अस्ट्रेलियाको एउटा निजी कलेज एआइबीटीको नर्सिंङ निकायमा पढिरहेका करिब साढे आठ सय विद्यार्थीको भविश्य अन्यौलमा पारेपछि सम्वन्धित निकाय यसको विरोधमा उत्रिएका छन्।
एन्म्याकको दर्ता बिनै धमाधम पढाइ भइरहेको कलेजले अन्तिम समयमा इनरोल नर्सका सम्वन्धन नपाउने भएपछि बिचल्लीमा परेको विद्यार्थीको अधिकारको लागि नेपाली दूतावास क्यानबेरा, काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया र एनआरएनसमेत अगाडि आएका हुन्।
यसका लागि डिपार्टमेन्ट अफ एजुकेशन एन्ड ट्रेनिङ, ट्युसन प्रोटेक्सन सर्भिस, अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटीमासमेत कुरा भइसकेको र अर्को सातासम्म केही निर्णय आउने हुनाले विद्यार्थीलाई धैर्य गर्न सिसाका अध्यक्ष विजय सापकोटाले आग्रह गरेका छन्।
‘यो विषय गम्भीर भएको प्रोभाइडरले आफूलाई कानुनी रुपमा माथि पार्ने प्रयास भइरहे पनि नेपाली विद्यार्थीको हक र हितमा सिसाको सम्पूर्ण कार्य समिति लागिरहेको छ,’ उनले भने, ‘यस्तो समयमा विद्यार्थीले कुनै पनि हतारको निर्णय नगर्न र चिन्तामुक्त भएर बस्न सिसा आग्रह गर्छ।’
यस्तै नेपाली दूतावासका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले विद्यार्थीको यो विषय निकै गम्भीर भएकाले दूतावास गम्भीर भएर यस बिषयमा जानकारी लिने र सम्वन्धित निकायमा कुराकानी गर्ने काममा लागेको बताइन्।
‘एउटै कलेजमा पढ्ने साढे आठ सय विद्यार्थीको भबिष्यमाथि खेलवाड भएको जानकारी आएको छ। हामी यस विषयमा गम्भीर छौ’, सापकोटाले भने।
अस्ट्रेलियाको शैक्षिक पद्धतीमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ।
यस संस्थामा दर्ता भएपछि र कोर्सको अनुमोदन पछि विद्यार्थी भर्ना लिन प्रारम्भ गरिन्छ। तर, अन्य विषयमा यसको अनुबन्धनले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक)को अनुमति आवश्यक हुन्छ।
त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पीटलमा इन्टर्नशिपका लागि, अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक रहन्छ। तर, यहाँ कलेज र कोर्ष दर्ता हुने बित्तिकै धमाधम नर्सिङ पढाउन सुरू गरिन्छ। जुन सरासर गलत प्रवृत्ति हो।
सम्वन्धित निकायसँग आवद्धता नपाउँदै पढाइ सुरू गरेर विद्यार्थीको जीवन वर्वाद गर्ने विषयमा कलेजसँगै विद्यार्थी ल्याउने एजेन्टको पनि खराब नियत देखिन्छ।
‘शैक्षिक परामर्शदाता आफ्नो पेशामा दक्ष हुनाका साथै इमान्दार र नैतिकवान पनि हुनुपर्छ,’ अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्सका पूर्व महासचिव सञ्जीव पाण्डेले बताए।
‘विद्यार्थीलाई गलत, अपूरो र भ्रमपूर्ण सल्लाह दिने छुट परामर्शदातालाई छैन, किनभने यो विद्यार्थीको भविष्यसँग सीधै जोडिएको कुरा हो’, उनले भने, ‘कुनै विद्यार्थीले गलत सल्लाह पाएको छ भने त्यहाँ दुई मध्ये एक कारण हुनसक्छ। या त त्यो परामर्शदाताले विद्यार्थीको भलाइ भन्दा आफ्नो आर्थिक लाभलाई प्राथमिकता दिँदैछ वा त्यो परामर्शदाता आफैसँग पर्याप्त जानकारी छैन। यी दुईमध्ये जुनसुकै कारणले गल्ती गरेमा पनि त्यो क्षमायोग्य हुन सक्दैन,’ पाण्डेले आफ्नै पेशाको इमानदारिता प्रति इंगित गर्दै चोटिलो प्रहार गरे।
त्यति मात्र होइन कलेजले यत्रो विवादका बावजुद शुक्रबार राति दश बजे विद्यार्थीलाई बाँकी रहेको शूल्क बुझाउन इमेल गरेको छ।
यो विवाद सिर्जना भएर उग्ररूप लिँदा भने कलेज कसरी हुन्छ विद्यार्थीवाट पैसा उठाउने भन्ने ध्यानमा लागेको छ।
‘यत्रो तनाब भइरहेको बेला रातबिरात कलेजले इमेल गरेर थब तनाब दिएको छ’, एक विद्यार्थीले सेतोपाटीसँग भने।
विद्यार्थीहरु पढेको विषयको मान्यता नपाउने चिन्ताले सताएको बेला फेरि फीको तनाब थपेर कलेजले मानसिक रुपमा दबाब सृजना गरेको अर्का पीडित विद्यार्थीले बताए।
एनआरएनले शुक्रबारनै एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको समस्याप्रति एनआरएन गम्भीर रहेको जनाएको छ। ‘हामीले सुनेका छौ, गुनासा र उजुरी आउनेक्रम जारी छ , हामी उनीहरुको समस्यामा कसरी अगाडि बढ्न सकिन्छ भनेर सम्वन्धित निकायसँग छलफलमा छौ’, एनआरएनका प्रवक्ता डिला खरेलले सेतोपाटीसँग भने।
अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) ले शुक्रबार कलेजका सञ्चालकलाई बोलाएर समस्याका बारेमा छलफल गर्न खोजे पनि कलेजले भने सीओइमा स्पष्ट उल्लेख गरेको भन्दै उम्कने प्रयास गरेको छ।
एकाका अध्यक्ष परशुराम अधिकारीले विद्यार्थीहरुको समस्याका विषयमा एकाले प्रारम्भीक छलफल सुरू गरेको बताए। ‘हामी यो विषयमा गम्भीर छौ र यसको समाधानका लागि अन्य उपायहरुको पनि खोजीमा छौ’, अधिकारीले भने ।
मुख्य कुरा भनेको पढ्न आउने विद्यार्थी र अभिभावकले नबुझिकन बिदेश पठाउने होडमा गरिएको पहिलो गल्तीका कारण पनि यस्तो समस्या बढेको अस्ट्रेलियाका कानुन ब्यवशायी शम्सेरसिंह थापाले बताए।
दोस्रो केहि खराब शैक्षिक एजेन्टहरुको गलत सल्लाह र लहलहैमा लागेर यी कलिला विद्यार्थीले अस्ट्रेलियामा यस्तो समस्या भोग्नुपरीरहेको थापाले सुनाए।
‘जब मानिस पेशामा इमानदार हुँदैन तब समाजमा यस्ता समस्याहरु जन्मिन्छन्, नेपाल सरकारले बैदेशिक अध्ययनको गतिलो नीति र परामर्शदाताको अनुगमन कसिलो नबनाउन्जेलसम्म समस्या आइरहने शमशेर एन्ड एशोसियसनका निर्देशक थापाले बताए।