नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धीले अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुती दिने भएका छन्।
नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहने कार्यक्रममा उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिनेछन्।
कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ।
यसै क्रममा आगामी फेब्रुअरी ८ अर्थात माघ २५ गते शुक्रबार सिड्नीको लिभरपूल स्ट्रिटस्थित सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायक–गायिकाहरु बेजोड प्रस्तुती रहने आयोजक नेपाली टचले जनाएको छ ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले सिड्नीको यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ।
नेपाली समुदायको अत्याधिक बसोबास रहेको सिड्नीमा माघ २५ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी पुरा भएको नेपाली टचका निर्देशक दिपेश पुनले बताए।
‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाउनुका सार्थ टिकट बिक्रीपनि खुला भैसकेको छ,’ पुनले सुनाए ।
स्थानीय समय अनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डिजे अर्पणा पनि सहभागि हुने र कार्यक्रममा सिड्नीमा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजक नेपाली टचका सीईओ राज कुमार गोस्वामीले जानकारी दिए।
कार्यक्रममा सहभागि कलाकारको भिसा समेत भइसकेको र इपी एजुकेसन एन्ड माइग्रेसनले भिसा पार्टनरको भूमिका निर्वाह गरेको गोस्वामीले जानकारी दिए।
कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन्। नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलियाको पहिलो पटक ओलम्पिक पार्कमा भब्यरुपमा प्रस्तुत गरिसकेको छ।