नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल परिवर्तनको अभूतपूर्व मोडमा रहेको र त्यसको प्रमुख शक्ति भनेको जनसंख्या रहेको बताएका छन्।
जीवन उत्थान नामक स्वयंसेवी संस्थाका कार्यक्रममा सहभागी हुन सिड्नी आएका सांसद थापाले नेपालको पछिल्लो राजनीतिक परिवर्तन मुलुकका लागि अवसर पनि भएको बताए।
अहिलेको नेपाललाई जनसंख्याका कारणले पनि यो अवसर प्राप्त भएको थापाले दाबी गरे। कार्यक्रममा बोल्दै नेता थापाले राजनीतिक विवाद जहाँ पनि हुन्छन् तर सम्बृद्धिको अवसर भने पटक पटक नआउने सुनाए।
‘नेपालसँग यतिबेला जम्मा एउटा शक्ति छ। त्यो हो जनसंख्या। नेपालको मध्यम उमेर औषत जम्मा २३ वर्ष छ। त्यही कारण विदेशमा जताततै नेपाली युवाहरू छरिएर रहेका छन्। नेपालभित्र पनि युवाकै जनसंख्या छ,’ थापाले भने, ‘त्यसैले हामीले जे जति विकास गर्ने हो यतिबेलै गर्नुपर्छ। राजनीतिक मुद्दालाई एउटा टुंगोमा पुर्याएर अब सम्बृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनुपर्छ। अबको २० वर्षमा पनि सम्बृद्धि ल्याउन नसके हामी जापानमा झै बृद्धहरुको बाहुल्यता भएको देस बन्ने छौं र सदाझै गौतम बुद्धको र सगरमाथाको देश भनेर चिनाइरहनुपर्न अवस्था कायम रहनेछ।’
थापाले नेपालका सबै राजनीतिक शक्तिको समृद्ध नेपाल बनाउने चाहना भए पनि विधिको शासन नभएकाले कयैन कामहरू चाहँदा चाहँदै पनि गर्न नसकेको स्वीकार गरे।
उनले एउटा उदाहरण दिदै भने, ‘नेपालमा ६ लाख भारतीय कामदार छन र उनीहरूले लग्ने रेमिट्यान्स भारतको कूल रेमिट्यान्समा आठौं नम्बरमा पर्छ। हामीले यो कुराको गम्भीरता लिएका छैनौं।’
यस्ता विषयको गहन अध्ययन गरेर सार्वजनिक नीति बनाउने महत्वपूर्ण कार्यमा सबैजना लाग्नुपर्ने थापाले औलाए। कार्यक्रममा माईती नेपालका विश्व खड्काले सामाजिक कार्यको महत्वको विषयमा प्रकाश पारेका थिए।++