एडिलेडको समुन्द्रमा डुबेर नेपाली विद्यार्थी निश्चल घिमिरेले ज्यान गुमाएको महिना नबित्दै फेरि सिड्नीमा अर्का नेपाली युवाले बेइमानी पानीका कारण ज्यान गुमाउनु परेको छ।
डिसेम्बर २७ मा भएको त्यो एडिलेडको घटना लगत्तै जनवरी ९ मा अल्बरीस्थित मुरे नदीमा २१ वर्षिय नेपाली विद्यार्थी विगुल पण्डित हराएका थिए।
उनको अझसम्म पनि केही प्रमाण भेट्टाउन सकिएको छैन। प्रहरीले उनको खोजीसमेत बन्द गरिसकेको छ।
सीड्नीबाट ७० किलोमिटर पश्चिममा पर्ने बेन्ट्स बासिनमा गत आइतबार दिउँसो फेरि अर्का एक नेपाली विद्यार्थी विश्वास जोशीको पानीमा डुबेर मृत्यु भयो।
पुर्ख्यौली डडेलधुरा घर भएका जोशी यसै जुलाइमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आइपुगेका थिए। जोशीलगायतका एक दर्जन नेपाली युवा अस्ट्रेलियन डे को लामो छुट्टीमा बेन्ट्स बासिनमा क्याम्पीङ गएका थिए।
सोही क्रममा पानीमा खेल्न गएका केही नेपाली युवा डुब्दै गरेको र बचाउँनको आग्रह गरिरहेका देखेपछि तत्काल इमर्जेन्सी सेवाका ब्यक्ति उद्धारको लागि खटिए थिए। तर पनि २५ वर्षिय जोशीलाई बचाउन सकेनन्।
यसै क्रममा अन्य तीन जनालाई भने उद्धारकर्मीले सकुसल उद्धार गरेका थिए।
पछिल्ला वर्षमा पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या बढ्दै जाँदा सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्याएको छैन। पानीका कारण सन् २०१७ को सुरूआतमा सुजन शर्मा र सुजन अधिकारीले ज्यान गुमाए लगत्तै २०१८ मा क्रोनोला बिचमा अर्की नेपाली चेलीको शव भेटिएको थियो।
२२ हजार नेपाली विद्यार्थी भएको अस्ट्रेलियामा नेपाली राजदूतावासले विद्यार्थी सचेतना सम्वन्धी कुनै एउटा कार्यक्रम समेत गर्न सकेको छैन।
राजदूतावास स्थापना भएको एक दशक बितिसक्दा पनि दूतावास पासपोर्ट र भिसामा मात्र सिमित हुनु दुखद बिषय रहेको विद्यार्थीको हक हितमा काम गरिरहेको भिएफएमका संस्थापक महेश प्रशाईले सेतोपाटीलाई बताए।
‘हामी युवा मिलेर आफ्नो गाँस काटेर भए पनि यहाँको विद्यार्थीको हकहितमा काम गरिरहेका छौ, राज्यको निकाय भने यस्तो गहन विषयमा समबेदनाका दुई शब्दमा सिमित छ, यो दुखपुर्ण कुरा हो,’ उनले भने।
भिएफएम संस्थाले गत साता मात्र नेपाली विद्यार्थीलाई समुन्द्री तटको सुरक्षा र पानीमा अपनाउनुपर्ने सावधानीका विषयमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको थियो।
डिसेम्बर यता मात्र अस्ट्रेलियाका समुन्द्री तटमा ७० जना मानिस पानीमा डुबेर मरिसकेका छन्। मर्ने प्रायः पर्यटक तथा अन्तर्राष्ट्रिय विद्यार्थी छन्। पानी सम्वन्धि ज्ञान र पौडी खेल्न नजान्ने हरू नै यस्तो दुर्घटनामा परेका छन्।
सन् २०१७ जुलाईदेखि हालसम्म अष्ट्रेलियामा १८ जना नेपालीले ज्यान गुमाएको एनआरएनको तथ्याकं छ। ती मध्ये अधिकांश पानी सम्बन्धित दुर्घटना भएको प्रवक्ता डिला खरेलले सेतोपाटीलाई बताए।
सन् २००३ को जुलाईदेखि सन् २०१८ को जुन महिनासम्म संकलन गरिएको तथ्यांक अनुसार पानीमा डुबेर मृत्यु भएका घटनामध्ये प्रायः मृत्यु हुने व्यक्ति अन्य कोही व्यक्तिको साथमा रहेका देखिन्छन्।
रोयल लाइफ सेभिङ सोसाइटीका अनुसार मदिरा सेवनका कारण हुने त्यस्ता मृत्यु मध्ये झन्डै ४१ प्रतिशतले जानी पानीमा हाम फाल्नाले र ३२ प्रतिशतको गल्तिले पानीमा खस्नाले दुर्घटना भएको तथ्यांक पेश गरेको छ।
मदिरा सेवनले पानीको खतराबारे आँकलन गर्न नसक्नुका साथै उनीहरुको सन्तुलन बिगार्ने र खतराबाट आफूलाई जोगाउनसमेत नसक्ने संस्थाको प्रतिवेदनमा उल्लेख छ।
मदिरा सेवनका कारण पानीमा डुबेका पुरूषको शरीरमा भेटिएका मदिराको औसत मात्रा, सवारी साधन चलाउन पाउने मदिराको मात्रा भन्दा तीन गुणा बढी रहने गरेको पछिल्लो दुर्घटनाले देखाएको छ।
सर्फ लाइफ सेभिङ अस्ट्रेलियाले मदिरा सेवन गरेर पानीमा जानेले आफ्नो मात्र नभई लाइफ गार्डको ज्यानलाई पनि जोखिममा पार्ने जनाएको छ।