अस्ट्रेलियाको नेपाली समाजमा एउटा उखान छ, अर्वन एरियामा कसैसँग ठोक्कियो भने सरी भन्नु पर्दैन, गल्ती भो भन्दा भैहाल्छ। किनकी यस क्षेत्रमा स्टेशन वरपर इलाकामा एकछिन टहलाउने हो भने यो कतै नेपालको भूभाग हो कि जस्तो भान हुन्छ।
स्टेशनमा मम र चाउमिन पाइन्छ, अनि सयमा पचास जति त नेपालीनै देखिन्छन्, नेपाली भाषा बोल्नेले पनि अस्ट्रेलियाको यो कुनामा सहजै सञ्चार गर्न सक्छ । यहाँका स्थानीय नेपालीहरूले आफ्नोपनमा समेत यस स्थानको नामाकरण समेत गरेका छन, अर्वन गाविस भनेर।
अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको कम्बरल्यान्ड काउन्सिलमा पर्ने अर्वन क्षेत्र नेपालीहरूलाई मनपर्ने स्थान पनि हो।
प्रारम्भमा मध्यपूर्वको लेबनिज समुदायको गण मानिने अर्वन वरपरमात्र करिब पाँच हजार नेपाली बसोबास गर्दै आएका छन्। हरियो सागपात अनि सुपथ मूल्यका कारण पनि यो क्षेत्र नेपालीको लागि प्रिय बनेको हो। अहिले पछिल्लो गणना अनुरूप पाँच हजार तीन सय नेपाली यस क्षेत्रमा बसोबास गर्छन्।
सिड्नी सहरबाट तीस मिनेटको ट्रेन यात्रामा पुगिने यो ठाउँ नेपाली विद्यार्थीहरूको पनि हब नै हो। ट्रेन स्टेशनमा गएर आधा घन्टा आँखा घुमाउने हो भने अपत्यारिलो सत्यका रूपमा नेपालीपन महशुस हुन्छ यहाँ।
ट्रेनबाट झर्ने र ट्रेन चढ्ने घुइँचो आधा रातसम्म चल्दै गर्दा आधा उधिजस्तो नेपालीको अनुहार यत्रतत्र देखिन्छन् यहाँ। यतिमात्र होइन यहाँ नेपाली ग्रोसरी र नेपाली रेस्टुरेन्ट पनि मज्जाले चलेका छन्।
यसै क्षेत्रमा आइतबार अभिभावक, सामाजिक अभियन्ता तथा विद्यार्थीहरूको भेलाले आवश्यकता महशुस गर्दै अर्वन नेपाली समाज गठन भएको छ।
अर्वन पार्कमा स्व:स्फुर्त जम्मा भएका करिब तीन सय नेपालीहरूले स्थानीय अभिभावक र नेपाली भाषाको हक र हितमा काम गर्न समाजको आवश्यकता रहेको महशुस गर्दै अशोक उप्रेतीको अध्यक्षतामा समाजको गठन गरेको हो।
भेलाले समाजको उपाध्यक्षमा बिपीन थापा र राजु गिरी तथा महासचिवमा मनोज अधिकारी तथा कोषाध्यक्षमा जितेन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।
समाजको कार्यसमितिमा कार्यक्रम संयोजकमा रविन्द्र कुमार शर्मा, महिला संयोजकमा अन्जु थापा, युवा संयोजकमा रुपक बुढाथोकी, खेलकुद संयोजकमा वीरेन्द्र बलामी र अभिभावकको तर्फबाट जित गोपालीलाई संयोजक तोकेको छ।
यस्तै, समाजका सदस्यहरूमा आषिश अधिकारी, युदिका कुँवर, हमेन्त घिमिरे, दिनेश गिरी, उद्धव पोखरेल, तुलसी भुषाल, प्रतिक सिग्देल, कृष्ण सुवेदी,सन्तोष आचार्य, भुपेन्द्र कँडेल, विपिन अधिकारी चयन भएका छन्।
समाजको भेलाले सामाजिक अभियन्ता दिनेश पोखरेल,राजकुमार श्रेष्ठ, सञ्चारकर्मी मनऋषी धिताल, रमेश बानियाँ,देवेन्द्रराज भन्तना र शशी राईलाई सल्लाहकारका रूपमा चयन गरेको छ।
गठनपछि अध्यक्ष अशोक उप्रेतीले नेपालीहरूको घनाबस्ती भएको अर्वन क्षेत्रमा आपसी सद्भाव र भातृत्वका लागि पनि समाजको आवश्यकता रहेको बताए ।