका गुरूङ समुदायले शनिबार ल्होछार मनाएका छन्।
कुकुर वर्गलाई बिदाई गरि मृग वर्गको स्वागत गर्दै गुरूङहरूले ल्होछार मनाएका हुन्।
हर्जविलस्थित मराना अडिटरियम हलमा भएको ल्होछार कार्यक्रममा झण्डै सात सय जनाको सहभागिता थियो।
गुरूङ भेषभुषामा सजिएका युवा युवतिको भीडले हर्जविल क्षेत्र नेपालमय बनेको थियो। मञ्चमा राखिएको कुकुर वर्ग हटाएर मृग वर्गको तस्बिर राखेपछि ल्होछार कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा गुरूङ लामाहरूले परम्परागत पूजापाठसमेत गरेका थिए। पूजाको प्रसाद सबै सहभागिलाई बाँडिएको थियो। यसअघि नेपालबाट गुरूङ कलाकार आउने भए पनि यसपाली स्थानीय कलाकारको मात्रै प्रस्तूती थियो।
अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्ता आफ्नो संस्कार सिकाउन यसपाली स्थानीय कलाकारलाई महत्व दिईएको तमू समाज सिड्नीका अध्यक्ष टंक गुरूङले सेतोपाटीलाई जानकारी दिए।
ल्होछार कार्यक्रममा स्थानीय कलाकारले कौडा, सोरठी, गुरूङ भाषा र नेपाली गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए।
अष्ट्रेलियामा आयोजना हुने सामुदायिक कार्यक्रममध्ये तमू ल्होछारलाई विशेष मानिन्छ ।
सन् १९९६ मा प्रेम गुरूङको सक्रियतामा तमू समाज सिड्नी गठन भएको थियो। स्थापनासँगै समाजले अष्ट्रेलियामा गुरूङ संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।