विगत दश वर्षदेखि अस्ट्रेलियामा रहेर विभिन्न सामाजिक र सांस्कृतिक कार्य मार्फत नेपालमा सहयोग गरिरहेको एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (आन्टा) ले नेपालमा विद्यालयको भवन निर्माणका निम्ति यस वर्ष सीड्नीमा होली पर्व भब्य रुपमा मनाउने भएको छ।
स्थापना भएको १० वर्ष पुगेको अवसरमा आन्टाले सीड्नीको अर्वनस्थीत साईनो रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी सांस्कृतिक र मनोरञ्जनका लागि होली हंगामा आयोजना गरिने र उक्त कार्यक्रमबाट संकलित रकम नेपालमा विद्यालयको भवन निर्माणका लागि खर्च गरिने जनाएको छ।
रकडेलस्थित ईन्द्रेणी फढ्सन सेन्टरमा मार्च ९ शनिबारका दिन होली हंगामा कार्यक्रमको आयोजना हुने आन्टाले घोषणा गरेको छ।
अध्यक्ष अरुणकुमार ठाकुरले कार्यक्रम विशुद्ध सांस्कृतिक तथा मनोरञ्जनात्मक हुने बताउँदै होली सबै नेपालीको चाडबाड भएकोले सहभागीताको लागि आग्रह गरे।
सन् २००८ मा स्थापना भएको आन्टाले होली, इदलगायतका पर्वमा कार्यक्रम गरी रकम संकलन गर्दै बाढी पीडित, लाइब्रेरी स्थापनालगायतका काम गरिसकेको छ।
कार्यक्रममा कलाकारहरु रमेशराज भट्टराई र सुनील पण्डितको विशेष प्रस्तुती रहने अध्यक्ष ठाकुरले बताए।