अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको पर्यटकीय शहर टाउन्सभील बाढीको चपेटामा परेपछि दुई जनाको मृत्यु हुनुका साथै करौडौको धनजनको क्षती भएको छ।
क्वीन्सल्यान्डमा आएको अविरल वर्षाका कारण भएको यो प्राकृतिक प्रकोपले त्यहा रहेका करिब पचास परिवार नेपाली प्रभावीत भए पनि सुरक्षीत छन्।
करिब डेढ सयको संख्यामा नेपाली रहेको सो शहरमा बाढीका कारण दुई नेपाली परिवारले घर छाड्नु परेको छ भने करिब चार परिवार वर्षाका कारण प्रत्यक्ष प्रभावित बन्न पुगेका छन्।
टाउन्सभीलमा रहेका नेपाली समुदायका अगुवा डा. गोविन्द राज पाण्डेले प्रभावित नेपालीहरु सेल्टरमा नभइ अन्य नेपाली साथीभाइकै सहयोगमा घरमा बसीरहेको बताए।
अहिलेसम्म करिब तीन घर यो बाढीको चपेटामा परे पनि दुई घरका साथीभाइ भने अन्य नेपालीको सहयोगमा सुरक्षीत स्थानमा रहदै आएका छन्। स्वयम् डा. पाण्डे पनि घरमा पानी पसेपछि बत्ती र पानीको अभावका कारण साथीभाइको घरमा बसोबास गर्दै आएका छन्।
स्भवत वर्षा कम हुदै जाँदा पानीको लेभल पनि घटदै गएको र एक डेढ हप्तामा जीवन समान्य हुने देखिएको डा पाण्डेले सेतोपाटीलाई बताए।
यहाँ रहेका अन्य नेपाली बाढीको प्रकोपमा परेको देखिएको छैन, सानो समुदाय भएकेो यहा सबैले सबैलाई नजिकवाट चिन्ने गर्छन्।
‘हामीले यस्तो भीषण वर्षा र डुबान कहिले देखेका थिएनौं। यहाँका रैथानेहरू पनि यो सय वर्षकै ठूलो बाढी भएको बताउँछन्,’ पाण्डेले भने।
अहिलेसम्म करौडौ डलर घनजनको क्षती भए पनि दुई जनाको आपतकालीन अवस्थामा ज्यान गएको स्थानिय प्रशासनले जनाएको छ ।
क्वीन्सल्यान्डको पर्यटकीय सहर टाउन्सभिलमा लगातार आएको बाढीका कारण हजारौं जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
अधिकारीले हालसम्म १ हजार २ सय भन्दा बढीलाई सुरक्षित स्थानमा सारिसकेका छन्। २० हजार घर डुबानको जोखिममा छन्। अधिकारीहरूले करिब १ हजार मानिसले उद्धार तथा सहयोगका लागि आपतकालीन सेवामा फोन गरेको थिए।
हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। वातावरण मापन केन्द्रका अधिकारीले विगतमा लगभग एक वर्षमा हुने गरेको वर्षा एकैदिनमा भएको जनाएका छन् ।
वर्षापछिको बाढीले टाउन्सभिलका बस्तीमा गोही तथा सर्प पसेपछि स्थानीयमा चेतावनी समेत जारी गरिएको छ। ‘गोहीले सडक पार गरिरहेका देखिएको छ। बाढीको मात्रा घटेसँगै गोहीहरू बाँध तथा पानीको स्रोतमा बस्छन्, ’ क्वीन्सल्यान्डका वातावरण मन्त्री लियानले भनेका छन ।
क्वीन्सल्यान्ड राज्यमा विगत एक सातादेखि लगातार भइरहेको वर्षापछिको बाढीले त्यस क्षेत्रको दैनिक जनजीवन भने निकै प्रभावित बनेको छ।
यस्तै तास्मानिया राज्यमा करिब २ सातादेखि फैलिएको आगलागीका कारण कैयौं मानिसहरू प्रभावित भएका छन् भने करोडौं डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ।
हरेक वर्ष एकै समयमा हुने बाढी तथा आगालागीका कारण अस्ट्रेलियामा करोडौं डलर बराबरको संरचनामा क्षति पुग्ने गरेको छ।
प्रधानमन्त्री स्कट मरिसन र विपक्षी दलका नेता बिल सर्टनले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।