आफ्नै कथा र ब्यथा बिच जनताको मन्चबाट छानिएर नेपाल आइडलको प्रतिस्पर्धामा छानिएका प्रमुख ६ गायक गायिकाहरू शुक्रबारको प्रस्तुति दिन सिड्नी आइपुगेका छन्।
शुक्रबार सिड्नीको टाउनहलस्थित सार्क होटलमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु कोरियाबाट बिहिबार सिड्नी आइपुगेका हुन्।
अष्ट्रेलियाका पर्थ, व्रिसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए। अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेका नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी कार्यक्रममा सहभागी हुने छन्।
सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरूले दर्शकको माया पाउने बताए।
सुदूर पश्चिमको विकट गाउँमा जन्मेर तराई झरेको ओडको परिवारले यतिखेर नेपाल आइडलपछि नया मोड लिएको ओडले बताए।
परिवारमा बाबुले लोक भाकामा गीत गाउने गरेकाले आफू सानैदेखि गीत संगीतमा लागेको उनले बताए।
कार्यक्रममा दोलखाका पवन गिरीले सबैलाई भावुक बनाए। आफ्ना अनुभव छिचोल्ने क्रममा गिरीले भावुक भए। ‘ठूलो परिवा , बाबु सुरक्षा गार्ड र मेरो पढाइ अनि भबिष्य निकै चिन्तित थिएँ। बाबु आमासँग पैसा माग्नु नपरोस् भन्ने मेरो जीवनमा थुप्रै आरोह र अवरोहपछि नेपाल आइडलले मलाई नयाँ उचाईमा ल्याइ पुर्यायो, अब मैले मेरो परिवारलाई केही दिन सक्छु भन्ने आश पलाएको छ,’ गिरीले आँखाभरी आँशु पार्दै भने।
संघर्षको यात्रामा रहेका आफूहरूलाई आइडल यात्राले सडकबाट दर्शकको मन मनसम्म पुर्याएको अमित बरालले बताए।
अमितले आफूले पुष्पन प्रधानको गीत गाएपछि त्यसले नयाँ उचाइ छोएको मात्र नभइ प्रधान स्वयमा एउटा अब्बल कलाकार भएको सुनाए। आफूले नयाँ रचना र परिस्कृत शैली खोज्दै जाँदा पुष्पनको गीत फेला पारेको बताए।
कार्यक्रममा नेपाल आइडलकी सञ्चालिका रीमा बिश्वकर्माले जनताको मन्चबाट उठेका र मनबाट रोजिएका यी युवा कलाकारहरू आफैंमा परिस्कृत भइसकेको बताइन्।
उनले सिड्नीमा चलचित्र छायांकनमा आएको स्मरण गर्दै नेपाली गीत संगीत र कलाकारलाई माया गर्ने प्रवासी समाजलाई सलाम समेत सुनाइन्।
यता आयोजक संस्था नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने समर्थकसँग साक्षात्कार गर्ने अवसरका रुपमा नेपाली टचले भूमिका निर्वाह गरेको बताए।
नेपाली टचका दिपेश पुनले सबै दर्शकको माया र ममताको आवश्यकता रहेको सुनाए।
कार्यक्रममा यो सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका संचालक बद्री अर्यालले नेपाली कला, साहित्य अनि भाषाको जर्गेना गर्ने बिषयमा एक्सपर्ट सधै अगाडि रहेको बताए।
अर्यालले बिदेशमा बसेर ब्यवशाय गर्दै गर्दा हाम्रो कला संस्कृतिको जर्गेना गर्ने जिम्मेवारी र कर्तव्य पनि भएको बताए।