नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (अस्ट्रेलिया) को आयोजनामा आउँदो १६ मार्चमा अस्ट्रेलियाको सिड्नीमा नेपाल-अस्ट्रेलिया बहुसांस्कृतिक साँझ आयोजना हुने भएको छ ।
प्रतिष्ठानले सिड्नीमा पत्रकार सम्मेलन गरेर नेपाली कला, संस्कृति र भाषाको जर्गेना गर्ने उद्धेश्यले यस पटक अस्ट्रेलियन सरकारको सहभागितामा बहुसांस्कृतिक साँझ आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रमकी संयोजक तथा एनआरएन आईसीसी सदस्य जानकी पौडेलले प्रत्येक वर्षझै यस पटक पनि नेपाली समाजलाई एकताको सूत्रमा बाँधेर नेपाली भाषा अनि कला, साहित्यलाई अगाडि बढाउने प्रतिष्ठानको उद्देश्य रहेको बताइन् ।
उनले कार्यक्रमको अन्तिम तयारी भइसकेको र यस पटक कम्बरल्यान्ड काउन्सिलको समेत सहभागितामा कार्यक्रम आयोजना हुन लागेकाले सम्पूर्ण नेपाली समुदायको उपस्थिति हुने विश्वास व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानकी कोषाध्यक्ष सीमा रोसीले नेपाली भाषा र साहित्यको प्रवर्धनमा स्थानीय अस्ट्रेलियन सरकारले दश हजार डलर सहयोग गरेको जानकारी दिइन् । उनले भनिन्- यस क्षेत्रमा नेपाली समुदायको प्रभाव बलियो भएकाले पनि स्थानीय काउन्सिलले अन्य विषयमा पनि सहयोग गर्न सक्ने बताइन् ।
यस्तै, प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेतले विभिन्न जात र भेषभुषामा बाँधिएको नेपाली समाजलाई एउटै रंगमञ्चमा उभ्याएर हाम्रो कला, संस्कृतिको जर्गेना गर्ने प्रतिष्ठानको उद्देश्य रहेको बताइन् । अध्यक्ष बस्नेतले बहुसांस्कृतिक समाजमा सजिएको अस्ट्रेलियाभित्र नेपाल र नेपालीको पहिचान बोकेर सबैको प्रतिनिधित्व गर्दै आफूहरुले कार्यक्रम आयोजना गर्न लागेको सुनाइन्।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको समेत उपस्थिति रहेको पत्रकार सम्मेलनमा प्रतिष्ठानकी महासचिव दिलु केसी, सचिव संगीता बस्नेत, एनआरएनका सचिव देव गुरुङ, प्रतिष्ठानका सल्लाहकार तथा साहित्यकार केदार पोखरेललगायतले कार्यक्रमको महत्वबारे विचार व्यक्त गरे ।
नेपाल अस्ट्रेलिया बहुसांस्कृतिक साँझमा स्थानीय काउन्सिलरहरुको सहभागिता रहने जानकारी पनि पत्रकार सम्मेलनमा गराइयो ।