नेपाल आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक लगायत सवै क्षेत्रमा परिवर्तन र विकासको नयाँ बिहानीमा छ।
केही क्षेत्रमा हुँदै गरेका सुधारका कार्यहरू प्रशंसनीय र स्तुत्य छन्। जस्तो कि लोडसेडिङको अन्त्य कुलमान घिसिङको अतुलनीय योगदान, न्यायालयमा नवनियुक्त प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको नियुक्ति पश्चात देखिएको सुधारका किरणलगायत यस्तै यस्तै अन्य केही पूर्वाधार विकास र प्रशासनिक सुधार राम्रो कुरा हो।
भए गरेका राम्रो कामको अझ प्रगति हुनुपर्नेछ। तर, यतिवेला म सवै जनताको चासोको विषय स्वास्थ्य क्षेत्र र सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसनलाई लिएर केही आफ्नो नितान्त व्यक्तिगत विचार राख्दैछु।
हो हामी सवैको आ-आफ्नो विचार, बुझाई, विश्लेषण हुन्छ। तर्क वितर्क हुन्छ, लेख्न, बोल्न पाइन्छ। तर, कम्तिमा अलिकति न्याय , स्वच्छ, आग्रह, पूर्वाग्रहभन्दा माथि रहेर अझ राजनीतिको र पनि बिर्सिएर, नेपाल र तमाम नेपाली जनताको मुहार सम्झेर विचार गरौं त। छातिमा हात राखेर सोचौं त। स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गर्न मिल्छ? कदाचित मिल्दैन।
प्रसंग सुरू गरौ डा. केसीको अनसनबाट।
उनका बारेमा अध्ययन गरौं, हेरौं, बुझौं र उनको इतिहास र पृष्ठभूमि पनि केलाउँ म दावी र ढुक्कका साथ् भन्नसक्छु उनी एक असाधारण नेपाली नागरिक हुन्। जो हर कोही ३ करोड नेपालीको स्वास्थ्य, उनीहरूले पाउनुपर्ने स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र गरिव नेपालीका छोराछोरीले सहज र पूर्ण अवसर पाउन भनेर लडिराखेका छन्। जो एक्लै छन्, कमाएको पैसाबाट केही रकम वचत गरि मुलुकका दुर दराजमा गएर हरेक वर्ष आफ्नो खर्चबाट भोका नाङ्गा र गरिब जनताको सेवामा जुटछन्।
लेखेर राख्नुहोस् उहाँले पटक पटक भन्नु भएको छ र वाचा गर्नुभएको छ उहाँलाई कुनै पद, राजनीतिक खिचातानी र अन्य प्रलोभनको रतिभर आस र कुनै चाह होइन र छैन। भ्रममा नरहनुहोस् डा. गोविन्द के.सी. का केही पनि आफ्ना माग छैनन् छन् त् यी सवै नेपाली जनताका माग छन्।
जो राज्यको कुनै पहुँचमा छैनन्, सिटामोल खान नपाएर छटपटीमा छन्। दुर दराजमा एउटासम्म पनि अ.हे.ब. नभेटेर गम्भीर पीडामा छन् उनीहरुका माग हुन्।
यति भनिसकेपछि अझ म के भन्न सक्छु भने डा. गोविन्द के.सी. अहिले हाल नेपालमा भएका तमाम राजनीतिक दल र नेतृत्वमा रहेका नेता, संसद भन्दा ९९% र तपाईँ हामीभन्दा पनि धेरै बढी इमान, जमान र नैतिकता बोकेका प्रिय डाक्टर थिए, हुन् र छन्।
प्रिय पाठक, हामी पूर्णत हाम्रो नेपाल, त्यो विकट गाउँ, त्यो दुरदराज हेरेर ती भोका निमुखा र राज्यको पहुँच अझ भनौं स्वास्थ्य सेवा लिनबाट बञ्चित आफ्ना बुबा आमा दाजु भाइ दिदी बहिनि सम्झिएर डा. केसीको सत्याग्रहलाई साथ दिउँ र राज्यका सरोकारवाला निकायलाई घच्घच्याउ अनि
राज्यलाई गम्भीर विषयमा अझ गम्भीर रहन र भइरहन आव्हान गरौं।
देश भित्र बाहिर सवैतिरबाट खबरदारी गरौ। म हाल प्रवासमा रहेकाले र प्रवासीलाई एनआरएन भनेर चिनिने हुनाले र उहाँहरू सबैसँग आस र विश्वास राख्दै मैले शीर्षकमा उहाँहरूसँग बढी आशा राखेको हुँ।
एन आर एन ए संस्था र एन आर एन व्यक्ति हामी पनि आ - आफ्ना विचार र निर्णयका लागि स्वतन्त्र छौ। तर, आग्रह, पूर्वाग्रह, रिस, राग र द्वेष छोडेर के सहि के गलत, ठम्याउन सक्नुपर्छ।
एउटा व्यक्ति राज्यले गर्नुपर्ने जायज कामका लागि १६- १६ पटक मृत्युवरण गर्ने गरि अनसनमा बस्नुपर्ने यो चेतनशील समाज र सचेत नागरिकलाई पीडाबोध हुने कुरा हो।
हामी कस्तो निर्लज्ज समाजमा छौं र कस्तो समाज निर्माण गर्दैछौ, यो पूर्णत लज्जाको विषय हो सरकार।
दिनानुदिन वुद्धि विग्रिएका, नकारात्मक सोच भएकाले किर्ते अपराधी अझ नक्कली अनसनधारी नै खडा गरेर उहाँविरुद्ध उभिनेलाई भन्ने, लेख्ने वाद -विवाद गर्ने मसँग शव्द छैन। तिनिहरूलाई कहिल्यै रोग नलागोस्, मर्न नपरोस्।
सरकारले पनि शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको दायित्व अन्तर्गत राख्नुपर्छ।
मलाई यति लेखिसकेपछि म आफूले आजसम्म एक पटक पनि प्रत्यक्ष रुपमा भेटघाट नभएका डा. केसीलाई तपाइँ हामी धेरै जनाभन्दा असाधरण र सवै ३ करोड नेपालीलाई माया गर्ने र उनीहरुको स्वास्थ्य अवस्थाकाबारे चिन्तित सज्जन सच्चा नेपाली नागरिक हुन् भन्दा गर्व वोध भइरहेको छ।
सदा झैँ भद्र विमति र सकारात्मक आलोचना स्वीकार्य छन्।
(लेखक अस्ट्रेलियाका युवा व्यवसायी र एनआरएन अस्ट्रेलियाका वर्तमान प्रवक्ता समेत हुन्।